Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा १७ हजार नयाँ संक्रमित भेटिँदा चीनमा एक जना पनि थपिएनन्

भारतमा १७ हजार नयाँ संक्रमित भेटिँदा चीनमा एक जना पनि थपिएनन्


नयाँ दिल्ली ।
भारतमा गत २४ घण्टामा १७ हजार नौ सय २१ जनामा कोभिड–१९ को संक्रमण देखिएपछि कुल कोरोना संक्रमितको संख्या एक करोड १२ लाख ६२ हजारभन्दा बढी पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ ।

भारतमा गत २४ घण्टामा कोभिड–१९ संक्रमणको कारण एक सय ३३ जनाको मृत्यु भएपछि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ५८ हजार ६३ जना पुगेको छ । हाल भारतमा एक लाख ८८ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । केही दिनयता भारतमा सक्रिय संक्रमितको संख्या बढेको पाइएको छ ।

यसैबीच कोभिड–१९ को संक्रमण सुरु भएयता भारतमा हालसम्म एक करोड ९ लाख २० हजारभन्दा बढी कोरोना भाइरस मुक्त भएका छन् । भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सुरु भएको थियो । सो समयदेखि हालसम्म देशभरी दुई करोड ४० लाख व्यक्तिले खोप लगाइसकेका छन् । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले मंगलबारसम्म देशभर २२ करोड ३४ लाख ७९ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । हिजो मंगलबार एकै दिनमा सात लाख ६३ हजार ८१ जनाको कोभिड–१९ परीक्षण भएको पनि समाचारमा जनाइएको छ ।

चीनमा भेटिएनन् नयाँ संक्रमित : यसैबीच, चिनियाँ अधिकारीहरुले यहाँ स्थानीय स्तरमा नै संक्रमित भएका कोरोना संक्रमित भेटिएका छैनन् । यहाँका स्वास्थ्य अधिकारीहरुले बुधबार सो जानकारी दिएका हुन् । उनीहरुले मंगलबार चीनमा देशभित्रै संक्रमण सरेका संक्रमित नभेटिएको बताएका छन् ।

बुधबार चीनमा पाँच जनामात्र संक्रमित भेटिएका थिए र उनीहरु पनि चीन भित्र पाइएको नभएर चीन बाहिरबाट आएको बताइएको थियो । बेइजिङमा बुधबार दिइएको जानकारीमा यहाँ मंगलबार पाँच जना संक्रमित भेटिएका थिए र उनीहरु चीनमा भेटिएका नभएर बाहिरबाट आएका नागरिकमा भेटिएका थिए । ती पाँच जना सांघाइमा भेटिएका थिए । उनीहरु कुन देशबाट आएका हुन् भन्ने बारेमा भने केही बताइएको छैन । (रासस/सिन्ह्वा)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया