Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसिया बैंकमा संकट

एनआईसी एसिया बैंकमा संकट

अनियमितताको भारी नबोक्ने भन्दै पाण्डेको राजीनामा


बैंकले नियम मिचेर गलत ढंगले अगाडि बढ्न खोजेकोले अनियमितताको साक्षी नबन्ने भन्दै एनआईसी एसिया बैंकका डेपुटी सीईओ सुधिरनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् ।२०४६ साल मंसिरमा तत्कालीन नेपाल ग्रीन्डलेज बैंक लिमिटेडबाट बैंकिङ क्षेत्रमा प्रवेश गरी एनआईसी एसिया बैंकको विभिन्न विभागदेखि विभागीय प्रमुख हुँदै २०७५ मंसिरदेखि डेपुटी सीईओको रुपमा कार्यरत रहँदै आएका पाण्डेले बैंकभित्र अनियमितता हुन थालेको र त्यसलाई छल्न राष्ट्र बैंकको नियम तथा निर्देशनलाई समेत मान्न नसकिने अवस्था आएकोले बैंकको डेपुटी सीईओबाट राजीनामा दिएको स्रोतले दाबी गरेको छ । स्रोतका अनुसार गत बुधबार बैंकका सीईओ रोशनकुमार न्यौपानेसमक्ष राजीनामा बुझाएका डेपुटी सीईओ पाण्डे बैंकभित्र नियमसंगत काम गर्नुपर्ने र राष्ट्र बैंकको नियम तथा निर्देशनहरुलाई पालना गरी अघि बढ्नुपर्ने लाइनमा थिए भने सीईओ न्यौपाने बढी प्रचारमुखी हुनुपर्ने र त्यसको लागि बैंकले जस्तो पनि काम गर्नुपर्छ भन्ने लाइनमा थिए । पछिल्लो समय बैंक नियामकीयहरुको निर्देशन उल्लंघन गर्दै अगाडि बढिरहेको पाइएपछि राष्ट्र बैंकले निगरानी बढाएको थियो । राष्ट्र बैंकले एनआईसी एसिया बैंकले बढी नाफा आर्जन गर्ने उद्देश्यले अनुत्पादकत्व क्षेत्र घरजग्गामा बढी लगानी गरेको र त्यो पनि राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी रहेको पाइएपछि सचेत समेत गराउँदै आएको थियो ।

राष्ट्र बैंकले गरेको सुपरीवेक्षणमा बैंकले कर्जा प्रवाहका लागि प्राथमिकतामा राखेको क्षेत्रहरुमा भने कम लगानी गरेको पाइएको थियो । बैंकभित्र आनियमिततासँगै ओभरभ्यालुएसन गरी कर्जा दिई बैंक नै संकटमा गएको चर्चाका बीच बैंककै उच्च तहको कर्मचारीको राजीनामा आएपछि बैंक सञ्चालक समिति मात्र नभई राष्ट्र बैंकले समेत चासो राखेको थियो ।
पछिल्लो समय व्यापकरुपमा विभिन्न काण्डहरुले आम जनतामा नकारात्मक सन्देश प्रवाह हुँदै आएकै समयमा बैंकभित्रको असन्तुष्टिकै कारण बैंककै उच्च तहका कर्मचारीको राजीनामा आएसँगै यसले थप आम लगानीकर्ताको साथै निक्षेपकर्तालगायत जनतामा नकारात्मक सन्देश जाँदा बैंक नै समस्यामा जाने भन्दै बैंक सञ्चालक समितिले पाण्डेलाई राजीनामा फिर्ता लिन आग्रह गर्दै आएकोमा शनिबार राजीनामा अस्वीकृत गरेको छ । कुनै समय आफूलाई नम्बर वान दाबी गर्ने आक्रामक प्रचारमा मात्रै करोडौँ खर्च गरेको बैंकको अहिले खराब कर्जा व्यापकरुपमा बढेसँगै हरेक दिन विभिन्न राष्ट्रिय दैनिक पत्रिकाहरुमा व्यापकरुपमा धितो लिलामीको सूचनाहरु प्रकाशित गर्दै आएको छ । बैंकभित्रको अनियमिततालाई ढाकछोप गर्नकै लागि अनियमितताको साक्षी नबस्ने भन्दै राजीनामा दिएका कर्मचारीलाई जबरजस्ती बैंकमा राख्नु अर्को अर्थपूर्ण रहेको छ ।

बैंकको सञ्चालन खर्च बढ्दै जाँदा खर्च धान्नै मुस्किल हुनुको साथै आम जनतामा नकारात्मक सन्देश प्रवाह हुँदै जाँदा निक्षेप संकलनमा समेत गम्भीर धक्का लागेकोले शाखाहरुमा बसेर काम गर्न नसक्ने अवस्था रहेको रिपोर्टिङ समेत विभिन्न शाखाहरुले गर्नेगरेको स्रोतले दाबी गरेको छ । ओभरभ्यालुएसन गरेर कर्जा प्रवाह भएका ऋणहरु उठ्ने सम्भावना कम हुँदै जाँदा लिलामी गर्न समेत गाह्रो भएकोले बैंकले सञ्चालन खर्च समेत धान्न नसकिएको भन्दै तीन सय ६० शाखा, छ सय ३४ एटीएम, एक सय १० वटा विस्तारित काउन्टर र ६१ शाखारहित इकाइमध्ये ५० भन्दा बढी शाखाहरु दर्जनबढी एक्सटेन्सर काउन्टर बन्द गर्न पाऊँ भन्दै राष्ट्र बैंकमा निवेदन दिनुका साथै स्स्थनीय सरकार र मातहतका सरकारी कार्यालयमा भएका विस्तारित काउन्टरहरुसमेत धमाधम बन्द गरिरहेको छ । बैंकले ऋणीहरुको प्राइम लोकेसनका धितोहरुमा कर्जा दिएसँगै धितो जबरजस्ती हडप्ने नियत राख्दै एनपीए गरेका त्यस्ता धितोहरुसमेत लिलामी नगरी आफैँ राख्ने गरेको पाइएको छ । बैंकको पुससम्ममा १९ वटा वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी करिब तीन अर्ब ४१ करोड रुपैयाँको गैरबैंकिङ सम्पत्ति पुगेको छ । बैंकको गतआवको पुससम्ममा १७४ दशमलव ५८ प्रतिशत रहेको प्रोभिजन अहिले बढेर २२७ दशमलव शून्य ४ प्रतिशत पुगेको छ ।

बैंकको गतआवको दोस्रो त्रैमासको तुलनामा चालू आवको दोस्रो त्रैमाससम्ममा प्रतिसेयर आम्दानी ३१ दशमलव १८ रुपैयाँले घट्नुको साथै गतवर्षको पुससम्ममा ५६ दशमलव ७७ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी चालू आवको पुससम्ममा २५ दशमलव ५९ रुपैयाँ मात्र रहेको छ । बैंकको गतआवको दोस्रो त्रैमासमा शून्य दशमलव ६१ प्रतिशत रहेको खराब कर्जा चालू आवको सोही अवधिमा १ दशमलव १९ प्रतिशत पुगेको छ । बैंकका सीईओ रोशनकुमार न्यौपाने र उच्च तहका कर्मचारी अर्जुन खनियाको मिलेमतोमा आकर्षक नारामा सुपर बम्पर भन्दै आम जनतामा भ्रम फैलाएर आकर्षित गर्ने र निक्षेपकर्ताहरु आइसकेपछि पहिलेको बम्पर उपहारलाई बिर्सिएर फेरि नयाँ बम्पर अफर भन्दै अर्को अफर ल्याउने र सोझा जनताहरुलाई झुक्याउने कार्य गर्दै आउँदा समेत राष्ट्र बैंक मुकदर्शक भएर बसेको पाइएको छ र यस्तो कार्यको साक्षी बस्न नसकिने भन्दै डेपुटी सीईओ असन्तुष्ट रहँदै आएका थिए भने त्यसैको परिणाम उनको राजीनामा भएको स्रोतको दाबी छ ।

नक्कली नोट छपाइमा एनआईसीको संलग्नताको आशंका
काठमाडौं ,नक्कली नोट छपाइमा एनआईसी एसिया बैंकको संलग्नताको आशंकामा प्रहरीले छानबिन गरेको छ । सोमबार बिहान सुनसरीको इनरुवाबाट बरामद भएको एक करोड ८२ लाख ५१ हजार नक्कली नेपाली रुपैयाँको नोटको सबै बिटोमा एनआईसी एसिया बैंकको लोगोसहितको ट्याग फेला परेपछि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गर्दा बैंक पनि तानिएको हो ।

पूर्वबाट पश्चिम आउँदै गरेको भारतीय नम्बरप्लेटको स्कारपियो गाडीभित्र कालो झोलामा राखिएको अवस्थामा नेपाली नयाँ हजार दरका नोट १८ हजार दुई सय ५१ थान फेला परेको थियो । उक्त पैसा छानबिनको क्रममा नक्कली भएको प्रहरीले पुष्टि गरेको थियो । उक्त गाडी भारतीय नागरिकले चलाएर आउँदै थिए । तर, गाडीमा भएका अर्का व्यक्ति भने भागेका थिए । बैंकले उक्त नोटमा लगाइएको ट्याग नक्कली भएको दाबी गरे पनि त्यसमा प्रहरीले सत्यता पत्ता लगाउन छानबिन गरिरहेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीले सोमबार पत्रकार सम्मेलन गरी नक्कली हजार दरका नोट, गाडी र गाडी चालक भारतीय नागरिकलाई सार्वजनिक गरेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार, समाचार, सुलसुले
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया