Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाल विद्यार्थी संघले रोवर्ट प्रतियोगिता गर्ने

नेपाल विद्यार्थी संघले रोवर्ट प्रतियोगिता गर्ने


काठमाडौं । नेपाल विद्यार्थी सङ्घले मानव नियन्त्रित रोबोट्सको क्षमता प्रदर्शन गर्ने उद्देश्यले रोबोट प्रतियोगिता गर्ने भएको छ । खेल, मनोरञ्जन, सिर्जना र आविष्कारलाई एकमुष्ट प्रतिविम्बित गर्न रोबोटबीच प्रतिस्पर्धा गराउन लागिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताका बारेमा जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मलेनमा नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पाले यही माघ १३ गतेदेखि १५ गतेसम्म काठमाडौंस्थित दशरथ रङ्गशालामा प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए । विश्वकर्मा ‘ब्याटल अफ टाइटन्स–टु’ नामक टाइटल रहेको प्रतियोगितामा मानव नियन्त्रित रोबोटको डिजाइन, गतिशीलता, आक्रमण, प्रतिरक्षा तथा क्षमताको प्रदर्शन गर्न लागेको उनले बताए । उनका अनुसार सिर्जना र आविष्कारका प्रतीक ‘विश्वकर्मा’ प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश र पाकिस्तान देशबाट १८ समूहले प्रतिस्पर्धा गर्नेछन् । प्रत्येक सहभागीले आ–आफ्नो राष्ट्र र विश्वविद्यालयको प्रतिनिधित्व गर्नुपर्ने उनले बताए ।

वर्तमान युग सापेक्ष नीति तथा कार्यक्रममार्फत विद्यार्थीलाई अनुसन्धान, सिर्जना र आविष्कारसँग जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष शेर्पाले बताए । तीन दिने प्रतियोगितामा सङ्घले सबै समूह सहभागी, आमन्त्रित अतिथि र स्वयंसेवकलाई खानासहित आवासको सुविधा उपलब्ध गराउनेछ । प्रतियोगितामा प्रथम हुने समूहले तीन लाख ५० हजार रुपैयाँ, दोस्रो हुनेले एक लाख ५० हजार रुपैयाँ र अन्य श्रेणीमा विजयी हुने एक समूहले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया