Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसबैको मन जित्न सफल उदाहरणीय प्रशासकीय अधिकृत

सबैको मन जित्न सफल उदाहरणीय प्रशासकीय अधिकृत


पोसकान्त पोखरेल
बुटवल, असार १
मानिसहरूका स्वभाव धेरैका धेरै थरी हुन्छन् । कसैका स्वभाव सबैसँग मिल्ने खालका हुन्छन् भने कसैका केही सँगमात्र मिल्ने खालका हुन्छन् । जो व्यक्ति निस्वार्थ भावनाले आफ्नो कामलाई गति दिएको हुन्छ त्यो व्यक्ति सबैको प्रिय बन्दछ भने जसको काममा स्वार्थ लुकेको हुन्छ त्यो व्यक्तिका पछाडि कुरा काट्नेहरू धेरै हुन्छन् । स्वार्थी भावनाका व्यक्तिहरूले दृश्य वा अदृश्यरूपमा समाजमा नकारात्मक प्रभाव पारेका हुन्छन् । त्यस्तै निःस्वार्थी भावनाले शुद्धोधन गाउँपालिका रूपन्देहीमा सबैको प्रिय बनेर आफ्नो कार्यसम्पादन गरेका अनन्तपाणि मरासिनी शुद्धोधन गाउँपालिका रूपन्देहीका प्रमुख प्रशासकीय अधिकृत हुन् । २०३१ सालमा हालको मालारानी गाउँपालिकामा जन्मिएका मरासिनीले २०५३ सालबाट निजामति सेवामा प्रवेश गरेका हुन् । इतिहास तथा ग्रामिण विकासमा स्नातककोत्तर र कानुनमा एलएलबी गरेका मरासिनी एक कुशल अधिवक्ता समेत हुन् ।

संघीयता कार्यन्वयनमा आएसँगै गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा आएका मरासिनीले छोटो समयमै स्थानीयहरूको मन जित्न सफल भएका थिए । नयाँ जनप्रतिनिधी र नयाँ व्यवस्थामा कार्यसम्पादनमा देखिने चुनौतीहरूका बाबजुत पनि विवादरहित तरिकाले गाउँपालिकाको विकास निर्माणमा महत्वपूर्ण योगदान दिएका मरासिनीले गाउँपालिकामा पहिलो कार्यकाल २० महिना काम गरेका थिए । २० महिनापछि सरुवा भई श्रम कार्यालय बुटवलमा गएका मरासिनीलाई जनप्रतिनिधि तथा जनताको मागबमोजिम पुनः गत मंसिरमा प्रशासकीय अधिकृतको रूपमा दोस्रो कार्यकालको लागि आएका थिए । एक कार्यकाल सकेर गइसकेको प्रशासकीय अधिकृत दोस्रो कार्यकालका लागि सोही गाउँपालिकामा आएको सम्भवत जिल्लामै पहिलो हो ।

प्रचारप्रसारभन्दा काम ठूलो भएको बताउने मरासिनीले काम गरेपछि प्रचार नभए पनि फरक नपर्ने धारणा राख्दछन् । काम गरेपछि लोकप्रियाताको मिडियामा आउनै पर्छ भन्ने कुरा प्रतिअसहमत जनाउने मरासिनीले राम्रो गर्नेहरू भित्रभित्रै उचाइमा पुग्ने बताउँछन् । नीति नियम र कानूनको परिधिभित्र रही जनताको माझमा गरिने कामहरू बढी पारदर्शी र निष्पक्ष हुने धारणा राख्ने मरासिनीको कार्यशैली पनि सोही प्रकृतिकै छ । गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा आएसँगै शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकासलगायत चौतर्फी क्षेत्रका योजनाहरूलाई समावेश गरेर प्राथमिकताका आधारमा योजनाहरू कार्यन्वयनमा ल्याउन चाहना राख्ने मरासिनीले चालू आवसहित विगतका दुई आर्थिक वर्षहरूको कार्यसम्पादनले विकास निर्माणमा गाउँपालिकामा जग बसिसकेको बताउँछन् ।

पहिलो वर्ष ९७ प्रतिशत, दोस्रो वर्ष ९६ प्रतिशत र चालू आवमा ६०÷७० प्रतिशत विकास बजेट खर्च भएको र हुने बताउँदै मरासिनीले चालू आवमा सबै योजनाहरू सम्झौता भए पनि कोरोना भाइरस संक्रमणको खतराले सबै योजनाहरू कार्यन्वयनमा आउन कठिन हुने बताउँछन् । कृषि क्षेत्रमा उत्पादन वृद्धिका कार्यक्रहरू सञ्चालन गरी व्यावसायिक कृषिमा आकर्षण बढाउन विभिन्न खालका अनुदानका कार्यक्रमहरू ल्याएको गाउँपालिका दुध, तरकारी, अण्डालगायतका कृषि उत्पादनहरू निर्यात गर्ने गरेको मरासिनीले बताए । उनले भौतिक पूर्वाधारको विकास, गुणस्तरिय शिक्षा, व्यक्तित्वको विकास, जनचेतनाको अभिवृद्धि, प्रभावकारी स्वास्थ्य सेवालगायत जनताका साना साना आवश्यकताहरूलाई पूर्ण गराउँदै अन्य ठूला आवश्यकताहरू पूर्तिको लागि योजनाबद्ध रूपमा लागेको बताए ।

अनियमिततासम्बन्धी उठ्नसक्ने आवजहरूलाई मध्यनजर गर्दै र खर्चलाई पारदर्शी रूपमा देखाउन गाउँपालिकाको सबै खर्च, राजस्व तथा आयव्यय विवरण अनलाइन सिस्टममा राख्ने गरेको बताउँदै मरासिनीले चालू आर्थिक वर्षमा ठेक्कापट्टा भैसके पनि स्वार्थी भावनाले प्रेरित केही स्थानीयहरूको अवरोधको कारण तीन करोड नौ लाख रूपैयाँबराबरको नदिजन्य पदार्थ उत्खनन् गर्न नसकिएको बताए । उनले स्थानीयले के–कति कारणले कसको उक्साहटमा विरोध गर्नुभयो थाहा छैन । उक्त नदिजन्य पदार्थ बिक्रीबापतको रकम गाउँपालिकाकै विकासको लागि लागाइन्छ । आन्तरिक आम्दानीका स्रोतहरूमध्ये सबैभन्दा धेरै आम्दानी हुने स्रोत हो नदीजन्य पदार्थ तर अवरोधका कारण गाउँपालिकाको ठूलो आम्दानी गुम्यो । जबसम्म विभिन्न बाहनामा यस्ता अवरोधहरू सृजना हुन्छन् तबसम्म हामीले सोचेको विकास गर्न सक्दैनौं । एकातिर स्थानीय अवरोध अर्कोतिर संघीय र प्रदेश सरकारको नीतिगत व्यवस्थामा अंकुश दुवैले स्थानीय तहहरूको विकासमा अवरोधहरू सृजना गरेको छ । जुन कुराहरू सदाको लागि अन्त्य हुनु उत्तिकै जरुरी छ ।

कोरोना भाइरस संक्रमणकालीन अवस्थामा पनि प्रत्येक दिन कार्यालय आएर स्थानीयमा देखिने समस्याहरू समाधानको लागि राति अबेरसम्म काम गरेर बस्ने गरेका मरासिनीले चालू आवमा गाउँपालिकाको प्रशासनिक भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको बताए । उनले भने– थप दुईवटा वडा कार्यालयहरू निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ भने अर्को एउटा वडा कार्यालय निर्माणको कार्यादेश भैसकेको छ । दुई स्वास्थ्य चौकी निर्माणको लागि कार्यादेश दिइसकेको छ भने तीन स्वास्थ्य चौकीमा प्रभावकारी स्वास्थ्य सेवामा लागि कर्मचारी छनौटको काम सकिएको छ । संगठन तथा व्यावस्थापन सर्वेक्षण अन्तिम चरणमा पुगेको छ । २८ वटा ऐन नियम र कार्यविधिहरू निर्माण भैसकेका छन् भने अन्य शिक्षा, कृषि, सडकलगायतका क्षेत्रहरूका योजनाहरू पनि कार्यन्वयनमा आएका छन् ।

गाउँपालिकाको विकासका लागि सहकार्य र समन्वयलाई बढी प्राथमिकता दिने मरासिनी अपवादबाहेक सबै कुराहरूलाई सहजै समाधान गर्नसक्ने क्षमता छ । चाहे कानुनी व्यवस्था माथि चर्चा गरेर हुन्छ चाहे अन्य कुरा प्रभावकारी योजना ल्याएर हुन्छ, सबै कर्मचारी र जनप्रतिनिधिहरूलाई एकमत गराएर विकास निर्माणका कार्यहरू सञ्चालन गर्नसक्ने उनीमा एउटा उदाहरणीय क्षमता छ । जसले गर्दा उनी गाउँपालिकाबासीहरूको मन मष्तिस्कमा बस्न सफल भएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया