Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार११ अर्बभन्दा बढी निक्षेप रहेको सहकारीका अध्यक्ष उप्रेती बेपत्ता

११ अर्बभन्दा बढी निक्षेप रहेको सहकारीका अध्यक्ष उप्रेती बेपत्ता


काठमाडौं । सहकारीको क्षेत्रमा पर्यायवाची नामजस्तै बनिसकेका आइडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती बेपत्ता भएका छन् ।

नेकपा एमालेको सहकारी तथा गरिबी निवारण विभागको सचिव समेत रहेका उप्रेती लामो समयदेखि सहकारी क्षेत्रमा क्रियाशील थिए ।

स्रोतका अनुसार उप्रेती आफू अध्यक्ष रहेको संस्थाहरूलाई विनाजानकारी गायब भएपछि उनको खोजबिन सुरु भएको थियो भने सुरुका दिनमा बिरामी भएर आराम गरेको हल्ला गरिएको थियो ।

उप्रेती निकट स्रोतका अनुसार आफैँले सहकारीबाट लिएको व्यक्तिगत कर्जाको साँवाब्याज तिर्न नसक्ने र भएको संस्था समेत संकटग्रस्त अवस्थामा पुगेपछि उनी केही समयदेखि एकोहोरो हुने मौन रहनेजस्तो व्यवहार देखाउँदै आएका थिए ।

विभिन्न सहकारीहरूलाई मर्ज गर्दै हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बनाएर चलाउँदै आएका उप्रेतीले पछिल्लो समय हाम्रो सगरमाथामा आइडल यमुना बहुउद्देश्यीय सहकारी संस्था, हाम्रो बहुउद्देश्यीय सहकारी संस्था घेदुङ बहुउद्देश्यीय सहकारी संस्थाको साथै नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्थालाई मर्ज गरेर आइडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको नाममा कारोबार गर्दै आएका थिए भने संस्थामा ११ अर्बभन्दा बढी निक्षेप रहेको बताइएको छ ।

स्रोतका अनुसार ११ अर्ब रुपैयाँभन्दा माथि निक्षेप रहेको संस्थाका अध्यक्ष उप्रेती आइडल यमुना बहुउद्देश्यीय सहकारी समेत संकटग्रस्त अवस्थामा पुगेपछि नेपालमा पक्राउ पर्ने डरले भागेर भारत गई बसेका छन् ।

सहकारीमा जनताको अर्बौँ रुपैयाँ दुरूपयोग गरेको सार्वजनिक हुन थालेपछि आफूले विश्वास गरेको पार्टी नेकपा एमालेले समेत कारबाही अगाडि बढाएपछि उप्रेती सुटुक्क भारत पुगेका हुन् । उनलाई एमालेले पार्टीको सिद्धान्तबमोजिम काम कारबाही नगरेकोले कारबाही पक्रिया अगाडि बढाएको एमाले नेता तथा नेकपा एमाले सहकारी तथा गरिबी निवारण विभागका संयोजक खगराज अधिकारीले बताए ।

उप्रेती भारत पुगेसँगै सहकारी थप संकटमा पर्ने देखिएको छ । सहकारीको करोडाँैका कर्जाहरू विनाधितो उप्रेतीको आदेशमा दिने गरिनुका साथै उप्रेतीले समेत अपचलन गरेको स्रोतले दाबी गरेका छ ।

सहकारीलाई व्यक्तिगत संस्था जसरी हालिमुहाली गर्दै आएका उप्रेती भागेर दिल्ली पुगेसँगै अन्य सहकारीका अध्यक्षहरू समेत पक्राउ पर्ने डरले भाग्न थालेका छन् ।

सरकारले राजनीतिक पहुँचको आडमा सुरेन्द्र भण्डारी कार्यकारी निर्देहक रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थालाई जसरी संकटग्रस्त घोषणा गर्ने र त्यसका सञ्चालकहरूलाई खुलेआम घुम्न दिने रणनीति लिएसँगै उप्रेती पनि राजनीति पहुँच बढाएर पक्राउ नपर्ने ग्योरन्टी भएसँगै नेपाल आउने स्रोतले दाबी गरेको छ । यसको लागि उनले नेपालमा केही राजनीतिक दलका नेताहरूसम्म त्यसबारेमा जानकारी गराएका छन् ।


क्याटेगोरी : समाचार, सहकारी–कृषि
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया