Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसहकारीले बचतकर्ताको विश्वास जित्नुपर्छ: मुख्यमन्त्री शर्मा

सहकारीले बचतकर्ताको विश्वास जित्नुपर्छ: मुख्यमन्त्री शर्मा


कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले सहकारीले सुशासन कायम गरी बचतकर्ताको विश्वास जित्नुपर्ने बताएका छन् । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयद्वारा वीरेन्द्रनगर सुर्खेतमा सोमबार आयोजित ‘सहकारी संस्था समस्या समाधान र सुशासन प्रवद्र्धन’ विषयक प्रदेशस्तरीय कार्यशालामा उनले सहकारीमार्फत जनपरिचालन गरेर विकासमा योगदान दिन सकिने बताएका हुन् ।

उनले भने, ‘सहकारीलाई जनपरिचालनको माध्यम बनाएर अघि बढाउन सके आयआर्जनका क्रियाकलाप अगाडि बढ्न सक्छन् । संविधानले नै समाजवादको कल्पना गरेकाले सहकारीलाई विकासमा योगदान पुर्याउने संस्थाका रूपमा विस्तार गर्न सकिन्छ ।’ राससले जनाएनुसार आर्थिक सम्पन्नताले सुख र समाजिक न्यायले खुसी प्राप्त गर्न सकिने भएकाले आफूले त्यसलाई ध्यान दिएर काम गरिरहेको जनाउँदै मुख्यमन्त्री शर्माले सहकारीका क्षेत्रमा देखिएका समस्या तीन तहका सरकारले आवश्यक नीतिमार्फत समाधान गर्न सकिने बताए । ‘यसमा देखिएका समस्या, कमजोर व्यवस्थापन आदिमा निर्मम भएर समाधान गरेर अघि बढ्नुपर्दछ’, उनले भने, ‘कर्णालीमा सहकारीमा सुशासन कायम गर्न सङ्घ, प्रदेश र स्थानीय तहमा सहकार्य गरेर मात्र सम्भव छ ।’

सहकारी, निजी र सरकारी निकायको सहकार्यबाट आर्थिक क्रियाकलापलाई चलायमान गर्न राज्यले तीनखम्बे नीति अवलम्बन गरेको मुख्यमन्त्री शर्माले बताए । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले अहिलेको अवस्थामा सहकारीमा आबद्ध सदस्यहरूको विश्वास जित्नु सहकारीका लागि चुनौतीपूर्ण भएको बताए । उनले भने, ‘सहकारीका सिद्धान्तविपरीतका कार्यले सहकारीप्रति बचतकर्ताको विश्वास घट्दै गएको छ ।’ पुँजी, प्रविधि र प्रतिभाको केन्द्रीकरण सहकारीलाई बनाउँदै लगेर नीति र व्यवहारिक समस्या समाधान गर्नुपर्ने उनको भनाइ थियो ।


क्याटेगोरी : समाचार, सहकारी–कृषि

तपाईको प्रतिक्रिया