Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसिमेन्टमा नयाँ मापदण्ड, मेगा परियोजनामा विदेशबाट सिमेन्ट आयात गर्न नपर्ने

सिमेन्टमा नयाँ मापदण्ड, मेगा परियोजनामा विदेशबाट सिमेन्ट आयात गर्न नपर्ने


काठमाडौं, माघ ५
गुणस्तर तथा नापतौल विभागले नेपालमा उत्पादन हुने सिमेन्टलाई अन्तर्राष्ट्रियस्तरका मेगा परियोजनाका लागि समेत उपयुक्त हुने गरी गुणस्तर चिह्न प्रदान गर्ने निर्णय गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको अध्यक्षतामा शुक्रबार बसेको नेपाल गुणस्तर परिषद्को १०२औँ बैठकले त्यस्तो निर्णय गरेको हो । उक्त निर्णयको कारण नेपालमा निर्माण हुने कुनै पनि अन्तर्राष्ट्रियस्तरका भवन, जलविद्युत् आयोजना, फास्ट ट्र्याकमा निर्माण हुने हाईटेक पुल, एसियन मापदण्डका सडकमा निर्माण हुने मोटरेबल पुललगायतका आयोजनाहरुले गुणस्तर कायम राखिराख्न विदेशबाट सिमेन्ट आयात गरिरहनुपर्ने छैन ।

खासगरी अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट छानिएका परियोजनाका ठेकेदारहरुले आफ्नो कामको गुणस्तरका लागि भनेर विदेशबाटै सिमेन्ट आयात गरिरहेका थिए । नयाँ मापदण्डअनुसार सिमेन्ट उद्योगहरुले ४३ र ५३ ग्रेडका सिमेन्ट उत्पादन गर्न पनि अनुमति पाउनेछन् । त्यस्तो सिमेन्ट अहिले विदेशबाट आयात हुँदै आएको थियो । नयाँ गुणस्तर कायम भएपछि नेपालमा कुनै पनि अन्तर्राष्ट्रियस्तरका निर्माणसँग सम्बन्धित ठेकेदारहरुले विदेशबाट सिमेन्ट ल्याइरहनुपर्ने छैन । साथै कुनै पनि निर्माणकार्यको लागि यस्तो गुणस्तरको सिमेन्ट प्रयोग गर्नुपर्ने भनेर बोलपत्र आह्वान गर्ने निकायले पनि उल्लेख गर्न सक्नेछ ।

सरकारले सिमेन्टमा नयाँ मापदण्ड तोकेपछि पुरानो मापदण्डका सिमेन्ट क्रमशः हट्ने देखिएको छ । नेपालमा अहिलेसम्म ३३ ग्रेडका सिमेन्ट मात्र उत्पादन हुँदै आएको छ । नयाँ मापदण्डअनुसार सिमेन्ट उद्योगहरुले ४३ र ५३ ग्रेडका सिमेन्ट उत्पादन गर्न पाउनेछन् । ४३ र ५३ को ग्रेड लिने कार्यलाई भने अहिले विभागले स्वैच्छिक गरेको छ । विभागका अनुसार ३३ ग्रेडका सिमेन्ट भने सबैले उत्पादन गर्नुपर्नेछ तर सोभन्दा माथिको ग्रेडको सिमेन्ट उत्पादन गर्ने हो भने उनीहरुले तत्कालै गुणस्तर लिनका लागि प्रक्रिया अगाडि बढाउन पाउनेछन् । उद्योगहरुले ४३ र ५३ ग्रेडको उत्पादन भनेर निर्धारण गर्न निवेदन दिएपछि विभागले नेपाल गुणस्तर निर्धारणको लागि प्राविधिक समितिबाट सिफारिस भएबमोजिम गर्नुपर्नेछ ।

नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर भए पनि निर्माण क्षेत्रमा संलग्न विदेशी ठेकेदार तथा नेपालमै निर्माण भइरहेका मेगा परियोजनाहरुले गुणस्तरका लागि भनेर विदेशबाट सिमेन्ट आयात गरेर प्रयोग गरिरहेका छन् । नेपालमा रहेका स्वदेशी तथा वैदेशिक लगानीका उद्योगहरुले अन्तर्राष्ट्रियस्तरको प्रविधि भित्र्याएर सिमेन्ट उत्पादन गरिरहे पनि उनीहरुले ४३ र ५३ ग्रेडको प्रमाणपत्र पाएका थिएनन् । नेपालमा उत्पादित सिमेन्ट अन्तर्राष्ट्रियस्तरको भएको भन्दै सिमेन्ट उत्पादकहरुले पाँच÷छ वर्ष अगाडिदेखि नै गुणस्तरको पुनरवलोकन गर्न माग गर्दै आएका थिए । सरकारले नयाँ गुणस्तर निर्धारण गर्ने निर्णय गरेपछि सिमेन्ट उत्पादकहरु पनि खुसी भएका छन् । ‘गुणस्तरको लागि भनेर अब नेपालमा विदेशी सिमेन्ट ल्याउनुपर्नेछैन’, एक सिमेन्ट उद्योगीले आर्थिक दैनिकसित भने ।

नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक एवं गुणस्तर परिषद्का सदस्य सचिव विश्वबाबु पुडासैनीका अनुसार नयाँ मापदण्डका कारण अब कुनै पनि परियोजनाले गुणस्तरको लागि भनेर विदेशबाट सिमेन्ट आयात गरिरहनुपर्नेछैन । तर, त्यसका लागि सिमेन्ट उद्योगहरुले केही निश्चित प्रावधान भने पूरा गर्नुपर्नेछ । तर, सिमेन्ट उद्योगीहरुले भने आफूहरुको उत्पादन अन्तर्राष्ट्रियस्तरको भए पनि सरकारकै बेवास्ताका कारण मर्कामा परेको बताउँदै आएका थिए ।

सरकारले सबै सिमेन्टलाई ४३ र ५३ ग्रेडको बनाउने उद्देश्यअनुसार अहिले नयाँ मापदण्डलाई स्वैच्छिक गरेको हो । केही समयपछि ४३ र ५३ ग्रेडलाई अनिवार्य गर्ने योजना सरकारको छ । नेपालमा सिमेन्ट उद्योगमा अन्तर्राष्ट्रिय लगानी र प्रविधि भित्रिन थालेपछि स्वदेशका साना उद्योगहरुले पनि आफूलाई स्तरोन्नति गर्दै लगेका छन् । साना उद्योगहरुले धेरै उत्पादन र गुणस्तरमा विशेष ध्यान दिँदै उद्योगहरुलाई नयाँ रुप दिन थालेका छन् । यही बेला सरकारले सिमेन्टमा नयाँ गुणस्तरको मापदण्ड बनाएको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया