Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारइजरायल नेपाली फर्काउन तयार नेपाल सरकार आलटाल गर्दै

इजरायल नेपाली फर्काउन तयार नेपाल सरकार आलटाल गर्दै


गत शनिबार इजरायलका विभिन्न ठाउँमा प्यालेस्टिाइन आतंकवादी समूह हमासले आक्रमण गरेपछि दश जना नेपालीसहित सयौंका मृत्यु भएको छ भने कयौं वेपत्ता र बन्धकमा छन् ।इजरायलले हमासविरुद्ध जवाफी कारबाही गरिरहेको छ । उक्त कारबाही लम्बिने विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । हमासविरुद्धको कारबाही लम्बिने भएपछि इजरायलले पनि आफ्ना नागरिकलाई बिदामा दुई÷तीन महिना बाहिर जान अनुमति दिएको छ । उसले अन्तर्राष्ट्रिय उडान नै रोकेर हमासविरुद्ध कारबाही गर्ने योजना बनाएको छ । सोही कारण इजरायलमा यात्रुवाहक हवाई उडान केही समयका लागि रोकिने देखिएको छ ।

इजरायलले कारबाही तीब्र पार्ने भएपछि त्यहाँ थप युद्ध र रक्तपातको सम्भावना बढेको छ । युद्ध लम्बिने संकेत पाएका इजरायलमा रहेका नेपालीहरुले छिटो भन्दा छिटो उद्दार गर्न नेपाल सरकारलाई आग्रह गरेका छन् तर सरकार भने कुरा हुँदैछ, सुरक्षित बस्नु, आत्मबल उच्च पार्नु, खान नपाइएन भने दूतावासमा सम्पर्क गर्नु भनेर उनीहरुलाई नेपाल ल्याउनबाट टारिरहेको छ । नेपाल सरकारले सुरक्षित बस्नु भने पनि इजरायल अहिले सुरक्षित छैन । जुनसुकै बेला जहाँसुकै हमासले प्रहार गरेको मिसाइल घर तथा वस्तीमा खस्ने छ । दिनहुँ सयौं मिसाइल र बमहरु इजरायली बस्तीमा खसिरहेको छ । सोही कारण इजरायलमा रहेका नागरिकहरुले आफूहरु असुरक्षित रहेको महसुस गरेका हुन् । हमासले सबै ठाउँमा जमिनबाट आक्रमण गर्न नसक्ने भए पनि आकाशबाट भने निरन्तर इजरायलतर्फ आक्रमण गरिरहेका छन् ।

युद्ध जारी रहेपछि नेपालीसँगै रहेको विभिन्न देशले आफ्ना नागरिकलाई इजरायलबाट उद्दार गरेर आफ्नो देश लगिसकेका छन् तर नेपाल भने कुरा हुँदैछ भनेर नेपालीलाई स्वदेश फिर्ता गर्न आलटाल गरिरहेको छ । इजरायलको विदेश मन्त्री एली कोहेनले पनि नेपालीलाई स्वदेश फर्काउन समन्वयन गर्न तयार रहेको जानकारी नेपाल सरकारलाई दिइसकेका छन् ।
मंगलबार पनि नेपालका परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनसँग फोन वार्ता गरेका थिए । परराष्ट्रमन्त्री साउदले नेपाल फर्कन चाहनेलाई फिर्ता गर्न, ज्यान गुमाएका नेपालीको शव नेपाल पठाउन आवश्यक समन्वय र सहजीकरण गर्न आग्रह गर्नुको साथै घाइते भएकाहरुको उपचार तथा सम्पर्कविहीन नेपालीको अवस्था पत्ता लगाईदिन आग्रह गरेका थिए ।

इजरायली सेनाले केही नेपालीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । परराष्ट्र मन्त्रालयले इजरायलको तेलअबिबमा रहेको नेपाली दूतावासमार्फत नेपालीको विवरण संकलन गरिरहेको छ । साथै घर फर्कन चाहनेको विवरण पनि संकलन गरिरहेको छ । तर, उसले तत्काल नेपाल फर्किन चाहनेलाई सुरक्षित बस्न भनेर हतार नगर्न आग्रह गरिरहेको छ । तर, नेपालीहरु भने जति सक्दो चाँडो नेपाल फर्किन चाहन्छन् । आफ्नो देश अहिले कठिन अवस्थामा रहेको इजरायली विदेशमन्त्रीले नेपालका परराष्ट्र मन्त्री साउदलाई जवाफ दिएका छन् तर नेपाल भने विवरण संकलन गर्दै बसेको छ । ‘आफ्नो देश कठिन अवस्थामा रहेको भनेर इजरायलको विदेश मन्त्रीले नेपालको परराष्ट्र मन्त्रीलाई भन्नु भनेको तिम्रा नागरिक छिटो लैजाउ भन्नु हो’, एक पूर्वराजदूतले आर्थिक दैनिकसित भने, ‘युद्धमा रहेका कुनै पनि देशले खर्च दिएर तिम्रा नागरिक लैजाऊ भन्दैन । उसले समन्वय गरेर पठाउँछु भन्दा पनि नेपाल सरकार विवरण संकलन गर्दैछौं भनेर पन्छनु भनेको लाजमर्दो अवस्थामा पुग्नु हो ।’

स्रोतका अनुसार प्लेन पठाएर उद्दार गर्दा धेरै पैसा लाग्ने भएको कारण सरकारले इजरायलमा फसेका नेपालीहरुलाई आफैंले पैसा तिरेर फर्कन बाध्य पार्ने योजना अनुसार कुरा हुँदैछ, धैर्य भएर सुरक्षित स्थानमा बस्नु भनिरहेको हो । चार्टर विमानले सरकारसँग अग्रिम पैसा माग्ने भएको कारण सरकार त्यो पैसा पनि दिन आनाकानी गरिरहेको छ । यसले सरकार आफ्ना नागरिकको सुरक्षाप्रति भन्दा पनि पैसा नभएर त्रसित भैरहेको देखिन्छ । इजरायलले तिम्रा नागरिक लैजाऊ भन्दा नेपालले ल्याउन नसक्नु अन्तर्राष्ट्रिय रुपमै लाजमर्दो अवस्था सिर्जना भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया