Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकालिञ्चोक क्षेत्रमा आन्तरिक पर्यटक बढे

कालिञ्चोक क्षेत्रमा आन्तरिक पर्यटक बढे


दोलखा । जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र कालिञ्चोकमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । असोजदेखि नै यस क्षेत्रमा आउने पर्यटकहरूको संख्यामा क्रमशः वृद्धि हुँदै गएको छ । कालिञ्चोक आउने पर्यटकले हाल कुरी बजारमा रहेको होटल समेत भरिभराउ हुने गरेको होटल व्यवसायी नवराज पाख्रिनले बताए ।

उनका अनुसार कात्तिक महिनामा मात्रै करिब ३० हजार जनाले कालिञ्चोक भगवतीको दर्शन तथा यस क्षेत्रको अवलोकन गरेका छन् । दशैं र तिहारको बीचमा मात्रै २१ हजारभन्दा बढी पर्यटकहरू कालिञ्चोक पुगेका थिए । धर्मप्रति आस्थावान् भएर पूजा आराधना गरी कालिञ्चोक भगवतीलाई प्रशन्न पार्न सके मनले चिताएको पूरा हुने विश्वासले दशैंको समयमा यस क्षेत्रमा धार्मिक पर्यटकहरू बढी जाने गरेका छन् । यस्तै, हिउँदको समयमा भने धार्मिकसँगै हिँउ खेल्नका लागि पनि कालिञ्चोक पुग्नेहरू भेटिन्छन् । असोजदेखि जेठ महिनासम्म कालिञ्चोकमा चहलपहल हुने गर्छ । कालिञ्चोक केबुलकार दर्शन प्रालिका अनुसार कात्तिक महिनामा २० हजारले केबुलकारमार्फत कालिञ्चोक भगवतीको दर्शन गरेका छन् । यस्तै, १० हजारको हाराहारीको संख्यामा पैदलमार्ग हुँदै मन्दिर पुगेको स्थानीयको भनाइ छ । त्यस्तै, मंसिर पहिलो सातामा पनि उल्लेखनीय रूपमा आन्तरिक पर्यटक कालिञ्चोक पुगेका थिए ।

समुद्र सतहदेखि तीन हजार ८४२ मिटर उचाइमा अवस्थित कालिञ्चोक भगवतीका बारेमा केही किम्वदन्ती प्रचलित छ । परापूर्व कालमा कुतीबाट खासा हुँदै भेँडा ल्याउँदा कालिञ्चोकबाट नै ल्याउनु पर्दथ्यो । यहाँ आइपुग्दा सातवटा भेडा हराएका थिए । त्यसपछि गोठालाहरूले कामेर बक्दै अबीर, केशरी र भेटी चढाएपछि भेँडा हराउन छोडेको जनविश्वास रहेको छ । त्यसपछि कालिञ्चोक भगवतीलाई मान्ने क्रम सुरु भएको स्थानीय मकरध्वज तमाङले बताए । स्कन्द पुराणमा कामाचल गिरी हिमवत खण्डमा हिमालय पर्वत र कालीपुराणमा कलिञ्जर भन्ने उल्लेख भएको ठाउँ नै कालिञ्चोक भएको यससँग सम्बन्धित जानकारहरू बताउँछन् । उनीहरूका अनुसार तीन हजार वर्षसम्म तपस्या गरेर पार्वतीले राक्षस मारेको स्थान नै कालिञ्चोक हो ।

यहाँ जनैपूर्णिमा, कृष्णाष्टमी समेतमा विशेष मेला लाग्ने गर्दछ । मेलामा धाँमीझाँक्रीको ठूलो भीड हुने गर्दछ भने अन्य भक्तजनहरू पनि वरदान माग्न आउने गरेको स्थानीयवासीहरू बताउँछन् । यहाँ कुनै भगवतीको मूर्ति देख्न भने पाइँदैन । बाह्रै महिना पानी रहिरहने एउटा कुण्ड छ, त्यसैलाई भक्तजन कालिञ्चोक भगवती भनी पुज्ने गर्दछन् । यहाँसम्म पुग्नको लागी चरीकोटबाट कुरीसम्म १८ किलोमिटर कच्ची सडक निर्माण भएको छ । कुरीमा सैयौँ होटल लज बनेका छन् । कुरीबाट मन्दिरसम्म पुग्न केबुलकारको पनि व्यवस्था छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 9

तपाईको प्रतिक्रिया