Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘अर्थतन्त्रमा साना तथा घरेलु व्यवसायको योगदान उच्च छ’

‘अर्थतन्त्रमा साना तथा घरेलु व्यवसायको योगदान उच्च छ’


काठमाडौँ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्रमा साना तथा घरेलु व्यवसायहरुको योगदान धेरै उच्च र महत्वपूर्ण रहेको बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीहरुसँग सोमबार वेबिनारमार्फत आयोजना गरिएको अन्तत्र्रिmया कार्यक्रममा उनले संसारभर नै एमएसएमईज र एसएमइजको भूमिका हेर्ने हो भने संख्यात्मक हिसाबले त झण्डै ९९ प्रतिशत नै रहेको र अर्थतन्त्रमा योगदान पनि धेरै अर्थपूर्ण रहेको बताए ।

राष्ट्र बैंकले पनि आफ्नो पोलिसी, आफ्ना नीतिहरुमा साना तथा घरेलु व्यवसायलाई प्राथमिकता दिँदै आएको उनले जानकारी दिए । गत सालको मौद्रिक नीतिमार्फत ऐतिहासिक परिवर्तन नै ल्याउन खोजेको र नीतिगत हिसाबले धेरै हदसम्म उपलब्धि हासिल पनि भएको उनको भनाइ थियो । सहुलियतपूर्ण कर्जा पनि प्रत्येक शाखामा १० वटा आवेदन आउनुपर्ने र सँगसँगै कुल कर्जाको १५ प्रतिशत एक करोडभन्दा साना कर्जाहरुमा जानुपर्ने व्यवस्था गरी पुनर्कर्जामध्ये पनि ७० प्रतिशत पुनर्कर्जा १५ लाखभन्दा सानालाई दिने गरी व्यवस्था गरिएको उनले जानकारी दिए । ‘योभन्दा अगाडि साना उद्योगीले पुनर्कर्जा लिएको इतिहास नै छैन । गत साल मात्रै १५ लाखभन्दा साना व्यवसायी लगभग ४२ हजारले पुनर्कर्जा पाउनुभयो । त्यो महत्वपूर्ण उपलब्धि हो ।

हाम्रो नयाँ पोलिसीको जस्तो लाग्छ’, उनले भने, ‘पुनर्कर्जा भनेको राष्ट्र बैंकले नै सबै फाइनान्सिङ गर्ने होइन, अहिले हाम्रो टोटल लोनको आकार ४१ खर्ब पुगेको छ । ४१ खर्ब नै राष्ट्र बैंकले दिएर ब्याज सहुलियत दिने भन्ने हुँदैन राष्ट्र बैंकका आफ्नै सीमा छन् ।’ आफूहरुको प्रयास भनेको धेरैभन्दा धेरै ऋणीको, व्यवसायीको आत्मबल कसरी बढाउन सकिन्छ भन्ने नै रहेको उनले बताए । साथै उनले बैंकहरु पनि व्यवसायीमैत्री नभएको गुनासो आएको र उक्त समस्याहरु आफूले पनि महसुस गरेको बताए । उनले भने, ‘राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत गरेका व्यवस्थाहरुलाई वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरुले लागू गर्ने सन्दर्भमा भावनात्मक हुन नसकेको, संवेदनशील हुन नसकेको हामीले बुझेका छौँ ।’

महासंघका अध्यक्ष श्याम गिरीले उद्योगीहरुले लिएको कर्जामा निषेधाज्ञा अवधिको ब्याज मिनाहा गर्नुपर्नेमा जोड दिए । साना उद्योगीको हकमा पुनर्कर्जासम्बन्धी कार्यविधिलाई पुनर्लेखन गर्नुपर्ने जरुरी रहेको भन्दै उनले पुनर्कर्जा कार्यविधि पुनर्लेखन कार्यमा घरेलु महासंघलाई पनि सहभागी गराइनुपर्ने बताए ।

केही बैंकहरुले पुनर्कर्जा कार्यविधि तथा मौद्रिक नीतिमा लेखिएका शब्दहरुलाई केलाएर केही बैंकका शाखाहरुले साना उद्योगीहरुलाई निरुत्साहित गर्ने गरेको गुनासो राख्दै उनले भने, ‘कृषि उपज र प्रशोधनसम्बन्धी उद्योग भनेको छ । तर धान, चामल र चिउराजन्य उद्योगका लागि पुनर्कर्जाको लागि जाँदा तपाईंहरुको त कार्यविधिमा लेखेकै छैन भनिन्छ । बैंकका यस्ता व्यवहारले साना व्यवसायीहरुलाई साह्रै पीडित बनाएको छ ।’ महिला उद्यमीको हकमा सहुलियत कर्जा नै पाइएन भन्ने धेरै गुनासो रहेको भन्दै अध्यक्ष गिरीले गत वर्ष राष्ट्र बैंकले निर्देशित गर्दैगर्दा पनि धेरै बैंकले लागू गर्न नसकेको बताए ।

महिला उद्यमीलाई उपेक्षा ग-यौँ भने अर्थतन्त्रले गति नलिने उनको दाबी थियो । कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष सुरेश प्रधान, पूर्वअध्यक्ष लता प्याकुरेल, वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिंहलगायतको सहभागिता रहेको थियो । राष्ट्र बैंकका तर्फबाट पनि डेपुटी गभर्नरद्वय बमबहादुर मिश्र, डा. निलम तिमिल्सिना, प्रवक्ता देवकुमार ढकाललगायत विभिन्न विभागीय प्रमुखहरुको सहभागिता रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया