Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसुरक्षित निर्माणको १० वर्षे कार्यक्रम सुरु गरिने

सुरक्षित निर्माणको १० वर्षे कार्यक्रम सुरु गरिने


काठमाडौँ । भूकम्पपछिको पुनर्निर्माण र पुनस्र्थापनाका क्षेत्रमा प्राप्त अनुभवका आधारमा आगामी आर्थिक वर्षदेखि सुरक्षित नेपाल निर्माणको दशवर्षे कार्यक्रम सुरु गरिने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८÷०७९ को बजेट प्रस्तुत गर्दै भूकम्पपछिको पुनर्निर्माणमा नेपालले प्राप्त गरेको सफलता र अनुभवलाई आगामी वर्ष अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरी विश्वसामु प्रस्तुत गरिने बताए ।

यस्तै भावी पुस्तालाई भूकम्पसम्बन्धी ज्ञान दिलाउन भूकम्प संग्रहालयको स्थापना गरिने भएको छ । यो संग्रहालय धरहरा परिसरमा निर्माण भइरहेको छ । यसैगरी आगामी आवमा थप एक हजार तीन सय सात विद्यालयका १४ हजार एक सय ५५ कक्षाकोठा, एक सय पाँच स्वास्थ्य संस्था, एक सय ९५ सांस्कृतिक तथा पुरातात्विक सम्पदा र ३६ सरकारी भवन निर्माण सम्पन्न गरिने लक्ष्य राखिएको छ ।

भूकम्पबाट क्षति भएका राष्ट्रपति भवन, बबरमहल, बालमन्दिर, केशरमहल, हरिहरभवन, त्रिचन्द्र कलेजलगायत महत्वपूर्ण भवन तथा पुरातात्विक महत्वका सम्पदा पुनर्निर्माण तथा प्रबलीकरणलाई तीव्रता दिइने बजेटमा उल्लेख गरिएको छ । यसैगरी आगामी आर्थिक वर्षमा ३९ स्थानमा एकीकृत बस्ती निर्माण गरिने लक्ष्य राखिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यावधि आगामी पुस १० गतेसम्म रहेकाले त्यसपछि अधूरा आयोजना पूरा गर्न आवश्यक स्रोत र अभिलेखसहित कार्यान्वयनको जिम्मेवारी विषयगत मन्त्रालयमा हस्तान्तरण गरिने भएको छ ।

धरहरा परिसर, सिंहदरबारको प्रबलीकरण एवं काष्ठमण्डपको पुनर्निर्माण प्राधिकरणको समयावधिभित्र सम्पन्न गर्न बजेट विनियोजन गरिएको अर्थमन्त्री पौडेलले जानकारी दिए । भूकम्पपछिको पुनःनिर्माणका लागि ३३ अर्ब ५५ करोड बजेट विनियोजन गरिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया