Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभर्जिन गालाक्टिकले तोक्यो अन्तरिक्ष यात्राको भाडादर, एउटा टिकटकै साढे चार लाख अमेरिकी डलर

भर्जिन गालाक्टिकले तोक्यो अन्तरिक्ष यात्राको भाडादर, एउटा टिकटकै साढे चार लाख अमेरिकी डलर


अमेरिका । अन्तरिक्षसम्बन्धी कम्पनी भर्जिन गालाक्टिकले अन्तरिक्ष यात्राको भाडादर सार्वजनिक गरेको छ । बीबीसीका अनुसार एउटा सिटको लागि एक टिकटको सुरुवाती मूल्य साढे चार लाख अमेरिकी डलर तोकिएको हो ।

अर्बपति रिचार्ड ब्रान्सनको कम्पनीले गत जुलाईमा पहिलो यात्रुसहितको उडान सफलतापूर्वक गरेसँगै इच्छुक अन्तरिक्ष पर्यटकको लागि टिकटको मूल्य सार्वजनिक गरेको हो । कम्पनीले अर्को वर्षदेखि व्यावसायिक अन्तरिक्ष उडान सुरु गर्ने लक्ष्य राखेको छ । कम्पनीले यसअघि धेरै परीक्षण उडानहरु गरिसकेको छ । यसअघि कम्पनीले साढे दुई लाख अमेरिकी डलरमा टिकट बिक्री गरेको थियो तर सन् २०१४ मा एउटा ज्यानै जाने गरी भएको दुर्घटनापछि टिकट बिक्री रोकेको थियो ।

गत महिनाको यात्रुसहितको सफल उडानसँगै यसप्रति मानिसहरुले रुचि बढाएको कम्पनीले दाबी गरेको छ । गत जुलाईमा ब्रान्सनसहितले युनिटी २२ उडान सफलतापूर्वक गरेका थिए । भर्जिन गालाक्टिक अहिले संसारकै धनी जेफ बेजोसको कम्पनी ब्लु ओरिजिनसँग व्यावसायिक अन्तरिक्ष उडानका लागि प्रतिस्पर्धा गरिरहेको छ । यसबाहेक अर्का अर्बपति एलन मस्कको कम्पनी स्पेस एक्ससँग पनि यस्तै प्रतिस्पर्धा छ । यी तीनवटै कम्पनी अन्तरिक्ष पर्यटन बजार विकासका लागि लागिपरेका छन् ।

Open Photo

जुलाईमा भर्जिन मिसनलगत्तै बेजोसले पनि आफ्नै रकेटमार्फत पूर्ण सिट क्षमतामा यात्रु बोकेर अन्तरिक्ष उडान गरेका थिए । बेजोसको कम्पनीले दुई लाखदेखि तीन लाख डलरसम्ममा अन्तरिक्ष टिकट बेच्ने योजना बनाएको छ । उता स्पेस एक्सले भने गत वर्ष पहिलो यात्रुसहितको उडान सफलतापूर्वक सम्पन्न गरेको थियो । उक्त उडानमार्फत दुई अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन पुगेर पृथ्वीमा फर्किएका थिए । अहिले स्पेस एक्सले अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासासँग सहकार्य गर्दै स्टेसनमा कार्गो आपूर्ति गरिरहेको छ । स्पेस एक्सले पनि तीन अन्तरिक्ष पर्यटकलाई १० दिन अन्तरिक्ष यात्रा गराउने गत वर्ष योजना बनाएको थियो ।

भर्जिन गालाक्टिकले अन्तरिक्ष उडानका लागि मानिसहरुले एउटा सिटदेखि साथी र परिवारै लैजाने प्याकेज वा पूरै विमान नै रिजर्भ गर्नसक्ने जनाएको छ । यसअघि नै रुचि देखाउनको हकमा उनीहरुको सिट सुरक्षित राखिएको कम्पनीले जनाएको छ । अहिलेसम्म कम्पनीले छ सय टिकट यसअघि बन्द गर्नुअघि नै बिक्री गरिसकेको छ । कम्पनीको अबको युनिटी २३ नामक अन्तरिक्ष उडान आगामी सेप्टेम्बरमा अमेरिकाको न्यु मेक्सिकोस्थित स्पेसपोर्ट अमेरिकाबाट हुनेछ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

ताजा अपडेट

0
Would love your thoughts, please comment.x
()
x