‘अन्तर्राष्ट्रिय फिल्म सिटी’ परियोजना सफल बनाउन संघीय सरकारले लगानी वृद्धि गर्नुपर्ने
काठमाडौं । दोलखाको लाकुरीडाँडामा निर्माणाधीन ‘अन्तर्राष्ट्रिय फिल्म सिटी’ परियोजना सफल बनाउन संघीय सरकारले लगानी वृद्धि गर्नुपर्नेमा जोड दिइएको छ । भीमेश्वर नगरपालिकाकाको वडा नम्बर ९ स्थित लाकुरीडाडाँको डाङडुढे डाँडामा फिल्म सिटी निर्माणको थालनी गरिए पनि लगानी अभावका कारण अलपत्र छ ।
झण्डै ११ वर्षदेखि निर्माणप्रक्रिया थालिएको फिल्म सिटी निर्माणले खासै गति लिन नसकिरहेको अवस्थामा फिल्म सिटी निर्माणलाई चलचित्र विकास बोर्डले समेत चासो देखाएको छ । बोर्डले फिल्म सिटीको अवलोकन तथा अनुगमन गर्नुका साथै स्थानीय सरकारसँग फिल्म सिटीमा भएका प्रगति विवरण, नयाँ सम्भाव्यता तथा तीन तहका सरकार र निजी क्षेत्रसँगको लगानी सहकार्यको सम्बन्धमा शनिबार छलफल समेत गरेको छ । छलफलमा भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वर नारायण मानन्धरले सम्पूर्ण दोलखावासीले अति महत्वपूर्ण फिल्म सिटीलाई सपनाको रूपमा हेरेको बताए । परियोजना सुरु भएको लामो समय बितिसकेको भए पनि सोचेअनुरूप प्रगति नदेखिएको उनको भनाइ छ । ‘यो सपना देखेको धेरै वर्ष भइसकेको छ । यसबीचमा लगानीको समस्याका कारण काम थालनी गरी बेवारिसे रूपमा छोडिन थालेपछि सरकारकै अन्य मन्त्रालयले यसभित्रै आँखा लगायो’, उनले भने, ‘सरकारी संयन्त्रहरू कुन अवस्थामा रहेछन् भन्ने कुरा फिल्म सिटीको कथाब्यथाले बताउँछ ।’ राष्ट्रिय योजनाको रूपमा एउटा योजना चलिरहेको क्षेत्रभित्र अर्को मन्त्रालयद्वारा अन्य कामको लागि ठेक्का लगाउने कोसिस गरेको भन्दै उनले आपत्ति जनाए । उनले नगरपालिकासँग पूर्वाधारको मामलामा खर्च गर्ने ठूलो बजेट नहुने बताउँदै यो परियोजना सफल बनाउन संघीय सरकारसँग लगानीमा बढोत्तरी गर्न जोड दिए । यस्तै नगरपालिकाकी उपप्रमुख कमला बस्नेतले स्थानीय सरकारले गर्ने सबै प्रयासहरू भीमेश्वर नगरपालिकाले गरिरहेको बताइन् ।
छलफलमा बोर्ड अध्यक्ष भुवन केसीले भीमेश्वरमा फिल्म सिटी बन्दा सबैभन्दा खुशी यो देशको कलाकारलाई हुने बताए । ‘फिल्म सिटी बन्दा यो देशका सबै कलाकारहरू सबैभन्दा खुशी हुन्छन् । यो हरेक कलाकारको सपना मात्र नभएर सबै नेपालीमा यो सिटीलाई लिएर निकै उत्साह देखिएको छ’, उनले भने, ‘फिल्म सिटी एक छुट्टै संसार हो । बलिउड र हलिउडमा देखेको फिल्म सिटीजस्तै नै हो, यो फिल्म सिटी पनि ।’ यस्तै उनले यो परियोजनालाई बोर्डले मात्र नभई सरकारले एकदमै रुचि राखिरहेको बताए । आफूले छिट्टै नै नेपाली र विदेशी फिल्महरू यो सिटीमा छायांकन भएको हेर्न चाहेको उनको भनाइ थियो । अध्यक्ष केसीले फिल्म सिटी आफूले फिल्ड भिजिट गर्नुअघि सोचेको भन्दा निकै फरक भौगोलिक अवस्थामा पाएको समेत बताए । ‘मैले यसअघि यो सिटीलाई सामान्य रूपमा बुझेको थिएँ’, उनले भने, ‘बोर्ड अध्यक्ष बनेर आईसकेपछि विस्तृत अध्ययन र फिल्ड भिजिटमा पुगेपछि निकै विशाल पाएँ । हामीले सुनेको आधारमा बनाउँदै आएको धारणाभन्दा निकै बृहत् स्थान रहेछ ।’ केसीले निकै ठूलो योजना भएको हुँदा तुरुन्तै सम्पन्न नहुने बताउँदै सहकार्यको लागि सबै तहका सरकार र निजी क्षेत्रलाई आह्वान समेत गरे ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव उत्तर कुमार खत्री खत्रीले नेपाल आफैँमा फिल्म सिटीको लागि प्रचुर सम्भावना रहेको बताउँदै नेपालको पहिलो फिल्म सिटी दोलखामा बन्दै गरेको बताए । उनले यो ठूलो परियोजना रहेको बताउँदै स्रोत र साधन धेरै चाहिने भएको हुँदा तुरुन्तै कार्यसम्पन्न भइहाल्ने सम्भावना नरहने जिकिर गरे । यस्तै बोर्डका सदस्य सचिव टंक प्रसाद महतले सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएबमोजिम ‘पब्लिक–प्राइभेट पार्टनरसिप’को मोडललाई अन्तिम रूप दिने काम भइरहेको जानकारी दिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सबीच मर्जर सम्झौता
- गोरखामा प्राधिकरणको बीमासम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम
- माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा छुट
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- ‘इन्टिलेक्चुअल ग्रोथ’ भन्ने नाराका साथ नेशनल लाइफको ब्रान्च मेनेजर कन्फ्रेन्स
- शुभम पावरले साधारण सेयर जारी गर्ने
- पाकिस्तान मस्जिद आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु
- भारतको आर्थिक वृद्धि छ प्रतिशत बढी हुने प्रक्षेपण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया