Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारट्रान्स नेपाललाई चोभार सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा

ट्रान्स नेपाललाई चोभार सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा


काठमाडौं । पाँच वर्षको लागि चोभार सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा ट्रान्स नेपाल फ्रेट सर्भिसेज जेभीले पाएको छ । कम्पनीले यही मंसिर २९ गतेदेखि चोभार सुक्खा बन्दरगाहको सञ्चालन तथा व्यवस्थापन गर्ने बताइएको छ ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट छनोट भएको ट्रान्स नेपाल फ्रेट सर्भिसेज जेभीले बन्दरगाह सञ्चालनको लागि सोमबार नेपाल इन्टरमोडल यातायात विकास समितिसँग सम्झौता समेत गरेको छ । ट्रान्स नेपाल फ्रेट सर्भिसेज जेभीले ट्रान्स नेपाल टीआरएस लोजिपार्क प्रालि दर्ता गरी दुई करोड ८८ लाख न्यूनतम पट्टा वहाल र नियमानुसार महसुल बाँडफाँट गर्ने गरी समितिसँग सम्झौता गरेको हो । समितिका कार्यकारी निर्देशक आशीष गजुरेलको उपस्थितिमा कम्पनीका निर्देशक युवक डङ्गोल र सञ्चालक कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक मुकेशकुमार राठीले करार सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा समितिका कार्यकारी निर्देशक गजुरेलले चोभार सुक्खा बन्दरगाह सञ्चालन सुरु भएको करिब २० महिनामा व्यापारिक प्रयोगमा वृद्धि भइरहेको र सुक्खा बन्दरगाहको सञ्चालन र व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिँदा सरकारलाई प्राप्त हुने राजस्व बढ्ने बताए । यस्तै, उनले बन्दरगाहलाई पूर्णक्षमतामा सञ्चालनमा ल्याउनका लागि बल्खु–दक्षिणकाली सडक खण्डको कीर्तिपुरस्थित ल्याबोरेटरी उच्च माध्यमिक विद्यालयको मुख्यद्वारदेखि चोभार सुक्खा बन्दरगाहसम्मको सडक चौडा गरी चार लेनको बनाउन र निजगढ–काठमाडौं द्रूतमार्ग निर्माण चाँडो सम्पन्न गर्न अत्यावश्यक भएको बताए ।

यस्तै, सञ्चालक कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक राठीले सुक्खा बन्दरगाहको प्रभावकारी सञ्चालन तथा व्यवस्थापनमा नेपाल इन्टरमोडल यातायात विकास समितिलगायत अन्य सरकारी तथा सरोकारवाला निकायबाट विगतमा प्राप्त गरेको साथ र सहयोग आगामी दिनमा समेत प्राप्त हुने विश्वास व्यक्त गरे । नेपाल इन्टरमोडल यातायात विकास समिति (गठन) आदेश, २०५४ बमोजिम समिति एक नियामक निकायका रूपमा रहेकाले समितिअन्तर्गत रहेका टर्मिनल (सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी र कन्टेनर फ्रेट स्टेसन)को सञ्चालन तथा व्यवस्थापन गर्न निजी क्षेत्रलाई दिनको लागि समितिले गत साउन ८ गते अन्तर्राष्ट्रियस्तरको बोलपत्र आह्वान गरेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया