Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविदेश पठाउने नाममा एक वर्षमै ४१ करोड ठगी

विदेश पठाउने नाममा एक वर्षमै ४१ करोड ठगी


प्रवीण राउत
काठमाडौं, माघ १५
सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन नसक्दा विदेश जाने नाममा युवाहरु ठगिने क्रम रोकिन सकेको छैन । चालू आर्थिक वर्ष (२०७६/०७७) को पहिलो छ महिनामा अर्थात् साउन देखि पुससम्ममा गरी युवाहरुलाई विदेश पठाउने भन्दै संस्था अर्थात् मेनपावर तथा व्यक्तिहरुले ४१ करोड ३७ लाख ७२ हजार दुई सय ३४ रुपैयाँ ठगी गरेका छन् । यसमध्ये मेनपावरले २३ करोड ९१ लाख पाँच हजार एक सय ९३ तथा व्यक्तिले १७ करोड ४६ लाख ६७ हजार रुपैयाँ ठगी गरेका छन् । पीडित युवाहरुले मेनपावरमार्फत सो रकम ठगी भएको भन्दै सात सय ४८ वटा उजुरी दिएका छन् । यसमा व्यक्तिगततर्फ दुई सय ४६ वटा उजुरी परेको छ ।

उजुरी आएसँगै विभागले सो अवधिमा मेनपावरमार्फत जरिवाना र बिगोस्वरुप चार करोड ५४ लाख २८ हजार भराएको छ भने व्यक्तिगतर्फ भने बिगो भराएको छैन । व्यक्तिगततर्फको उजुरी वैदेशिक रोजगार न्यायाधिकरणले हेर्छ भने मेनपावर अर्थात् संस्थागत उजुरी भने विभागले हेर्छ । जसमध्ये विभागले निर्णय गरी मेनपावरलाई ५१ लाख ५० हजार जरिवाना भराएको छ । त्यस्तै, चार करोड दुई लाख ७८ हजार पाँच सय बिगो समेत भराएको छ । विभागले चार सय २७ वटा जाहेरी फरफारक तथा दुई सय ९२ वटा पुरानो उजुरी तामेली तीन सय ३१ वटा गरेको छ ।

पुस : चालू आवको पुस महिनामा मात्र मेनपावरले चार करोड ६१ लाख ८० हजार चार सय रुपैयाँ ठगी गरेको भन्दै युवाहरुले विभिन्न मेनपावरविरुद्ध विभागसमक्ष एक सय सातवटा उजुरी दिएका छन् । उजुरी आएसँगै विभागले निर्णय गरी सात लाख रुपैयाँ मेनपावरलाई जरिवाना गराएको छ भने ३३ लाख १५ हजार बिगो समेत भराएको छ । यता व्यक्तिगततर्फ भने सोही महिनामा युवाहरुले एक करोड ९२ लाख ९५ हजार ठगी भएको भन्दै ३७ वटा उजुरी दिएका छन् । विभागले न्यायाधिकरणसमक्ष पुस महिनमा मात्र सात लाख ५७ हजार पाँच सय बिगो दाबी गर्दै उजुरी दिएको छ । यस्तै अदालतसमक्ष ठगीको १९ वटा मुद्दा दायर गरेको छ ।

मंसिर : मेनपावरले आफूहरुलाई ठगी गरेको भन्दै युवाहरुले मंसिरमा एक सय ३९ वटा उजुरी दिएका छन् भने पाँच करोड ५२ लाख ३८ हजार नौ सय रकम दाबी गरेका छन् । मंसिरमा भने विभागले निर्णय गरी र बिगो भराएको छैन । यता व्यक्तिगततर्फ भने मंसिरमा ३४ वटा उजुरी एक करोड ८७ लाख दुई हजार आठ सय ठगी भएको भन्दै युवाहरुले विभागसमक्ष उजुरी दिएका छन् । अदालतमा दायर मुद्रा संख्या २४ वटा रहेको छ। अदालतमा बिगो दाबी दुई करोड तीन लाख १२ हजार पाँच सय रहेको छ ।

कात्तिक : कात्तिक महिनमा मात्र मेनपावरले तीन करोड ७ लाख ९५ हजार पाँच सय ठगी गरेको भन्दै एक सय एकवटा उजुरी दिएका छन् । विभागले उजुरी आएसँगै ३२ वटा मेनपावरलाई तीन लाख जरिवाना गरेको छ भने २६ लाख ६५ हजार पाँच सय बिगो भराएको छ । व्यक्तिगततर्फ भने सोही समयमा ४१ वटा उजुरी दिएको छने भने तीन करोड ५० लाख २९ हजार दाबी गरेका छन् । अदालतमा १५ वटा मुद्दा दायर भएको छ भने दुई करोड ३७ लाख ५८ हजार सात सय बिगो दाबी गरिएको छ ।

असोज : असोजमा मेनापवरले आफूहरुलाई दुई करोड २८ लाख ९५ हजार रुपैयाँ ठगी गरेको भन्दै युवाहरुले विभागसमक्ष २५ वटा उजुरी दिएका छन् । विभागले सोही निवेदनलाई आधार मानी निर्णय गरी मेनपावरलाई पाँच लाख रकम जरिवाना गराएको छ भने ३३ लाख ८१ हजार रुपैयाँ बिगो भराएको छ । विभागबाट निर्णय भई जरिवाना गराइएको मेनपावरको संख्या भने पाँचवटा रहेको छ । विभागले युवाहरुलाई ठगी गरेको भन्दै १८ वटा मुद्दा अदालतमा दायर गरेको छ भने युवाहरुले एक करोड ३७ लाख ८६ हजार बिगो दाबी गरेका छन् ।

भदौ : युवाहरुले भदौमा पाँच करोड १२ लाख ६२ हजार सात सय रुपैयाँ ठगी गरेको भन्दै मेनपावरविरुद्ध एक सय ६७ वटा उजुरी विभागसमक्ष दिएका छन् । उजुरी आएसँगै विभागले मेनपावरलाई १९ लाख ५० हजार जरिवाना गराएको छ । त्यस्तै बिगोस्वरुप दुई करोड १३ लाख ९८ हजार तीन सय भराएको छ । यस्तै उसले १४ वटा संस्थाहरुलाई जरिवाना गराएको जनाएको छ । सोही समयमा युवाहरुले व्यक्तिहरुले तीन करोड १८ लाख ४७ हजार चार सय ठगी गरेको भन्दै विभागसमक्ष ४८ वटा उजुरी दिएका छन् भने विभागले अदालतसमक्ष ४० वटा मुद्दा दायर गरेको छ । यस्तै अदालतमा युवाहरुले बिगो दाबीस्वरुप दई करोड ८१ लाख ७८ हजार माग
गरेका छन् ।

साउन : साउनमा संस्थागततर्फ विभागसमक्ष युवाहरुले एक सय ४६ वटा ठगीसम्बन्धी उजुरी दिएका छन् । पीडित युवाहरुले उजुरीसँगै तीन करोड ५३ लाख ८८ हजार ७ सय ३२ रुपैयाँ दाबी समेत गरेका छन् । उजुरी आएसँगै विभागले मेनपावरमार्फत ७१ लाख ३८ हजार २ सय रकम बिगो भराएको छ । व्यक्तिगततर्फ भने सोही समयमा तीन करोड ८० लाख ४१ हजार बिगो दाबी गर्दै युवाहरुले विभागसमक्ष उजुरी दिएका छन् । विभागले युवाहरुलाई ठगी गरेको भन्दै २४ वटा मुद्दा अदालतमा दायर समेत गरेको छ । मुलुकमा पर्याप्त रोजगारी नहुँदा युवाहरु युरोपदेखि अफ्रिकासम्म जाने गरेका छन् । यसरी विभिन्न मुलुकमा राम्रो रोजगारीको प्रलोभनमा परी युवाहरुलाई मेनपावर तथा व्यक्तिहरुले ठगी गर्ने गरेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया