Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगाजास्थित मुख्य राष्ट्रसङ्घीय निकाय कूटनीटिक विवादको भुमरीमा

गाजास्थित मुख्य राष्ट्रसङ्घीय निकाय कूटनीटिक विवादको भुमरीमा


काठमाडौं,गाजा दिनानुदिन गाजा उजाड बनिरहेको छ। त्यहाँ केही अन्तर्राष्ट्रिय संस्था मात्र अझै काम गर्न सक्ने अवस्थामा छन्। संयुक्त राष्ट्रसङ्घ तीमध्ये एक हो।

संयुक्त राष्ट्रसङ्घअन्तर्गत प्यालेस्टिनी शरणार्थीहरूलाई राहत र सहयोग प्रदान गर्ने निकाय यूएनआरडब्ल्यूए सन् सन् १९४९ मा स्थापना भएको थियो।

इजरेल राष्ट्र स्थापना भएपछि आफ्नो वासस्थान छोडेका वा छोड्न बाध्य भएका झन्डै सात लाख प्यालेस्टनीहरूलाई सहयोग गर्न उक्त निकायल गाजा, वेस्ट ब्याङ्क, सिरिया, लेबनन र जोर्डनमा काम गर्छ।

तर अहिले धेरै पश्चिमा राष्ट्रहरूले यूएनआरडब्ल्यूएका केही कर्मचारीहरू हमासले गत अक्टोबर ७ मा इजरेलमा गरेको आक्रमणमा संलग्न रहेको आशङ्कामा आफूले प्रदान गर्ने आर्थिक सहयोग स्थगित गरिदिएका छन्।
यूएनआरडब्ल्यूएका प्रमुखका अनुसार त्यसैले सो निकायमा निर्भर २० लाख गाजावासीले पाउने सहयोग बन्द हुन सक्ने सम्भावना छ।
यूएनआरडब्ल्यूएले के गर्छ
गाजामा विस्थापित भएका मानिसलाई यूएनआरएडब्ल्यूले अहिले आश्रय उपलब्ध गराउँदै र इजरेलले अनुमति दिएको सहयोग वितरण गर्दै आएको छ। तर यो राष्ट्रसङ्घीय निकायको काम त्यतिमा मात्र सीमित छैन।

यसले गाजाको हिंसा, घेराबन्दी र गरिबीको अनन्त चक्र चलिरहँदा मानिसहरूलाई दैनिक जीवनमा आवश्यक पर्ने पूर्वाधार र आधारभूत उपकरण पनि प्रदान गर्छ ।

यो निकायले शिक्षक प्रशिक्षण केन्द्र तथा झन्डै ३०० वटा प्राथमिक विद्यालयसहित थुप्रै शैक्षिक तथा चिकित्सा सुविधा प्रदान गर्छ। यसले प्यालेस्टिनी विद्यार्थीहरूका लागि पाठ्यपुस्तकहरू उत्पादन गर्छ र गाजामा मात्रै झन्डै १३,००० जनालाई रोजगारी दिँदै आएको छ।

गाजामा काम गर्ने सबैभन्दा ठूलो संयुक्त राष्ट्रसङ्घीय निकायका रूपमा यसले मानवीय सहायताका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ।
इजरेल के भन्छ
यद्यपि यो वर्षौँदेखि विभिन्न पक्षहरूले प्रहार गर्दै आएको राजनीतिक भकुन्डोजस्तो पनि बनेको छ।

प्यालेस्टिनीहरूलाई शरणार्थीको दर्जामा राखेको र सन् १९४८ र त्यसपछिका अन्य युद्धहरूमा विस्थापितहरूको घर फर्किने अधिकारलाई प्रोत्साहित गरेको भन्दै इजरेलले यो निकायको औचित्यमाथि नै प्रश्न उठाउँदै आएको छ।

अरब-इजरेल द्वन्द्वमा शरणार्थीको विषय मुख्य मुद्दा बन्ने गरेको छ। धेरै प्यालेस्टिनीहरूले अहिले पनि ऐतिहासिक प्यालेस्टाइनमा फर्किने आकाङ्का राखेका छन् । तर ऐतिहासिक प्यालेस्टाइनका केही भाग वर्तमान इजरायलमा पर्छ।

इजरेल त्यस्तो दाबी अस्वीकार गर्छ। शरणार्थीको मान्यतालाई पुस्तान्तरण गर्न दिइएको भन्दै उसले यूएनआरडब्ल्यूएको साङ्गठनिक स्वरूपको पनि विरोध गर्दै आइएको छ।
‘घृणा र असहिष्णुता’
इजरेल सरकारले लामो समयदेखि यो संस्थाले प्रदाण गर्ने शिक्षा र वितरण गर्ने पाठ्यपुस्तक को निन्दा गर्दै आएको छ। त्यस्ता सामग्रीले इजरेलविरोधी भावनालाई निरन्तरता दिएको छ तेल अभिभवको धारणा छ।

सन् २०२२ मा इजरेली निगरानी संस्था इम्प्याक्ट-एसईले यूएनआरडब्ल्यूएका शैक्षिक सामग्रीहरूले इजरेलले “प्यालेस्टिनी पहिचान मेटाउन खोजेको, प्यालेस्टिनी सम्पदा चोर्न खोजेको र जेरुसलेमको संस्कृति मेटिदिन खोजेको” दाबी गर्‍यो। सो संस्थाका अनुसार यूएनआरडब्ल्यूएले “यहुदीविरोधी भावना, घृणा, असहिष्णुता तथा निष्पक्षताको अभाव”लाई प्रश्रय दिएको थियो।

यूरोपियन कमिशनले पनि “यहुदीविरोधी भावना” र “हिंसालाई उक्साउने किसिमका समेत” सामग्री पहिचान गरेको थियो ।

युरोपेली संसद्ले युरोपले प्यालेस्टिनी नेतृत्वलाई प्रदान गर्ने आर्थिक सहायताको लागि यस्तो सामग्री हटाउनुपर्ने सर्त राख्न बारम्बार आह्वान गरेको छ । यूएनआरडब्ल्यूएले भने आफ्ना शैक्षिक सामग्रीका बारेमा बनाइएका त्यस्ता प्रतिवेदनहरू “गलत र भ्रामक” भएका र प्रश्न उठेका पुस्तकहरू विद्यालयमा प्रयोग नभएको दाबी गरेको छ ।

इजरेल-गाजा युद्ध : शान्तिको मूल्य के हो?
२० डिसेम्बर २०२३
इजरेल र प्यालेस्टाइनको १०० वर्ष, पीडित को हो?
१५ अक्टोबर २०२३
सहयोग रोकिए समस्या
सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यूएनआरडब्ल्यूएलाई “सुधार्नै नसकिने त्रुटि भएको” भनी अमेरिकाका तर्फबाट जाने आर्थिक सहायता पूर्ण रूपमै बन्द गरिदिएका थिए। अहिले अन्य पश्चिमा राष्ट्रहरूले पनि आफ्नो सहायता निलम्बन गर्दै लगेको अवस्थामा यो निकाय फेरि गम्भीर समस्यामा पर्न सक्ने र यसमा निर्भर ५३ लाख प्यालेस्टिनी शरणार्थीको जीवनमा ठूलो प्रभाव पर्ने देखिन्छ।

अहिले पुनः सहयोग बन्द गरेको अमेरिका यूएनआरडब्ल्यूएको सबैभन्दा ठूलो दाता हो। अमेरिकाले सन् २०२२ मा ३४ करोड अमेरिकी डलर दिएको थियो। त्यो वर्ष १६ करोड २० लाख अमेरिकी डलर दिएको जर्मनीले पनि आर्थिक सहयोग बन्द गरेको छ।
इजरेलले विगत लामो समयदेखि संयुक्त राष्ट्रसङ्घका केही निकायहरूलाई पूर्वाग्राही र यहुदीविरोधी भएको आरोप लगाउँदै आएको छ। अहिले भने गाजाको युद्धको लागि स्वदेश तथा विदेशमा बढ्दो आलोचनाको सामना गर्न थालेको इजरेल सरकारले आफ्नो तर्क बलियो बनाउन तथा ध्यान अन्यत्र केन्द्रित गराउन यूएनआरडब्ल्यूएमाथि गरिएको शङ्कालाई अवसरको रूपमा प्रयोग गरेको छ।
इजरेलका पश्चिमा साझेदारहरूका लागि भने यो घटना उसलाई संयमित हुन दबाव दिँदै उसप्रति आफ्नो समर्थन प्रकट गर्ने अवसर बनेको छ ।

आफ्नो सहायता रोके पनि ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन कर्बीले “गाजामा हजारौँ मानिसको ज्यान बचाउँदै” आइरहेको निकायलाई “केही कर्मचारीहरूले गरेको कार्यको लागि दोषी बनाइन नहुने” बताए।

इजरेलका परराष्ट्रमन्त्रीले यूएनआरडब्ल्यूएलाई “हमासको नागरिक संयन्त्र” को सङ्ज्ञा दिँदै गाजामा युद्धपछिको समयमा उक्त निकायको भूमिका हुनु नहुने टिप्पणी गरेका छन्।

तर यसबाट प्रश्न उठ्छ : यदि संयुक्त राष्ट्रसङ्घलाई युद्धबाट छिन्नभिन्न क्षेत्रलाई जोड्न दिइँदैन भने त्यो काम कसले गर्छ?
(बीबीसी)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया