Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआफ्नो बौद्धिक सम्पत्तिको सुरक्षा गर्दै नेपाली उत्पादनकर्ता

आफ्नो बौद्धिक सम्पत्तिको सुरक्षा गर्दै नेपाली उत्पादनकर्ता


काठमाडौं । नेपाली उत्पादनको बौद्धिक सम्पत्ति सुरक्षा गर्ने क्रम बढेको छ । नेपाली उत्पादनकर्ताहरूले आफ्नो उत्पादनको संरक्षण गर्न बौद्धिक सम्पत्ति (ट्रेडमार्क, पेटेन्ट र डिजाइन) सुरक्षित गर्नेक्रम बढेको हो । स्वदेशी उत्पादनका ब्रान्ड नामहरू सोनामा, लुक्ला, रोयल सुजलगायतले आफ्नो नामको बौद्धिक सम्पत्ति ट्रेडमार्क, पेटेन्ट र डिजाइनको अधिकारहरू उपभोग गर्दै आएका छन् ।

उत्पादनकर्ताले आफ्नो उत्पादनको ट्रेडमार्क, पेटेन्ट र डिजाइनको अधिकार लिएको खण्डमा स्वदेशमा मात्र नभई विश्वबजारमा पुग्दा समेत उनीहरूले पहिचान बनाउन सहज हुन्छ । बौद्धिक सम्पत्तिको महत्वबारे जानकारी हुँदै गएपछि उत्पादनकर्ताले ट्रेडमार्क, पेटेन्ट र डिजाइनलगायतका चिह्न तथा संकेत लिनेको संख्यामा वृद्धि भएको उद्योग विभागले बताएको छ ।

विभागका अनुसार मासिक दर्जनभन्दा बढी उत्पादनकर्ताहरू ट्रेडमार्क, पेटेन्ट र डिजाइन आवश्यक परेको भन्दै निवेदन दिन आउनेगरेका छन् । नेपाली उत्पादनकर्ताहरूले पेटेन्ट र डिजाइनको तुलनामा ट्रेडमार्कका लागि आवेदन दिनेको संख्या बढी रहेको विभागका अधिकारीहरू बताउँछन् । स्वदेशी उत्पादनकर्ताले ट्रेडमार्क, पेटेन्ट र डिजाइनका लागि आवेदन दिँदा डिजाइन गरिएको चिह्न तथा संकेत समेत स्वदेशीपन झल्किने किसिमको हुनुपर्छ । विभागका अनुसार चालू आर्थिक वर्षको फागुनसम्म तीन हजार आठ सय १३ वटा ट्रेडमार्क दर्ता भएका छन् । फागुनमा मात्र छ सय ५३ वटा ट्रडमार्क र एउटा प्याटेन्ट दर्ता भएको छ । ट्रेडमार्क दर्ताको संख्या भने हरेक वर्ष बढ्दो रहेको विभागले जनाएको छ । विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा तीन हजार दुई सय ५४ वटा, आर्थिक वर्ष २०७८/७९ मा दुई हजार नौ सय ७९ वटा, आर्थिक वर्ष २०७७/७८ मा दुई हजार चार सय तीनवटा ट्रेडमार्क दर्ता भएको थियो । हालसम्म ६० हजारभन्दा बढी ट्रेडमार्क दर्ता भएको विभागले जनाएको छ ।

विभागकी पूर्वनिर्देशक रमिला भण्डारी विशेष ध्यान नदिँदै आएको बौद्धिक सम्पत्ति (ट्रेडमार्क, पेटेन्ट र डिजाइन)को हकमा नेपाली उत्पादनकर्ताहरूले पछिल्लो समय आफ्नो उत्पादनको अधिकार रक्षा गर्न अग्रसर भएसँगै ट्रेडमार्क, पेटेन्ट र डिजाइन दर्तामा वृद्धि भएको बताउँछिन् । स्वदेशी उत्पादनकर्ताले आफ्नो उत्पादनको नक्कल नगरियोस्, बजार सुरक्षा होस्, पहिचान होस् भन्ने उद्देश्य राखी बौद्धिक सम्पत्तिको सुरक्षामा ध्यान दिन थालेको उनको भनाइ छ । आफ्नो उत्पादनसँगै ट्रेडमार्क, पेटेन्ट र डिजाइन लिएर आउने उत्पादनकर्ता उद्योगीहरूको संख्या बढेको विभागले बताएको छ ।

हाल बौद्धिक सम्पत्ति दर्ताको लागि करिब एक लाख आवेदन परेको विभागका कानुन शाखाका उपसचिव दिपक घिमिरेले जानकारी दिए । यसअघि बौद्धिक सम्पत्ति दर्तालाई लिएर स्वदेशीको तुलनामा विदेशी उत्पादनकर्ताहरू ठूलो संख्यामा आउने गरेका थिए । तर, पछिल्लो समय विदेशीसँगै स्वदेशी उत्पादनकर्ताहरू समेत बौद्धिक सम्पत्तिको रक्षा गर्नका लागि विभागसमक्ष आउने गरेको उनले बताए ।

विदेशी उत्पादनकर्ताहरूको हकमा भने अन्तर्राष्ट्रिय ख्यातिप्राप्त ब्रान्डहरू बौद्धिक सम्पत्ति दर्ता गर्न आउने गरेका छन् । उनीहरूले आफ्नो उत्पादनको ट्रेडमार्क, पेटेन्ट र डिजाइन तथा चिह्न अन्य उत्पादनकर्ताहरूले नक्कल नगरुन् भनेर विभाग पुग्नेगरेका छन् । यसरी बौद्धिक सम्पत्तिको सुरक्षा गर्नेमा नेपालमा रहेको बहुराष्ट्रिय कम्पनीहरूको उत्पादन जस्तोः कोकाकोला, पेप्सी, युनिलिभर, अमुल, नाइक, कान्साइ पेन्टलगायत छन् ।

नेपाली उत्पादनकर्ताहरूले भने बौद्धिक सम्पत्तिको रक्षा नगर्दा आफ्नो उत्पादन समेत अन्य मुलुकका व्यवसायीहरूले पहिचान दिएर विश्वबजारमा पुर्याउने गरेका छन् । विशेषगरी नेपालमा उत्पादित सामग्रीहरूलाई भारतीय व्यवसायीहरूले आफ्नो उत्पादन भनी विविध चिह्न राखी विश्वबजारमा पुर्याउनेगरेका छन् ।

विभागमा हालसम्म करिब ६० हजार ट्रेडमार्क दर्ता भएका छन् । जसमध्ये करिब ३० हजार स्वदेशी र २५ हजार विदेशी छन् । करिब तीन सयवटा पेटेन्ट तथा डिजाइन दर्ता भएका छन् । ट्रेडमार्क, डिजाइन र पेटेन्ट दर्ताका लागि आएपछि विभागले दाबी/विरोध गर्नका लागि सूचना आह्वान गर्दछ । उक्त सूचना आह्वान गरेको खण्डामा दाबी/विरोध नआएमा बौद्धिक सम्पत्तिको दर्ता गर्छ ।

नेपाली उत्पादनकर्ताहरूमा बौद्धिक सम्पत्तिसम्बन्धी चेतना उजागर भए पनि नक्कल गर्ने प्रवृत्ति भने कायम रहेको निजी छाता संगठन नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ । नेपालको अर्थतन्त्रमा विश्वका उपभोक्तामाझ परिचित चिह्न, डिजाइन ट्रेडमार्क नक्कल गरी आफ्नो उत्पादनमा राख्ने प्रवृत्तिमा कमी आए पनि त्यसको पूर्ण बन्देज हुन नसकेको महासंघका निवर्तमान अध्यक्ष श्यामप्रसाद गिरीले बताएका छन् ।

नेपालको अर्थतन्त्रमा घरेलु तथा साना उद्योगको योगदान ५० प्रतिशतभन्दा बढी भए पनि यसले बौद्धिक सम्पत्तिको विषयमा विचार पुर्याएको पाइँदैन । जसले गर्दा यस्ता उद्योगबाट उत्पादित सामग्रीहरू अन्य मुलुकका व्यवसायीले आफ्नो पहिचान राखेर विश्वबजारमा पुर्याउने सम्भावना छ ।

विभागमा भारतीय व्यवसायीले नेपाली उत्पादन नक्कल गरेको भनी उजुरी आएको छ । नेपालमा लोकप्रिय बनेको चोकोफन चक्कलेट, रसिलो चक्कलेट, एमडीएच मसलालगायतका उत्पादनमा नेपाली उत्पादनकर्ता र भारतीय उत्पादनकर्ताबीच विवाद देखिएको छ । नेपाली उत्पादनकर्ताहरूले चोकोफन चक्कलेट, रसिलो चक्कलेट, एमडीएच मसला आफ्नो उत्पादन भएको भन्दै विभागसमक्ष उजुरी दिएका छन् । विभागले चोकोफन नक्कली उत्पादन चोकोज गरेको भन्दै भारतीय उत्पादनमा रोक लगाएको छ भने एमडीएच मसलाको हकमा नेपाली उत्पादन भएको भन्दै भारतीय पक्षले फैसला चित्त बुझाएको छ । करिब दुई महिनाअगाडि गरेको फैसलामा भारतीय व्यवसायीहरूले एमडीएच उत्पादनमा आफनो कुनै दाबी नहुने भन्दै फैसला स्वीकार गरेका हुन् । त्यस्तै रसिलो र चटपटे नामक उही स्वाद, आकार, रङ्ग, प्याकेजिङको विवादमा भने फैसला हुन बाँकी छ ।

उत्पादककर्ता (कलकारखाना तथा औद्योगिक प्रतिष्ठना)ले आफ्नो उत्पादित वस्तुको विषयमा उपभोक्तालाई सहज होस् भन्ने उद्देश्यका साथ तयार गरेको ट्रेडमार्क चिह्नसहित विभागमा निवदेन दिनुपर्छ । निवेदन दिएपछि उधोग विभागका दुई अधिकारीहरूले त्यसको प्रारम्भिक परीक्षणदेखि लिएर सारभूत परीक्षण गर्छन् । प्रारम्भिक परीक्षणका क्रममा उद्योग दर्ता, प्यान दर्ता, कम्पनीका सञ्चालक समीतिहरूको निर्णयलगायत हेरिन्छ भने सारभूत परीक्षणको क्रममा नाम, चिह्न, बनोट तथा सो ट्रेडमार्कको लागि आवेदन परेको छ/छैन वा स्वीकृति दिएको छ/छैन हेरिन्छ । ट्रेडमार्क, पेटेन्ट तथा डिजाइन विभागमा दर्ता भएपछि बोधार्थका लागि विभागबाट मन्त्रालय, उद्योग वाणिज्य महासंघ, व्यपार संघ, आन्तरिक राजस्वमा पठाइने प्रचलन छ । ट्रेडमार्क, पेटन्ट तथा डिजाइन विभागमा दर्ता भएपछि सबैको जानकरीको लागि विभागले वेबसाइटमा समेत राख्ने गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया