Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकरोडौँ रुपैयाँ भ्याटछली गरेको आरोपमा वरुण वेभरेज नेपालका प्रमुख कार्यकारी अधिकृत पक्राउ

करोडौँ रुपैयाँ भ्याटछली गरेको आरोपमा वरुण वेभरेज नेपालका प्रमुख कार्यकारी अधिकृत पक्राउ


काठमाडौं ।
नक्कली भ्याटबिलको प्रयोग गरी करोडौँ रुपैयाँ राजस्व छली गरेको आरोपमा भारतीय नागरिकको लगानीमा सञ्चालित वरुण वेभरेज नेपाल प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविण अग्रवाल पक्राउ परेका छन् । नेपालका एकमात्र अर्बपति भारतीय मुलका नेपाली नागरिक विनोद चौधरीले एक उच्च पदस्थ सरकारी अधिकारीलाई लण्डन लगेर वेभरेजको नक्कली भ्याटबिल काण्डलाई लेनदेनमा सेटल गराउने तयारी गरिरहेको बेला सीईओ अग्रवाल पक्राउ परेका हुन् ।

राजस्व अनुसन्धान विभागले भ्याटछली गरेको आरोपमा मुद्दा दर्ता गरेपछि फरार रहेका अग्रवालले गत बिहीबार उच्च अदालत पाटनमा आत्मसमर्पण गरेका थिए । अदालतमा आत्मसमर्पण गरेपछि अग्रवाललाई न्यायाधीशद्वय कुमार चुडाल र कुलप्रसाद शर्माको संयुक्त इजलासले पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएपछि उनी पक्राउ परेका हुन् ।

नेपालमा पेप्सीकोला, मिरिन्डा, सेभेनअप, डिउलगायतका पेयपदार्थ उत्पादन गर्दै आएको वरुण वेभरेज प्रालिले नक्कली भ्याटबिल प्रयोग गरी राज्यलाई हानिपु-याएको भन्दै विभागले कम्पनीका पूर्व र वर्तमान सञ्चालकविरुद्ध उच्च अदालत पाटनमा गतवर्षपुस ३ गते ६४ करोड ९६ लाख दुई हजार तीन सय ४० रुपैयाँ बिगो र बिगोको दोब्बर एक अर्ब २९ करोड ९२ लाख चार हजार छ सय ८० रुपैयाँसमेत गरी जम्मा एक अर्ब ९४ करोड ८८ लाख सात हजार २० रुपैयाँ जरिवाना र तीन वर्षको कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको थियो ।

विभागले कम्पनीका पूर्व तथा वर्तमानगरी सात जना सञ्चालकहरू अमित गुप्ता, रविकान्त जयपुरिया, रोहित कोहली, प्रविनकुमार अग्रवाल, विनोद सिंह भनिने विनोदकुमार सिंह र अशोक कुमारबाट असुलउपर गर्नुपर्ने दाबीसहित मुद्दा दायर गरेको थियो । सञ्चालकमध्येका रोहित कोहली कम्पनीका पूर्वसीईओ तथा रोयल स्टेक ह्वीस्कीका मालिक समेत हुन् ।

यस्तै रविकान्त जयपुरिया कम्पनीका मुख्य लगानीकर्ता हुन् । उनी लन्डनमा बसेर नेपालमा विभिन्न कम्पनीहरू सञ्चालन गर्दै आएका छन् । गतवर्ष साउनमा नेपाल आएका उनी चारधाम जाँदा राजस्व र अख्तियारका कर्मचारीसँगै लिएर गई तीन अर्ब रुपैयाँभन्दा बढीको राजस्व छलीको प्रकरणलाई सेटलमेन्ट गरेका थिए । साउनमा केही कर्मचारीलाई रकम दिएर राजस्व छली प्रकरण मिलाएका उनलाई पुसमा भने राजस्व विभागले ६४ करोड ९६ लाख बिगो कायम गरी कम्पनी र उनीसहित अन्य सात जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । उक्त यसअघि दुई जना धरौटीमा रिहा भइसकेका छन् भने तीन जना अझै फरार छन् ।

नक्कली बिजकको कारोबार गर्ने व्यक्तिहरूसँग मिलेमतो गरी कम्पनीले मालवस्तु नै खरिद नगरी राजस्व चुहावट गरेको अभियोग राजस्व अनुसन्धान विभागले लगाएको छ । वरुण वेभरेजले राजस्व चुहावट गर्ने दुराशय राखी झुटा तथा नक्कली कर बिजकको कारोबार गर्ने व्यक्तिहरूसँग मिलेमतो गरी वास्तविकरूपमा मालवस्तु खरिद नै नगरी झुटा तथा नक्कली कर बिजक जारी गर्ने प्रयोजनका लागि योजनाबद्ध तरिकाले दर्ता गरिएका फर्महरूबाट जारी गरेका झुटा तथा नक्कली कर बिजक खरिद गरी राजस्व चुहावट गरेको विभागको दाबी छ ।

विभागले अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा ३ ले निषेधित र सोही ऐनको दफा ४ को (क) र (ख) बमोजिमको कसुर गरेको पुष्टि भएकाले वरुण वेभरेज (नेपाल) प्रालिबाट एक अर्ब ६० करोडको बैंक जमानत लिई वरुण वेभरेज (नेपाल) प्रालि र यसका पूर्व तथा वर्तमान सञ्चालकहरूविरुद्ध ६४ करोड ९६ लाख दुई हजार तीन सय ४० रुपैयाँ राजस्व चुहावट गरेको अभियोग दायर गरेको थियो  ।

विभागले गरेको अनुसन्धानबाट सो प्रालिले आर्थिक वर्ष २०७०/७१ देखि २०७५/०७६ सम्ममा झुटा तथा मूल्य अभिवृद्धि कर बिजकको कारोबारबाट मूल्य अभिवृद्धि करतर्फ २५ करोड ३४ लाख छ हजार नौ सय ४० रुपैयाँ र आयकरतर्फ लाभांशसमेत ३९ करोड ६१ लाख ९५ हजार चार सय गरी कुल ६४ करोड ९६ लाख दुई हजार तीन सय ४० रुपैयाँ राजस्व छली गरेको देखिएको थियो ।

राजस्वले वरुण वेभरेजविरुद्ध मुद्दा दायर गरेपनि सोही समूहको एकै ठाउँमा केन्द्रीय कार्यालय रहेको र कागजात नियन्त्रणमा लिएको देवयानी इन्टरनेसनल प्रालि,आर्टिक इन्टरनेसनल र वरुण डेलभपर्सलाई भने कारबाहीको दायरामा ल्याएको छैन । वरुण वेभरेजका मुख्य लगानीकर्ता रहेका रविकान्त जयपुरियाले नेपालमा वरुण वेभरेजको अलवा देवयानी इन्टरनेसनल नेपाल प्रालि, आर्टिक इन्टरनेसनल प्रालि र वरुण डेभलपर्स कम्पनी सञ्चालन गर्दै आएका छन् । सबैको कार्यालय पेप्सीकोलामा रहेको छ  । देवयानी इन्टरनेसल नेपाल प्रालिले केएफसी र पिज्जाहट सञ्चालन गरेको छ। नेपालमा केएफसीको सातवटा र पिज्जा हटका तीनवटा शाखा रहेका छन् । यसले वार्षिक ७५ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्नेगर्छ ।

यस्तै आर्टिक इन्टरनेसनलले नेपालमा आइसक्रिमको व्यापार गर्नेगरेको छ। नेपालका प्रायः सबै प्रमुख सहरमा बिक्री हुने कम्पनीको क्रिमबेल आइसक्रिमको कारोबार गतवर्षको असोज महिनासम्म वरुण बेभरेजमार्फत नै हुनेगरेको थियो । पछिल्लो समय आर्टिक इन्टरनेसनलको छुट्टै हिसाब राख्न थालिएको छ। यसैगरी जयपुरियाले वरुण डेभलपर्स प्रालिको नाममा घरजग्गाको कारोबार पनि गर्दै आएका थिए । २०७२ सालको महाभूकम्पमा भत्किएको होराइजन अपार्टमेन्ट उनैले बनाएका हुन् । भूकम्पबाट होराइजन अपार्टमेन्ट ढलेपछि उक्त समूहका सीएफओ रोहित कोहली नेपालबाट भागेर भारत गएका थिए ।

त्यसपछि अमित गुप्ता सीएफओ बनेर सो समूहको व्यापार हेर्न नेपाल आएका थिए । २०७५ साल फागुन ५ गते राजस्व अनुसन्धान विाभगले यी सबै कम्पनीको एकीकृत हेड अफिस पेप्सीकोलामा छापा मारेर कम्प्युटर र कागजपत्र नियन्त्रण गरेपछि सीएफओ गुप्ता कम्प्युटर, ल्यापटप र कागजपत्र लिएर भारत हिँडेका थिए । विभागले छापा मारेको १० महिनापछि मात्रै चारवटा कम्पनीमध्ये एउटा कम्पनी वरुण वेभरेज नेपाल प्रालिविरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो ।

विभागले छापा मारेर केही कागजात नियन्त्रणमा लिएपछि बाँकी रहेका मूल कागजात लिएर सीएफओ गुप्ता भारत पलायन भएपछि वरुण वेभरेजका पीके सिंह लेनदेन र सम्झौताका लागि फाइल बोकेर विभिन्न अखडाहरूमा दौडिएका थिए । तत्कालीन सीएफओ गुप्ता भारत गएकाले केही जवाफ दिन नसक्ने भन्दै विभागलाई वरुण वेभरेजले महिनौँसम्म छानबिनमा सहयोग नगरेर हल्लाएको थियो भने अर्कोतिर अन्डरटेबल लेनदेनबाट समस्या समाधान गर्न पनि दौडधूप जारी थियो ।

त्यही क्रममा गत साउनपछि तीर्थाटनको बहानामा भारतमै सहमति बनेपछि उक्त समूहको नयाँ सीएफओ बनेर प्रविणकुमार अग्रवाल नेपाल आएका थिए । अग्रवाल नेपाल आएको तीन महिनापछि विभागले उही समूहका देवयानी इन्टरनेसनल नेपाल प्रालि, आर्टिक इन्टरनेसनल नेपाल प्रालि, वरुण डेभलपर्स नेपाल प्रालिसँग सम्बन्धित नक्कली भ्याटबिल र भ्याटछलीलगायत राजस्व छलीका घटनालाई छानबिनको दायरामै नल्याईवरुण वेभरेजको विरुद्ध मात्र मुद्दा दायर गरेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया