Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपरियोजना विकासमा आईएफसीले प्राविधिक सहयोग गर्ने

परियोजना विकासमा आईएफसीले प्राविधिक सहयोग गर्ने


मोरक्कोको मराकेसमा जारी विश्व बैंकको वार्षिक बैठकको सिलिसिलामा अर्थमन्त्री डा. प्रकाशशरण महतसँग अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)का क्षेत्रीय उपाध्यक्ष रिकार्डो पुलितीले भेटवार्ता गरेका छन् । भेटवार्तामा नेपालको आर्थिक विकासका लागि निजी लगानी तथा बाह्य पुँजी परिचालन बढाउने विषयमा छलफल भएको छ ।निजी क्षेत्रको लगानी प्रवद्र्धनका लागि सम्भाव्य परियोजनाहरूको पाइपलाइन विकास गर्न र वित्तीय उपकरणहरू (विशेष इक्विटी एक्सपोजरमा) विविधीकरण गर्दै सार्वजनिक निजी साझेदारीमार्फत परियोजना विकास गर्न आईएफसीले प्राविधिक सहयोग गर्ने विषयमा छलफल भएको छ ।

अर्थमन्त्री डा. महतले नवीनतम वित्तीय उपकरणहरूमार्फत नेपालले परम्परागत क्षेत्रको अलावा निजी पुँजी आकर्षित गर्न आईटी, कृषि–व्यवसाय, पर्यटन र अन्य स्टार्टअपका क्षेत्रमा लगानी विविधीकरण गर्न नवीन वित्तीय उपकरणहरू परिचालन गर्नुपर्नेमा जोड दिए ।खासगरी विदेशी विनिमय जोखिमको कारणले आईएफसीमार्फत प्रवाह हुने कर्जाको विद्यमान लागत न्यूनीकरण गर्दै निजी लगानीलाई प्रोत्साहन गर्न आईएफसीले आईडीएको सहुलियत विन्डो (निजी क्षेत्र विन्डो)लाई ब्लेन्डिङ फाइनान्सको रूपमा उपयोग गर्न र इक्वीटी तथा स्थानीय मुद्रामा आधारित लगानीलाई प्रभावकारीरूपमा परिचालन गर्नुपर्ने सुझाव अर्थमन्त्रीले महतले दिए ।

बाह्य लगानी तथा पुँजी परिचालनका लागि लगानीको आकर्षक वातावरण सिर्जना गर्न नेपाल सरकारले सुरक्षित कारोबार ऐन संसद्मा पेस गर्न लागेको जानकारी गराउँदै कर्जा सूचना व्यवस्थापनसम्बन्धी कानुन निर्माणमा आईएफसीको चासोलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाए । साथै स्थानीय मुद्रामा आधारित बन्डमार्फत थप पुँजी परिचालन गर्ने विषयमा समेत नेपालले गरेको पहल सम्बन्धमा जानकारी गराए । अर्थमन्त्रीले आगामी ‘कन्ट्री पार्टनरसीप फ्रेमवर्क’मा नेपालको निजी लगानीका प्राथमिकता र क्षेत्रगत विविधीकरण विषय समावेश हुने विश्वास व्यक्त गरे ।

आईएफसीका उपाध्यक्ष पुलितीले नेपालले लगानीको प्रवद्र्धनको वातावरण सिर्जना गर्न गरेको पहलकदमीको विषयमा सह्राना गरे । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय क्षेत्रमार्फत बाह्य पुँजी तथा लगानी परिचालन गर्न स्पष्ट कानुनी आधार रहेको बताउँदै केन्द्रीय बैंकले सो प्रक्रियामा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।उक्त अवसरमा अर्थमन्त्री महतको आईएमएफ तथा विश्व बैंक दक्षिणपूर्व एसिया क्षेत्रका कार्यकारी निर्देशक विम्वी सायुगा र याटी कुर्नियाटीसँग द्विपक्षीय हितका विषयमा वार्ता गरेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया