Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारयू-१९ विश्वकप क्रिकेट प्रतिस्पर्धा नेपाली टोलीका लागि कति सहज?

यू-१९ विश्वकप क्रिकेट प्रतिस्पर्धा नेपाली टोलीका लागि कति सहज?


काठमाडौं,एक समय थियो- यू-१९ विश्वकपमा नेपालले असोसिएट राष्ट्रबाट तहल्का नै मच्चाउँथ्यो।

सन् २००० देखि २०१२ सम्म नेपाली युवा टोली लगातार विश्वकपमा छनोट भयो।

नेपालले ती प्रतिस्पर्धामा पाकिस्तान, दक्षिण अफ्रिका, न्यूजिल्यान्ड, जिम्ब्बाब्वे, बाङ्ग्लादेश र आयरल्यान्डजस्ता टोलीलाई हरायो।

सन् २००६ मा त प्लेट च्याम्पिअन नै बन्यो।
सन् २०१० पछि युवा टोलीको ओरालो यात्रा सुरु हुन थाल्यो। विश्वकपमा छानिन सकस भयो। पछिल्लो पटक सन् २०१६ मा छानिएपछि त नेपाल छनोट हुन नै सकेको थिएन।
तर यस वर्ष युवा टोली छनोट खेलमा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकपमा छानिएको छ। आठ वर्षको पर्खाइपछि पाएको यो अवसरलाई टोलीले आफ्नो पुरानो साख जोगाउने अभियानमा उपयोग गर्ने लक्ष्य राखेको छ।

नेपाली टोलीका कप्तान देव खनाल भन्छन् , “लामो समयपछि हामी विश्वकपमा छौँ। पुरानो छविलाई जोगाउँदै प्रतियोगिताको सुपर ८ मा पुग्ने हाम्रो लक्ष्य हो। टेस्ट राष्ट्रलाई कसरी हराउने भन्ने हामीले योजना बनाएका छौँ।”
प्रभावशाली खेलाडी
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले नेपाली टोलीमाथि ध्यान केन्द्रित गरेको छ।

आईसीसीले नेपाली कप्तान देव खनालसहित गुलशन झा, अर्जुन कुमाल र दुर्गेश गुप्तालाई विश्वकपमा प्रभाव पार्न सक्ने चारजना नेपाली खेलाडीको सूचीमा उल्लेख गरेको छ।

कप्तान देवले नेपाली सिनियर टोलीबाट १० वटा एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै २ सय ५३ रन जोडिसकेका छन्।

सिनियर टोलीमा खेलेर नेपाललाई एशिया कपदेखि एशियन प्रिमियर कप र एशिया कपमा राम्रो छाप छोड्न सफल गुलशन झा युवा टोलीका स्टार खेलाडी हुन्।

बलिङ अलराउन्डर गुलशनले नेपालबाट २४ वटा एक दिवसीय अन्तर्राष्ट्रिय र १४ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्। जसमा उनले एक दिवसीयमा २१ विकेट लिनुका साथै ४ सय ८८ रन बनाएका छन्।

दक्षिण अफ्रिकामा अभ्यास खेल खेल्ने क्रममा उनले स्कटल्यान्ड विरुद्धको अभ्यास खेलमा पनि ३३ रन बनाएका थिए।

बायाँ हाते तीव्र गतिका बलर दुर्गेशले पनि टोलीमा प्रभावशाली भूमिका निभाउँदै आएका छन्।

युवा खेलाडी अर्जुन कुमाल ब्याटिङमा नेपालका ‘फ्यूचर स्टार’ का रूपमा चिनिन्छन्। यू १९ विश्वकप छनोटका क्रममा उनले कुवेतविरुद्ध र यू १९ प्रिमियर कपमा साउदी अरेबियाविरुद्ध शतक प्रहार गरेर सबैको आँखामा परेका थिए।
‘सजिलो छैन’
यद्यपि विश्वका सबै उत्कृष्ट टोलीबीच हुने यो प्रतिस्पर्धामा भिड्नु सहज नहुने कतिपय विज्ञहरू बत्ताउँछन्।

नेपाली टोलीका प्रशिक्षक जगत् टमाटाका अनुसार विगतमा टेस्ट खेल्ने राष्ट्रहरूले पठाउने युवा टोली खासै बलियो हुँदैनथ्यो।

उनी भन्छन् , “तर पछिल्लो ४/५ वर्ष देखि हरेक टेस्ट राष्ट्रले निकै राम्रो टोली पठाउन थालेको छ। जसले गर्दा हरेक खेल निकै प्रतिस्पर्धात्मक हुने गरेको छ।”

समूह ‘डी’मा रहेको नेपालको समूह पनि कठिन मानिएको छ। सो समुहमा नेपालसँगै अफगानिस्तान , पाकिस्तान र न्यूजिल्यान्ड रहेका छन्।

नेपालले पहिलो खेल आइतवार न्यूजिल्यान्डसँग खेलेर सुरुआत गर्नेछ।

समूह ए मा भारत, बाङ्ग्लादेश, आयरल्यान्ड र अमेरिका छन् भने समूह ‘बी’ मा इङ्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्यान्ड परेका छन् । यसै गरी समूह ‘सी’ मा अस्ट्रेलिया र श्रीलङ्कासँगै जिम्बाब्वे र नामिबिया छन्।
नेपालको दोस्रो खेल ज्यानुअरी २४ मा पाकिस्तानसँग र ज्यानुअरी २६ मा अफगानिस्तानसँग खेल्नेछ।

प्रत्येक समूहबाट ३ वटा टोलीले सुपर ६ मा स्थान बनाउने हुनाले एउटा मात्र खेल जिते पनि सुपर ६ मा पुग्ने सम्भावना रहन्छ।

सोह्र वटा राष्ट्रबीच हुने यो प्रतिस्पर्धामा समूह ए र डी का शीर्ष तीन/तीन टोलीबीच तथा समूह बी र सी का तीन/तीन टोलीबीच सुपर सिक्स प्रतिस्पर्धा हुनेछ। जसबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्।

नेपाली कप्तान देव खनाल भन्छन्, ” कुनै पनि टोली विश्वकपमा पुगेको छ भने त्यो हलुका टोली हुँदैन। हामी पनि छनोट चरण पार गरेर विश्वकप पुगेका हौँ। हामीले बलियो मानसिकता बोकेका छौँ।”

नेपालले झन्डै २ हप्ता अगाडि दक्षिण अफ्रिका पुगेर मैदानमा घुलमिल गर्ने मौका पाएको छ।

त्यहाँ खेलेको दुई वटा अभ्यास खेलमा नेपालले स्कटल्यान्डलाई पराजित गरेको थियो भने वेस्ट इन्डिजसँगको खेल वर्षाले अनिर्णीत हुन पुगेको थियो।
(बीबीसी)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया