Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारमस्कको बेलायत भ्रमण : के बेलायतमा कारखाना स्थापना गर्दै छ टेस्ला ?

मस्कको बेलायत भ्रमण : के बेलायतमा कारखाना स्थापना गर्दै छ टेस्ला ?


लन्डन ।
टेस्लाका प्रमुख एलन मस्कले गत हप्ता बेलायत भ्रमण गरेको खुलेको छ । बीबीसीका अनुसार मस्क ल्युटोनमा दुई दिनसम्म रहेका समाचार प्रकाशित भएसँगै टेस्लाले बेलायतमा कार फ्याक्ट्री खोल्न लागेको दाबी गरिनथालेको छ । विद्युतीय कारका मालिक गत हप्ता निजी विमानमा ल्युटोन पुगेका थिए । बेलायती अनलाइन द डेली टेलिग्राफका अनुसार बेलायती सरकारी अधिकारीहरुले नयाँ कार प्लान्टको खोजी गरिरहेको बताइरहेका बेला भएको मस्कको भ्रमणलाई यसैसँग जोडेर हेरिएको हो ।

टिसाइड र वेस्ट मिडल्यान्डका क्षेत्रीय अधिकारीलाई २५० हेक्टर क्षेत्रको बोलपत्र तयार गर्नका लागि ४८ घण्टाको छोटो समय दिइएको थियो । तर त्यो कुन कम्पनीसँग सम्बन्धित थियो भन्नेचाहिँ नखुलाइएको बताइएको छ । यो प्रक्रिया लगानी कार्यालयले गरिरहेको बुझिएको छ । युरोपबाट बेलायतको बहिर्गमनपछि विदेशी सार्वजनिक तथा निजी लगानीकर्तालाई आकर्षित गर्नको लागि नयाँ कार्यालय लगानी कार्यालय स्थापना गरिएको छ ।

उडान ट्र्याक गर्ने एक सफ्टवेयरले निजी गल्फस्ट्रिम जेट क्यालिफोर्नियाबाट ल्युटोन एयरपोर्टमा ल्यान्ड गरेको देखाएको थियो । त्यसमै मस्क रहेको अनुमान गरिएको हो । पछि उक्त विमान जर्मनी गएको थियो । जहाँ मस्कले टेस्लाको ठूलो गिगाफ्याक्ट्रीको अवलोकन गरेका थिए । तर बेलायत सरकार र टेस्ला कुनैले पनि यसको आधिकारिक पुष्टि गरेका छैनन् । त्यसो त ल्युटोनमा मस्क पुगेको पहिलोपटक भएको बताइएको छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया