Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअक्सिजन सिलिन्डर फिर्ता गर्न आग्रह

अक्सिजन सिलिन्डर फिर्ता गर्न आग्रह


काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यक्तिगत वा अन्य कुनै तरिकाले लगिएका अक्सिजन सिलिन्डर भए फिर्ता गर्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बुधबार एक सूचना जारी गर्दै व्यक्तिगत, संस्थागत, आइसोलेसन केन्द्र र अस्पतालमा प्रयोगका लागि लगिएका सिलिन्डर जुन कम्पनी वा अस्पतालको हो, उसैलाई फिर्ता गर्न आग्रह गरेका हुन् ।

अक्जिसनको आपूर्ति सहज भए पनि व्यक्तिगत वा संस्थागतरूपमा लगिएका सिलिन्डर फिर्ता नगर्नाले समस्या भएको डा. अधिकारीले बताए । ‘एउटा उद्योगका अक्सिजन सिलिन्डर अन्यत्र जाने क्रम पनि अत्यधिक बढिरहेको छ । यसले आगामी दिनमा समस्या निम्त्याउने देखिन्छ’, सहप्रवक्ता डा. अधिकारीले जारी गरेको सूचनामा भनिएको छ, ‘विभिन्न व्यक्ति तथा संघसंस्थाले व्यक्तिगत, आइसोलेसन केन्द्र र अस्पतालमा प्रयोगका लागि विभिन्न तरिकाले लगेका अक्सिजन सिलिन्डर समयमा नै जुन कम्पनी वा अस्पतालका सिलिन्डर हुन् तिनै अक्सिजन उत्पादक कम्पनी वा अस्पतालमा पुग्नेगरी आवश्यक व्यवस्था मिलाउन अनुरोध छ ।’

सूचनामा अक्सिजन सिलिन्डर देशका दूरदराजमा वा व्यक्तिका घरमा थन्किएर रहेमा अस्पतालमा रहेका सघन उपचाररत संक्रमितलाई समस्या पर्ने उल्लेख गरिएको छ । साथै संक्रमणको महामारीको समयमा अक्सिजनजस्तो औषधीय विषयमा प्राविधिक ज्ञान र विवेकभन्दा बाहिर गएर निर्णय गर्ने/गराउने कार्यलाई बन्द गर्न÷गराउन तथा अस्पतालको आपूर्ति प्रणालीभन्दा बाहिर नजाने गरी समन्वयको व्यवस्थापन गर्नसमेत अनुरोध गरिएको छ । मन्त्रालयका अनुसार अहिले ३२ वटा अस्पतालमा अक्सिजन प्लान्ट र तीन अस्पतालमा तरल अक्सिजन प्लान्ट रहेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया