Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसामाजिक सुरक्षा कार्यविधि संशोधन, जागिरमा ८० प्रतिशतसम्म विशेष सापटीको व्यवस्था

सामाजिक सुरक्षा कार्यविधि संशोधन, जागिरमा ८० प्रतिशतसम्म विशेष सापटीको व्यवस्था


काठमाडौं ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले समाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ (दोस्रो संशोधन) कार्यान्वयनमा ल्याएको छ । गत माघ अन्तिम साता संशोधन गरेको हो । दोस्रो संशोधनले सामाजिक सुरक्षा कोषबाट प्रदान गर्ने सुविधामा उच्चतम तहमा पु¥याएको भन्दै जागिरमा हुँदा ८० प्रतिशतसम्म विशेष सापटीको व्यवस्था गरिएको छ  । कोषका प्रवक्ता विवेक पन्थीका अनुसार अवकाश सुविधा योजनामा जम्मा भएको रकम अवकाश हुँदा वा जागिरबाट अलग हुँदा निकाल्न पाउने तथा जागिरमा हुँदै ८० प्रतिशतसम्म विशेष सापटीको रुपमा प्रदान गर्न सकिने व्यवस्था गरिएको बताए ।

संशोधनसँगै अस्पताल भर्ना नभई उपचार गर्दा पाउने रकम उपयोग नगरेको वा कम उपयोग गरेकाहरुले सो सीमाभित्र रही बाँकी रहेको रकम अस्पतालमा भर्ना भई उपचार गर्दा थप हुनसक्ने व्यवस्था मिलाउनुको साथै मातृत्व सुरक्षाअन्तर्गत योगदानकर्ताको पत्नी सुत्केरी भएपश्चात् छ हप्तासम्मको उपचार खर्चसमेत पाउने गरी थप व्यवस्थित बनाइएको छ ।

यस्तै सोही योजनाअन्तर्गत निवृत्तिभरण प्राप्त गरेको योगदानकर्ताले चाहेमा आफ्नो मासिक निवृत्तिभरणबाट निश्चित रकम कटा गरी औषधि उपचार सुविधालाई निरन्तरता दिनसक्ने, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत रोजगारीजन्य दुर्घटनाको उपचारलाई पारदर्शी बनाउन कोषलाई जानकारी गराउने, अशक्तता वृत्तिको अधिकतम सीमा हटाउनुको साथै आश्रित परिवार सुविधा योजनाअन्तर्गत विदेशी नागरिकको मृत्यु भई निजको हकवालाले पाउने रकम एकमुष्ठ लिन चाहेमा सात लाख रुपैयाँसम्म लिनसक्ने व्यवस्था गरिएको छ ।

संशोधनपछि कोषका अनुसार अवकाश सुविधा योजनाअन्तर्गत भने नियमित रुपमा आठ दशमलव ३३ प्रतिशत रकम जम्मा गर्ने व्यवस्थाका अतिरिक्त कुनै योगदानकर्ताले स्वैच्छिक रुपमा जम्मा गरेको रकम, अन्य अवकाश कोषबाट हस्तान्तरण भई आएको रकम, योगदानकर्ताहरुले चाहेमा न्यूनतम आधारभूत पारिश्रमिकको तीन गुणाभन्दा बढी निवृत्तिभरण योजनामा जम्मा हुने सीमाभन्दा बढीको रकम ६० वर्ष उमेर पूरा भएका योगदानकर्ताहरुको निवृत्तिभरणअन्तर्गतको रकमसमेत अवकाश सुविधा योजनामा जम्मा हुने तथा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना सुविधाका लागि योग्य हुन जम्मा गर्नुपर्ने योगदान रकम निरन्तर तीन महिना हुनुपर्ने प्रावधानलाई थप स्पष्ट बनाइएको छ ।

यसैबीच कोषले सामाजिक सुरक्षाको विश्वव्यापी आधारभूत मान्यताका साथै रोजगारदाता तथा श्रमिकहरुले उठाउँदै आएका माग, चाहना र आकांक्षाहरुलाई सम्बोधन गर्ने उद्देश्यले त्रिपक्षीय छलफल, अन्तर्क्रिया र सहकार्यका माध्यमबाट कार्यविधिको दोस्रो संशोधन भएको जानकारी दिएको छ । सामाजिक सुरक्षा कोषले चार किसिमका सुविधा योजनाहरु अर्थात् औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजनाहरुलाई समेटेको छ ।

कार्यविधिको दोस्रो संशोधनबाट सुविधा योजनाहरुलाई उच्चतम तहमा पु-याउने योगदानकर्तामैत्री बनाउने तथा योगदानकर्ताको हितमा परिचालन गराई दिगो सुनिश्चित प्रतिफल हासिल गर्ने दिशामा अगाडि बढ्न मार्गप्रशस्त हुनुका साथै योगदानमा आधारित सामाजिक सुरक्षा योजना सम्बन्धमा सरकार, रोजगारदाता तथा श्रमिकहरुलगायत सरोकारावाला सबैको प्रतिबद्धता समेत रहेको कोषले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया