Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभगवती लेमिनेट्सको शंकास्पद आगलागी प्रकरणमा शिखर इन्स्योरेन्सको स्वीकृति

भगवती लेमिनेट्सको शंकास्पद आगलागी प्रकरणमा शिखर इन्स्योरेन्सको स्वीकृति


झापाको मेचीनगरस्थित ज्यामिरगढीमा रहेको भगवती लेमिनेट्समा भएको शंकास्पद आगलागीमा इन्स्योरेन्स गर्ने कम्पनी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले स्वीकृति दिएको छ । लेमिनेट्समा गत फागुन २८ गते बिहानै भयानक आगलागी भएको थियो । आगलागीको विस्तृत विवरण नआउँदै इन्स्योरेन्स गर्ने कम्पनी शिखर इन्स्योरेन्सले विस्तृत छानबिनअघि नै क्षतिपूर्ति दिने प्रक्रिया अगाडि बढाएसँगै लेमिनेट्सको शंकाष्पद आगलागीमा इन्स्योरेन्स कम्पनीको समेत संलग्नता हुन सक्ने आशंका गरिएको छ ।

स्रोतका अनुसार शिखर इन्स्योरेन्सका अध्यक्ष गौरभ अग्रवाल र प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिपप्रकाश पाण्डेको दबाबमा विस्तृत अनुसन्धान नहुँदै क्षतिपूर्ति दिने तयारी भएपछि सीईओ पाण्डेको भगवती लेमिनेट्ससँग विशेष सम्बन्ध रहेको आशंका गरिएको छ ।स्रोतका अनुसार मिलेमतोमा गरिएको आगलागीमा उद्योगको महत्वपूर्ण सामानहरू निकालिएको र अन्य मुख्य संरचनाहरू जलेर ध्वस्त भएका थिए । घना आवादी भएको गाउँको मध्यभागमा रहेको उद्योगमा भएको आगलागीले सिंगो गाउँ त्रसित बनेको थियो । बिहान लागेको आगो निभाउन दुई दिन लागेको थियो । राजस्व विभागको छानबिन छल्न उद्योगमा नक्कली आगलागी गराइएको स्रोतको दाबी छ । स्रोतका अनुसार लेमिनेट्समा हुने गरेको कच्चा र पक्का बिलको कारोबार र राजस्व विभागको छानबिनसमेत प्रभावित पार्नेगरी नक्कली आगलागी गराइएको थियो । उद्योगले करोडौं राजस्व हिनामिनाको थप अनुसन्धान नहोस् भनेर आगलागी गराइएको स्रोतको दाबी छ ।

त्यस्तै, बीमा कम्पनीको समेत मिलेमतोमा बीमाबापत आउने करोडौं रकम पचाउन खाली गोदाममा नक्कली आगलागी गरिएको स्रोतले दाबी गर्दै आएको छ । लेमिनेट्सका मुख्य सञ्चालक रजनीश कर्नानीलगायतको योजनामा नै उद्योगमा आगलागी भएको स्रोतले दाबी गरेको छ । कम्पनीले ठूलो क्षति भएको बताए पनि आगलागी हुनुअगाडि सम्पूर्ण मूल्यवान् सामानहरू गोदामबाट निकालिएको स्रोत बताउँछ । स्रोतका अनुसार कबाडी सामानहरू मात्र भएको अवस्थामा उद्योगमा आगलागी भएको थियो ।

लामो समयदेखि प्लाइउडको व्यापार गर्दै आएको भगवती लेमिनेट्सले वार्षिक एक अर्बभन्दा बढी कारोबार गर्ने कम्पनीले सरकारी संयन्त्रको आँखा छल्न कच्चा बिल अर्थात् नर्मल बिल र पक्का बिल अर्थात् भ्याट बिल गर्ने कार्यालयसमेत छुट्टाछुट्टै राखी कारोबार गर्दै आएको थियो । झापामा रहेको लेमिनेट्सको दुईवटा कार्यालयमध्ये मेचीनगरमा पक्का बिलको कारोबार गरी धुलाबारीमा रहेको अर्को कार्यालयबाट कच्चा बिलबाट कारोबार हुने गरेको स्रोत बताउँछ । नेपाली लगानीकर्ताको भनेर उद्योग खोले पनि मूल लगानीकर्ता भने भारतीय रहेका छन् । दोहोरो बिलको फण्डा खुल्नासाथ फसाउनकै लागि नेपालीहरूलाई हैसियतविनाको मालिक बनाएर राखिएको स्रोत बताउँछ ।

गत वर्ष मात्र राजस्व हिनामिनामा भगवती लेमिनेट्स उद्योगका तत्कालीन सञ्चालकहरू रजनीश कर्नानी, सन्तोष आचार्य, रतनलाल अग्रवाल, निर्मला कर्नानी, निर्मला सरिया, दीपेन्द्रकुमार अग्रवाल र रतनकुमार अग्रवाललगायतलाई राजस्व अनुसन्धान विभागले अनुसन्धानसमेत गरेको थियो । लामो समयसम्म अनुसन्धान गर्नुपर्ने फाइलहरू रोकिएपछि तत्कालीन समयमा राजस्व अनुसन्धान विभागको नियतमाथि समेत प्रश्न उठेको थियो । राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन २०७६ अनुसार राजस्व चुहावटको कसुर गरेमा त्यस्ता व्यक्ति र कम्पनीलाई बिगोको शतप्रतिशत जरिवाना वा कसुरको मात्रा हेरी पाँच वर्षसम्म कैद सजाय गर्ने व्यवस्था छ ।

ऐनअनुसार एक करोडसम्मको बिगोमा एक महिनादेखि छ महिनासम्म कैद हुने व्यवस्था छ । यसैगरी एक करोडदेखि पाँच करोड रुपैयाँसम्मको बिगोमा छ महिनादेखि एक वर्षसम्म कैद हुने व्यवस्था छ । त्यस्तो व्यक्तिबाट बिगो असुल वा जफत गरिने उल्लेख छ । तर यो सजाय भएन । उद्योग सन् २०१६ मा स्थापना भएको हो । १४ सय मजदुरले काम गर्ने यो उद्योगमा आधा दर्जनभन्दा बढी सञ्चालक छन् । विष्णु मधगोरिया र रजनीश कर्नानी भगवती लेमिनेट्सका मुख्य सञ्चालक हुन् ।


क्याटेगोरी : समाचार, सुलसुले
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया