Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअवैध बाटो हुँदै भारततर्फ हरियो मटरको निकासी

अवैध बाटो हुँदै भारततर्फ हरियो मटरको निकासी


बिराटनगर । तत्कालीन केपी ओली सरकारले कोटा वितरण गरी नेपाल भित्र्याएको मटर पछिल्लो समय विराटनगरका केही ट्रेडिङ कारोबारीहरूले तीव्ररूपमा भारत निकासी गर्न थालेकोे पाइएको छ ।

ओली प्रधानमन्त्री बन्नुभन्दा अगाडि सरकारले तेस्रो मुलुकबाट आयात हुँदै आएको मटरको आयातलाई नै रोकेर राखेको थियो । तर ओली सरकारले कर्मचारी र केही प्रभावशाली मन्त्रिको सेटिङमा कोटा वितरण गरी नेपालमा मटर आयात गर्ने बाटो खोलेको थियो । कोटामार्फत नेपाल भित्र्याएको मटर अहिले धमाधम अवैध बाटो हुँदै भारत निकासी हुन थालेको हो । मटरका कारोबारीले प्रदेश १ को राजधानी विराटनगरसहित मोरङको सीमावर्ती क्षेत्रबाट अवैधरूपमा भारततर्फ हरियो मटर निकासी गरी राम्रो मुनाफा गर्न थालेपछि यसको रहस्य खुलेको हो ।

आर्थिक वर्ष ०७७/०७८ को असार मसान्तसम्ममा केही ट्रेडिङ फर्म र ती फर्म सञ्चालक व्यवसायीको कारोबारले उक्त कुरालाई पुष्टि गरेको देखिने अन्य मटर व्यवसायीको दाबी छ । सरकार आफैँले हरियो मटरमा लगाएको आयात प्रतिबन्ध फुकुवा गर्दै कोटा वितरण गरेसँगै हरियो मटरका कारोबारी पुनः सलवलाउन थालेपछि पछिल्लो समय नेपालमा हरियो मटरको आयात व्यापक रूपले बढेको छ । नेपालका लागि भन्दै आयात गरिएको हरियो मटर धमाधम भारत निकासी बढ्न थालेपछि यो दशैँको मुखमा अहिले पनि बजारमा हरियो मटरको मूल्य अत्यधिक महँगिएको व्यवसायीस्रोतले बताएको छ ।

नेपाली बजारमा भने हरियो मटरको माग उच्च रहे पनि अहिले हरियो मटरको अभाव नै रहेको व्यवसायीको भनाइ छ । कारोबारीले तेस्रो मुलुकबाट आयात गरी हरियो मटर भारत निकासी गर्दा बढी मुनाफा हुने भएकाले उनीहरूले नेपाली बजारमा हरियो मटर दिन छाडेका छन् । छिमेकी देश भारतमा पाकिस्तानबाट आयात हुँदै आएको हरियो मटरमा भारत सरकारले नै प्रतिबन्ध लगाएका कारण नेपालका ट्रेडिङ कारोबारीहरूले आयात गरेको हरियो मटर अहिले अवैध बाटो हुँदै भारततर्फ निकासी हुन थालेको हो ।

गत वर्षको चैतदेखि भएको बन्दाबन्दीबाट थलिएको व्यापार अहिले भएको कारोबारको तीव्र वृद्धिसँगै व्यवसायीहरू मोटाउने र सरकार दुब्लाउने खेल व्यापक हुनेगरेको प्रमाणीत हुने दाबी गर्न थालिएको छ । सरकारले मटरको कोटा वितरण गरेपछि वैधरूपमा नेपालतर्फ आयात भएको हरियो मटर कारोबारीहरूले अवैध बाटो हुँदै भारततर्फ निकासी गर्न थालेका हुन् । तर यसरी हरियो मटरको तस्करी हुँदा पनि नियन्त्रण गर्ने सरकारी निकाय सशस्त्र प्रहरी सीमासुरक्षा बल तस्करी हुने हरियो मटरका सम्बन्धमा बेखबरजस्तै नै बन्न पुगेको छ । यो काम निर्बाधरूपमा सञ्चालन गर्नका लागि पनि कारोबारीले सरकारले खटाएको सीमासुरक्षा बल ससस्त्रसँग पनि राम्रो सेटिङ मिलाएको दाबी समाचारस्रोतले गरेको छ ।

छोटो समयमा नै ट्रेडिङको कारोबार गरी अग्रस्थानमा देखिएको मटर कारोबार गर्ने केही ट्रेडिङ फर्मको कारोबार विवरणमाथि नै आन्तरिक राजस्व कार्यालय विराटनगरबाट प्रश्न उठाएसँगै हरियो मटरभित्र रहेको गुलियो स्वादका रहस्यहरू विस्तारै खुल्न थालेको छ । अझै पनि कोरोना संक्रमण उच्च रहे पनि भारतमा दैनिक हरियो मटरको माग अत्यधिक रहेको कुरा व्यवसायीको भनाइ छ । सरकार आफैँले हरियो मटर आयातका लागि कोटा वितरण गरेर कारोबारीलाई नै सहजीकरण गरिदिएपछि यो कारोबार अब निकै आकर्षक बन्न पुगेको व्यवसायीको दाबी छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया