Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालकाठमाडौंका सडक धुलो र खाल्डारहित बनाउन पाइलैपिच्छे अवरोध

काठमाडौंका सडक धुलो र खाल्डारहित बनाउन पाइलैपिच्छे अवरोध


भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपाल विद्युत् प्राधिकरण, खानेपानी, ढल, टेलिकमलगायत सरोकारवाला सरकारी निकायहरूले सडक विभागसँग समन्वय गरेर एकीकृत योजना नबनाई आफ्नो सेवा विस्तारका लागि सडक खन्ने तथा सम्झौताबमोजिम समयमा काम नगरिदिँदा काठमाडौं उपत्यकाको सडकलाई धुलो र खाल्डाखुल्डीरहित बनाउन असम्भव देखिएको जनाएको छ ।

सडक बनाउने निकायले सडक कालोपत्रे र ढलान गरेर धुलो र खाल्डाखुल्डीरहित बनाउनासाथ सडकमा सरकारकै अरु निकाय सेवा विस्तारको नाममा सडक भत्काउन तयार हुने तर सडक भत्काउने ती निकायले सडक विभाग तथा मातहतका कार्यालयसँग गरेको सम्झौताबमोजिम काम नगरिदिँदा सडकमा जहिल्यै खाल्डा र धुलो भइरहने गरेको छ । यो क्रम कहिले टुङ्गिने अनिश्चित छ । सरकारी निकायबीच एउटा निश्चित र एकीकृत योजनाअनुसार काम नहुँदा भत्काउने अर्को निकाय र गाली खाने भौतिक मन्त्रालय र मातहतको सडक विभाग तथा कार्यालयहरू मात्र छन् ।

आफूहरूले बनाएको सडकलाई भत्काउने सरकारी निकायले नै सम्झौताअनुसार मर्मत सम्भार नगरिदिएपछि भौतिक मन्त्रालय÷सडक विभागले उच्चस्तरीय समिति नै बनाएर काम अगाडि बढाएको थियो । उक्त उच्चस्तरीय समितिको बैठकमा गरिएका लिखित प्रतिबद्धता पनि सडक खन्ने निकायले अटेर गरी पूरा नगर्दा भौतिक मन्त्रालयले सडकलाई धुलो र खाल्डाखुल्डीरहित बनाउने आफ्नो योजना कहिले कार्यान्वयन हुने हो भन्नेबारेमा यकिन गर्न नसकेको हो ।वर्षौँदेखि काठमाडौं उपत्यकाभित्रका विभिन्न सडकहरू खानेपानी, बिजुली, टेलिकम, ढलको नाममा धमाधम खन्ने÷पुर्ने काम भइरहेको थियो । यो काम पहिला पनि हुन्थ्यो । तर, मेलम्ची योजनाको पानी काठमाडौं उपत्यकामा आउने भएपछि र प्राधिकरणले जमिनमुनिबाट बिजुलीको तार लैजाने भनेर योजना बनाएपछि जुनसुकै कालोपत्रे सडक पनि धमाधम खन्ने र सडक विभागसँग भएको सम्झौताभन्दा फरक तरिकाले गुणस्तरहीन मर्मत गर्दा सडक पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुनेगरेको छ ।

No description available.

काठमाडौं उपत्यकाका सडकमध्ये करिब ३५ प्रतिशत सडक मात्र संघीय सरकारको अधीनमा छ । अरु सडक कि त स्थानीय तहमा कि प्रदेश मातहतमा काम भइरहेको छ । भएको ३५ प्रतिशत सडकमा पनि सरकारका विभिन्न निकायले आफूखुसी खन्ने र टाल्ने गर्नाले सडक सधैँ नै जीर्ण देखिएको छ । खाल्डा, हिलो र धुलोले सहरकै वातावरण दिनहुँ प्रदूषित बन्दै गएको छ । ‘आगामी केही वर्षसम्म काठमाडौंभित्रका सकडहरूलाई धुलो र खाल्डाखुल्डीरहित बनाउन प्रायः असम्भव देखिन्छ’, सडक भत्काएर सेवा विस्तार गरिरहेका निकायहरूको बैठकमा सडक विभागले प्रस्तुत गरेको विवरणमा उल्लेख गरिएको छ ।

सडक विभागका अनुसार राष्ट्रिय राजमार्गको काठमाडौं उपत्यकाभित्रको एक सय ७९ किलोमिटर ४१ मिटर र सहरी सडक÷सहायक राजमार्गको छ सय २० किलोमिटर २६ मिटर गरी सात सय ९९ किलोमिटर ६७ मिटर सडक मात्र संघ सरकार मातहतको सडक विभागले हेर्ने गर्छ । बाँकी सबै सडक स्थानीय र प्रदेश सरकार मातहत छन् । स्थानीय र प्रदेश मातहतक सडकमा पनि प्राधिकरण, खानेपानी, ढल, टेलिकमलगायतका निकायले खनेर अलपत्र पारेर सडक विभागलाई जस्तै हैरानी पारिदिएका छन् । अझ स्थानीय तह मातहतका भित्री सडकको अवस्था त ढल, खानेपानी र प्राधिकरणले हेर्नै नसक्ने गरी बिगारेर महिनाँैसम्म अलपत्र पार्नेगरेका छन् ।

राष्ट्रिय राजमार्गमध्ये सडक डिभिजन काठमाडौंअन्तर्गत ८१ दशमलव ५१ किलोमिटर, सडक डिभिजन ललितपुरअन्तर्गत ८३ दशमलव ७८ मिटर र सडक डिभिजन भक्तपुरअन्तर्गत १४ किलोमिटर १२ मिटर गरी एक सय ७९ किलोमिटर ४१ मिटर राजमार्ग सडक मात्र सडक विभागअन्तर्गत पर्छ । त्यस्तै, सहरी सडक÷सहायक राजमार्गअन्तर्गतका छ सय २० किलोमिटर २६ मिटर सडक मात्र सडक विभाग मातहत काम भइरहेको छ । उक्त छ सय २० किलोमिटर २६ मिटरमध्ये काठमाडौं डिभिजनअन्तर्गत तीन सय ४६ किलोमिटर ८० मिटर, ललितपुर डिभिजनअन्तर्गत एक सय छ किलोमिटर ९३ मिटर र काठमाडौं उपत्यका सडक विस्तार आयोजनाअन्तर्गत ५८ किलोमिटर ६४ मिटर सडक मात्र सडक विभाग मातहत पर्छ । अरु सबै सडक स्थानीय र प्रदेश सरकार मातहत छन् । ती सडकमध्ये प्राधिकरण, आयोजना कार्यान्वयन निर्देशनालय, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल), ढल विभागले खाल्डा पारेको बाहेक अरु सबै ठाउँमा आगामी दशैँसम्म खाल्डा पुर्ने काम पूरा हुने सडक विभागले जनाएको छ । त्यहीअनुसार काम अगाडि बढाउन विभागले सडक डिभिजनहरू र विस्तार आयोजनालाई निर्देशन दिइसकेको छ । तर, प्राधिकरण, पीआईडी, केयूकेएल, ढल विभागलगायतका निकायले कहिले सडक मर्मत गर्छन् अझै निश्चित छैन ।

सडकको खाल्डा पुर्ने काममा प्राधिकरणको कार्य गुणस्तरहीन भएको ल्याब रिपोर्ट

उक्त सडकमध्ये ६७ किलोमिटर दुई सय २७ मिटर सडक विद्युत् प्राधिकरण र खानेपानीको आयोजना कार्यान्वय निर्देशनालय (पीआईडी)/काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) लाई १७ किलोमिटर दुई सय ८८ मिटरका १९ वटा सडक गरी ५१ वटा सडकका ६७ किलोमिटर एक सय ९१ मिटर सडक खनेर जमिनमुनिबाट सेवा विस्तार गर्न अनुमति दिइएको छ । ती कुनै पनि सडकको मर्मत ती निकायले सडक विभागको जस्तो गुणस्तरीयरूपमा गरेका छैनन् । ‘अस्फाल्ट’ सडक भत्काएर न्यून गुणस्तरबाट टालटुल पारिएको छ । जहाँ अहिले नै खाल्डा परिसकेको छ । सडक विभागले डीबीएम÷अस्फाल्ट प्रविधिबाट बनाएको कालोपत्रे सडकलाई सडक खन्ने अरु सरकारी निकायले ‘इमुल्सन’÷‘प्रिमिक्स’ मात्रै हुनेगरेकाले आवश्यक मोटाइ नपुगेर सडकमा खाल्डो पर्नेगरेको सडक विभागका एक अधिकारीले जानकारी दिए ।

प्राधिकरणले गरेको मर्मत गुणस्तरहीन भएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले ल्याब रिपोर्ट नै सार्वजनिक गरिदिएको छ । सडक विभागका अनुसार कलंकीदेखि थानकोट चेकपोस्टसम्म प्राधिकरणले केबल भूमिगत गर्दा सडकको पेटी खन्न स्वीकृति दिइएको थियो । प्राधिकरणले मर्मत गरेपछि आयोजनाले तार भूमिगत गरेपछि खाडल पुर्न प्रयोग गरेको बेस कार्यको डेन्सिटी (घनत्व) स्वीकृत मापदण्डअनुसार नभएको पुष्टि भएको थियो । उक्त खण्डको ल्याब रिपोर्टमा प्राधिकरणको अधिकतम घनत्व ९५ दशमलव ७८ प्रतिशत मात्र आएको थियो । जब कि सडक विस्तार आयोजनाले ९८ प्रतिशत डेन्सिटी बनाउनुपर्ने तोकेको थियो ।

प्राधिकरणलाई खन्न स्वीकृत दिइएका सडकहरूमा महाराजगञ्ज बाँसबारी सडक, लैनचौर सोह्रखुट्टे र लैनचौर सामाखुसी सडक, त्रिपुरेश्वर कालीमाटी सडकको त्रिपुरेश्वर–टेकु सडक र टेकु–नेसनल ट्रेडिङ (भन्सार मार्ग) सडक, बल्खु–चोभारलगायतका ३२ वटा सडकहरू छन् । त्यसको कुल लम्बाइ ४९ किलोमिटर नौ सय तीन मिटर र फुटपाथ ६७ सय २८ मिटर छ । उक्त सडकमध्ये पनि प्राधिकरणले भक्तपुर–आर्मी क्याम्प–नगरकोट सडकको तीन किलोमिटर क्षेत्र सडक विभागको स्वीकृति नलिई खनेर खाल्डा र धुलो बनाइदिएको छ । जोरपाटी–मुलपानी खण्डमा आंशिक मात्र मर्मत गरिदिएको छ ।

No description available.

केयूकेएल÷ पीआईडीलाई सडक विभागले टंकेश्वर– ताहाचल– गाईबाच्छा सडक, बाँसबारी– नारायणगोपाल चोक सडक, कालीमाटी–सोल्टीमोड–कलंकी सडक, माछापोखरी– बालाजु बाइपास सडक, गल्फुटार–मण्डिखाटार हुँदै धुम्बाराही चोकसम्मको सडक, पानीपोखरी– नारायणगोपाल चोकसम्मको सडक, भोटाहिटी–जमल सडकको रानीपोखरी नजिकको सडक, नयाँ बानेश्वर– पुरानो बानेश्वर सडकको सियाम कलेज नजिकको सडक, नारायणगोपाल चोक–बाँसबारी सडक र चावहिल मित्रपार्क टेलिकमअगाडिसम्मको सडक, खरीबोट– ग्रिनल्यान्ड सडक, सामाखुसी–रानीबारी सांग्रिला होटल सडकखण्डलगायतका १९ वटा सडकको १७ किलोमिटर दुई सय ८८ मिटर सडक खनेर सेवा विस्तारका लागि अनुमति दिएको छ । तर, कुनैमा काम नै भएको छैन भने कुनैमा खाल्डा पारेर छाडिएको छ । कतैकतै मर्मत गरिए पनि सडक विभागको जस्तो गरी नगरी मर्मतको नाममा झारा टार्ने काम मात्र भएको छ ।

कहाँ–कहाँको सडक खन्न माग भएको छ ?
सडक विभागका अनुसार थप ७७ किलोमिटर दुई सय २७ मिटर लामो ३३ वटा सडक खनेर तार भूमिगत गर्नका लागि विद्युत् प्राधिकरणले मात्र सडक विभागसँग माग गरेको छ । विगतका सर्तहरू पूरा नगरेको कारण सडक विभागले ती सडक खन्न अनुमति भने दिइसकेकोे छैन । विभागका अनुसार दहचोक–नैकापको ४६ सय ५० मिटर सडक, नयाँ बानेश्वर–पुरानो बानेश्वर, पुरानो बानेश्वर–रातोपुल, सिनामंगल– सेतोपुलको ५४ सय ७० मिटर, हात्तिसार –कमलपोखरी– जैन मन्दिर –डिल्लीबजारको एक हजार ४१ मिटर सडक, पवित्र वर्कसप–वंशिधर मार्गको एक हजार ६२ मिटर, ज्ञानेश्वर–कमलपोखरी, ज्ञानेश्वर–मैतीदेवीको पाँच सय ३९ मिटर, गौशाला–मित्रपार्कको पाँच सय १८ मिटर, नेपाल राष्ट्र बैंक–शितल निवास, पवित्र वर्कसप– विशालनगरको एक हजार ६२ मिटर, सनराइज चोक–बाबा चोक, मूलपानीलगायत ६१ सय मिटर, गैरीधारा– थिरबम– विशालनगर सडकको २९ सय ८५ मिटर, चप्पल कारखाना– अन्नपूर्णमार्ग– रिङरोड– मेरिडियन–गंगालाल सडक, मित्रपार्क– गौशाला– एयरपोर्ट– तीनकुने– नयाँ बानेश्वर–बबरमहल– माइतीघरसम्मको साढे सात किलोमिटर, माइतीघर–थापाथली–त्रिपुरेश्वरको १५ सय मिटर सडक, कमलादी रोड, प्रदर्शनीमार्ग, न्यूरोड गेट–ईन्द्रचोक सडक, नारायणहिटी– भद्रकाली– सिंहदरबार सडक, लैनचौर–केशरमहल सडक, सिंहदरबार– हनुमानस्थान– धोवीखोला सडकखण्डलगायतका सडक खन्न पनि सडक विभागसँग प्राधिकरणले अनुमति मागेको छ । तर, सडक विभागले अनुमति दिनुअगाडि धरौटी रकम २० प्रतिशतबाट ५० प्रतिशत पु¥याउन माग गरेको छ ।
यस्तै, पीआईडीबाट गल्फुटार रिपुमर्दिनी सैनिक विद्यालय नजिक च्याम्बर बनाउन गत फागुन २९ गते पत्राचार गरेर सडक खन्न माग गरेको थियो । त्यस्तै, चाबहिल–जोरपाटी खण्डमा पाइपलाइन विस्तार गर्न, तीनचुले–आरुबारी बसस्टपमा पाइपलाइन विस्तार गर्न र रेडन कलेज–गल्कोपाखालगायतका सातवटा सडकमा पाइपलाइन विस्तार गर्न माग गरेको छ । ती सडकको कुल लम्बाइ ७२ सय ४० मिटर छ ।

चालू आवमा थप एक सय २५ किलोमिटर काला सडक भत्काउन माग हुँदै
विगतका वर्षहरूमा खनिएका सडकहरूको समयमै मर्मत सम्भार गरेर धुलो र खाल्डाखुल्डीरहित सडक बनाउन असहयोग गर्ने प्राधिकरण, पीआईडी, केयूकेएललगायतका निकायले चालू आर्थिक वर्ष २०८०÷०८१ मा थप एक सय २५ किलोमिटर आठ सय ८४ मिटर सडक खनेर आफ्नो सेवा भूमिगत मार्गमार्फत गर्न माग गरेका छन् । विगतको सम्झौताअनुसार काम नगरेर दुःख दिएका निकायहरूलाई केही सर्त पूरा नभएसम्म सहजै सडक खन्न दिने अवस्थामा सडक विभाग छैन । यही भदौ १७ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्री प्रकाश ज्वालाको उपस्थितिमा एक उच्चस्तरीय छलफल कार्यक्रमको आयोजना गरी त्यसको जानकारी सरोकारवाला निकायलाई दिइसकेको छ ।

No description available.

No description available.

No description available.

 

सडक विभागले अहिले सडक खन्ने निकायहरूले राख्ने गरेको धरौटी रकम वृद्धि गर्नुपर्ने, सडक खन्दा धुलो उड्न दिन नहुने, खाल्डाखुल्डी सडक विभागले तोकेको गुणस्तरअनुसार मर्मत गर्नुपर्नेलगायतका सर्त राखेको छ । भौतिक मन्त्री ज्वालाले पनि सरोकारवाला निकायलाई त्यसतर्फ सचेत गराउँदै सडक विभागले भनेका कुराहरूमा आफ्नो पूर्ण समर्थन रहेको जनाएका छन् ।प्राधिकरणले चालू आर्थिक वर्ष २०८०÷०८१ मा करिब ८६ किलोमिटर अर्थात् ८५ किलोमिटर नौ सय ३२ मिटर लामो ४६ वटा सडक खनेर तार भूमिगत गर्न माग गर्ने तयारी गरेको छ ।

प्राधिकरणले कसनखोला पुलदेखि मनोहरा पेप्सीकोलासम्मको ४४ सय ६८ मिटर, निकोसेरा चोकदेखि राधेराधेसम्मको पाँच सय ९१ मिटर, नगरपालिका चोकदेखि एसएस चोकसम्मको १२ सय ८५ मिटर, सिद्धकाली चोकदेखि चारदोबाटोसम्मको ११ सय ७९ मिटर, टीटी चोकदेखि गठ्ठाघरसम्मको नौ सय ६४ मिटर, हनुमन्ते पुलदेखि जडीबुटी पुलसम्मको ४३ सय ६८ मिटर, भक्तपुर पीएसएसदेखि हनुमन्ते पुलसम्मको २४ सय ६७ मिटर, हनुमन्ते पुलदेखि जगाती चोकसम्मको २९ सय ८८ मिटर, कमलविनायक चोकदेखि जगाती चोकसम्मको ११ सय ४१ मिटर, गंगालाल अस्पताल–गोल्फुटार वंशीधर मार्ग, पानीपोखरीलगायतका ४६ वटा काला सडक खन्न स्वीकृत माग्ने योजना बनाएको छ ।

No description available.

यस्तै, पीआईडीबाट खानेपानी पाइपका लागि चालू आर्थिक वर्ष २०८०÷०८१ मा काठमाडौं उपत्यकाका ३२ वटा सडक खन्न माग गर्ने जानकारी सडक विभागलाई गराएको छ । सडक विभागका अनुसार पीआईडीले उक्त ३२ वटा सडकको कुल लम्बाइ करिब ४० किलोमिटर अर्थात् ३९ किलोमिटर नौ सय ५२ मिटर हुने जनाएको छ । पीआईडीले बालाजु चोक–माछापोखरी रिङरोडको एक हजार ४३ मिटर, छाउनी अस्पताल रोडको (पीपलबोट–किम्डोल चोक)को सात सय ९५ मिटरलगायतका सडक खनेर पाइप राख्न माग गर्दै छ ।

सडक बिगार्ने अन्य निकाय गाली खाने सडक विभाग
खाल्डाखुल्डी र धुलाम्मे सडकबाट वाक्कदिक्क भएका आम सर्वसाधारण भने सडकमा देखिएको जुनसुकै खाल्डालाई पनि देखाउँदै सडकले यति पनि काम गरेन भन्दै धारेहात लगाएर हिँड्ने गरेका छन् । यद्यपि कतिपय सडकहरू सडक विभागको कार्यक्षेत्रभित्रै पर्दैनन् भने खनिएका खाल्डा पुर्ने र मर्मत गर्ने दायित्व भने सडक खन्ने प्राधिकरण, खानेपानी, ढल, टेलिकमलगायतका निकायहरूको हो । तर, सडक खाल्डा र धुलो बनाएको भनेर गाली भने सडक विभागकै कर्मचारीहरूले मात्र खाइरहेका छन् ।

No description available.

‘कतिपय ठाउँमा हाम्रै कमजोरी वा म्याद पुगेर पनि सडक खाल्डा भएका छन्’, सडक विभागका एक सिनियर डिभिजनल इन्जिनियरले आर्थिक दैनिकसित भने, ‘खाल्डा परेका ठाउँमा सडक कार्यालयहरू एउटा निश्चित प्रक्रिया पूरा गरेर मर्मत गर्दै आएको छ । तर, अन्य निकायले भत्काएको ठाउँमा हामीले मर्मत गर्न मिल्दैन । उनीहरूले नै मर्मतका लागि बजेट विनियोजन गरेका हुन्छन् । हामीले मर्मत गर्ने हो भने भत्काउने निकायले मैले मर्मत गरेको भनेर पैसा खाइदिन सक्छ ।’

यतिमात्र होइन, चिल्ला सडक खनेर आफ्नो सेवा विस्तार गर्ने निकायहरूले गुणस्तरीय मर्मत नगर्ने मात्र होइन उनीहरूले समयमा काम नगरिदिँदा सडकले ठेक्का लगाएको ठाउँमा निर्माण व्यवसायीले काम नै गर्न नपाएर माथिल्लो निकाय गुहार्नुपरेको पनि छ । सडक खन्ने निकायले समयमै काम नगरी अवरोध गरेपछि सडक विभागअन्तर्गतको लैनचौर–महाराजगञ्ज, लैनचौर–बालाजुको ठेक्काको कार्य गर्न नसकिएको भन्दै म्याद थप र अन्य दाबीसहितको पत्र निर्माण व्यवसायी वल्र्डवाईड–पीआर–एसके जेभीले सडक डिभिजन काठमाडौंसँग माग गरेको छ ।

No description available.

एकीकृत योजनाविना सडकभित्र संरचना निर्माण गर्दा एकको कामले अर्को सेवा अवरोध हुने प्रस्ट देखिएको छ । अन्तर्राष्ट्रिय प्रचलनअनुसार जमिनभित्रबाट सेवा विस्तार गर्दा सबैभन्दा तल बिजुलीको तार लैजान पर्नेमा अहिले कतिपय ठाउँमा सबैभन्दा माथि त कतिपय ठाउँमा खानेपानी, ढल र टेलिफोनको तारसँगै बिजुलीको तार लैजाने पाइप राखिएको छ । प्राधिकरणको तार विस्तारले ढल, खानेपानी र फोन सेवा मर्मतमा अवरोध मात्र होइन कतिपय ठाउँमा सडकको पिच र खाल्डाखुल्डी टालटुल गर्नमै समस्या आउने देखिएको छ ।

साँघुरा सडकमा बिजुलीका तार भूमिगत गर्दाको समस्या
अहिले विद्युत् प्राधिकरणले जमिनमुनिबाट केबल लैजाने प्रयोजनका लागि भित्री साँघुरा सडकमा पनि पाइप बिच्छ्याइसकेको छ । केही वर्षमै ती स्थानमा खानेपानी र ढल मर्मत तथा विस्तार गर्दा कयौँ दिन विद्युत् सेवा नै अवरोध हुने देखिएको छ ।

‘भित्री सहरका साँघुरा सडकमा ढल र खानेपानीको मर्मत तथा विस्तारको काम गर्न महिनौँ दिन लाग्छ’, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका एक अधिकारीले भने, ‘विश्वका विकसित देशहरूमा पनि साँघुरा सडक भएको ठाउँमा जमिनमुनिबाट बिजुलीको तार लगेको पाइँदैन । नेपालमा लोकप्रिय हुने नाममा जे काम भएको छ त्यसले पछि ठूलो समस्या ल्याउने पक्का छ ।’ ती अधिकारीका अनुसार केही दिनअगाडि भौतिक मन्त्रालयले आयोजना गरेको छलफल कार्यक्रममा प्राधिकरणका एमडी कुलमान घिसिङलाई त्यसको जानकारी दिए पनि उनले काम भइसकेको भनेर पन्छिने काम गरे ।


क्याटेगोरी : नेपाल, पूर्वाधार विकास / उर्जा, समाचार, सुलसुले
ट्याग : #Page 1


तपाईको प्रतिक्रिया