Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारव्यापारघाटा १२ प्रतिशतले घटेर तीन खर्ब ६२ अर्बमा सीमित

व्यापारघाटा १२ प्रतिशतले घटेर तीन खर्ब ६२ अर्बमा सीमित

चार महिनामा ४० अर्ब २० करोडको सामान निर्यात हुँदा चार खर्ब दुई अर्बको आयात


काठमाडौं ।
पछिल्लो समय मुुलुकको वैदेशिक व्यापारघाटामा कमी आएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी चार महिनाको प्रतिवेदनअनुसार कुल वस्तु व्यापारघाटा १२ दशमलव चार प्रतिशतले घटेर तीन ६२ अर्ब २९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा आठ दशमलव नौ प्रतिशतले कमी आएको प्रतिवेदनमा उल्लेख छ ।

चालू आर्थिक वर्षको चार महिनामा कुल वस्तु निर्यात १० दशमलव आठ प्रतिशतले बढेर ४० अर्ब २० करोड पुगेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २३ दशमलव नौ प्रतिशतले बढेको थियो । चालू आवको चार महिनामा कुल वस्तु आयात पनि १० दशमलव छ प्रतिशतले घटेर चार खर्ब दुई अर्ब ४९ करोड रुपैयाँमा कायम भएको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात छ दशमलव नौ प्रतिशतले घटेको थियो ।

गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः १४ दशमलव नौ प्रतिशत र छ दशमलव पाँच प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ ५९ दशमलव दुुई प्रतिशतले घटेको छ । वस्तुगत आधारमा अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), चाउचाउ, आयुर्वेदिक औषधिलगायतका वस्तुको निर्यात बढेको बढेको भए पनि पाम तेल, दाल, जस्तापाता, हस्तकलाका सामानहरु, छाला लगायतका वस्तुको निर्यात घटेको छ ।

राष्ट्र बैंकका अनुसार वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः तीन दशमलव एक प्रतिशत, २५ प्रतिशत र १९ दशमलव आठ प्रतिशतले घटेकोे छ । वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, खाने तेल, उपचारका साधन तथा पार्टपुर्जालगायतका वस्तुको आयात बढेको छ । पेट्रोलियम पदार्थ, हवाइजहाज तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुर्जालगायतका वस्तुको आयात भने घटेको छ ।

चालू आवको चार महिनामा निर्याततर्फ सुख्खा बन्दरगाह, तातोपानी, कञ्चनपुर र रसुवा भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यातमा वृद्धि आएको छ । आयाततर्फ भैरहवा, विराटनगर, नेपालगञ्ज, कृष्णनगर र कैलाली भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा निर्यात–आयात अनुपात १० प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात आठ दशमलव एक प्रतिशत रहेको थियो । वार्षिक विन्दुगत आधारमा २०७७ कात्तिक महिनामा भन्सार तथ्यांकमा आधारित निर्यातको एकाइ मूल्य सूचकांक शून्य दशमलव नौ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकांक चार दशमलव दुई प्रतिशतले घटेको छ । २०७६ कात्तिक महिनामा पाँच दशमलव नौ प्रतिशतले बढेको व्यापारको शर्त २०७७ कात्तिक महिनामा पाँच दशमलव तीन प्रतिशतले बढेको छ । समीक्षा अवधिमा खुद सेवा आय १५ अर्ब ६४ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २ अर्ब ४९ करोडले घाटामा रहेको थियो ।

सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ९३ दशमलव एक प्रतिशतले कमी आई एक अर्ब ८८ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २७ अर्ब १४ करोड रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण व्यय ६८ दशमलव छ प्रतिशतले कमी आई आठ अर्ब तीन करोड कायम भएको छ । यसमध्ये शिक्षातर्पmको व्यय छ अर्ब ८० करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय २५ अर्ब ५९ करोड रहेकोमा शिक्षातर्फको व्यय १२ अर्ब ११ करोेड रहेको थियो ।

चार महिनामा भित्रियो तीन खर्ब ३७ अर्ब रेमिट्यान्स : कोभिड १९ को महामारीको समयमा पनि वैदेशिक रोजगारीबाट प्राप्त आय रेमिट्यान्स अर्थात् विप्रेषण आप्रवाह बढेको छ । राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो चार महिनाको अवधिमा विप्रेषण आप्रवाह ११ दशमलव दुई प्रतिशतले बढेर तीन खर्ब ३७ अर्ब ७२ करोड रुपैयाँ पुुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह दुई दशमलव आठ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह छ दशमलव चार प्रतिशतले वृद्धि भई दुई अर्ब ८५ करोड पुगेको छ ।

अघिल्लो वर्ष यस्तो आप्रवाह एक दशमलव नौ प्रतिशतले घटेकोे थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७५ दशमलव एक प्रतिशतले कमी आई १९ हजार दुई सय ५१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या पाँच दशमलव छ प्रतिशतले बढेको थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६७ दशमलव छ प्रतिशतले कमी आई २५ हजार नौ सय ३१ रहेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या नौ दशमलव एक प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आठ दशमलव आठ प्रतिशतले वृद्धि भई तीन खर्ब ७३ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर दुई दशमलव नौ प्रतिशतले घटेकोे थियो ।

चालू खाता २० अर्ब ४६ करोडले बचतमा, खुद वैदेशिक लगानीमा २३ दशमलव नौ प्रतिशतले गिरावट
चालू खाता बचतमा देखिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी चार महिनाको प्रतिवेदनअनुसार यस अवधिमा चालू खाता २० अर्ब ४६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ३४ अर्ब १२ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३० करोड ८ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा १७ करोड ८ लाखले बचतमा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर नौ दशमलव तीन प्रतिशतले कमी आई चार अर्ब १५ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २३ दशमलव नौ प्रतिशतले कमी आई तीन अर्ब ७५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर चार अर्ब ५७ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी चार अर्ब ९२ करोड रहेको थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति एक खर्ब १० अर्ब ६५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २७ अर्ब २९ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २४ करोड ८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ९३ करोड १७ लाखले बचतमा रहेको छ ।

विदेशी मुद्रा सञ्चिति १५ खर्ब नाघ्यो : विदेशी मुद्राको सञ्चिति १५ खर्ब रुपैयाँ नाघेको छ । राष्ट्र बैंकका अनुसार २०७७ असार मसान्तमा १४ खर्ब एक अर्ब ८४ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति सात दशमलव चार प्रतिशतले बढेर २०७७ कात्तिक मसान्तमा १५ खर्ब छ अर्ब ६ करोड पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७७ कात्तिक मसान्तमा आठ दशमलव छ प्रतिशतले बढेर १२ अर्ब ६५ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा १२ खर्ब २६ अर्ब १२ करोड रहेकोमा २०७७ कात्तिक मसान्तमा आठ दशमलव छ प्रतिशतले बढेर १३ खर्ब ३२ अर्ब छ करोड रुपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा एक खर्ब ७५ अर्ब ७१ करोड रहेकोमा २०७७ कात्तिक मसान्तमा एक प्रतिशतले कमी आई एक खर्ब ७३ अर्ब ९९ करोड कायम भएको छ । २०७७ कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३ दशमलव दुई प्रतिशत रहेको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७/०७८ को चार महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५ महिना चार दिनको वस्तु आयात र १४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया