Techie IT
×
गृहपृष्ठसमाचार‘कोभिड–१९ विरुद्धको खोपमा समान पहुँच स्थापित गर्न औषधि कम्पनीहरू असफल’

‘कोभिड–१९ विरुद्धको खोपमा समान पहुँच स्थापित गर्न औषधि कम्पनीहरू असफल’


काठमाडौं । एम्नेस्टी इन्टरनेसनले कोभिड–१९ विरुद्धको खोपमा समान पहुँच स्थापित गर्न औषधि कम्पनीहरू असफल भएको बताएको छ । खोपको समान पहुँच नहुँदा गम्भीर मानव विपत्तिको सामना गर्नुपरेको एम्नेस्टीको भनाइ छ ।

एम्नेस्टीका अनुसार सन् २०२१ मा कोभिड–१९ विरुद्धको खोपको समान वितरणलाई सुनिश्चित गर्न गरिएका गम्भीर आह्वानका बाबजुत एक शताब्दीमा एक पटक भएको विश्वव्यापी स्वास्थ्य तथा मानवअधिकार सफ्टको चुनौतीलाई सामना गर्न औषधि कम्पनीहरू नराम्ररी चुकेका छन् । एम्नेस्टीले कोभिड–१९ विरुद्धका प्रमुख खोप उत्पादकहरूमाथि गरेको एउटा नयाँ अध्ययनलाई सोमबार सार्वजनिक गर्दै औषधि उत्पादक कम्पनीहरूले प्रविधिमाथि एकाधिकार जमाएको, बौद्धिक सम्पत्तिलाई एक–आपसमा साझेदारी गर्न अवरोध खडा गर्ने मात्र नभई यसरी साझेदारी गर्नुपर्छ भन्ने अभिमतका विरुद्ध वकालत गरेको, खोपहरूमा चर्को मूल्य लगाएको र धनी देशहरूमा खोप आपूर्तिलाई प्राथमिकता दिएको जनाएको छ ।

गत वर्ष १० अर्ब कोभिड–१९ विरुद्धका खोपहरू उत्पादन गरिएको थियो, जुन विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको सन् २०२१ को अन्त्यसम्ममा ४० प्रतिशत खोपको विश्वव्यापी लक्ष्य हासिल गर्नका लागि आवश्यक पर्ने खोपका मात्राभन्दा बढी थियो । यद्यपि एम्नेस्टी इन्टरनेसनलको सेप्टेम्बर २०२१ मा प्रकाशित असमानताको दोहोरो मात्रा : औषधि कम्पनी र कोभिड–१९ खोप सफ्ट प्रतिवेदनलाई अद्यावधिक गरी तयार पारिएको पैसा नै निर्णायक : कोभिड–१९ को खोप सफ्टमा औषधि कम्पनीहरूको प्रतिक्रिया शीर्षकको प्रतिवेदनले सन् २०२१ को अन्त्यसम्ममा न्यून आय भएका देशहरूमा बसोवास गर्नेहरूमध्ये केवल चार प्रतिशतभन्दा केही बढीलाई मात्र पूर्ण मात्रामा खोप लगाइएको देखाएको छ ।

एम्नेस्टी इन्टरनेसनलका अनुसन्धान, पैरवी तथा नीति शाखाका वरिष्ठ निर्देशक रजत खोस्लाले उच्च आय भएका देश र खोप उत्पादकहरूले आफ्नो मानवअधिकारको दायित्व र जिम्मेवारीलाई मनन गरेका भए सन् २०२१ को अन्त्यसम्ममा न्यून र न्यून–मध्यम आय भएका देशका एक दशमलव दुई अर्बभन्दा बढी मानिसहरूलाई खोप लगाउन सकिने दाबी गरे । विश्वका गरिब भू–भागहरूमा खोप आपूर्तिलाई निष्ठुर तरिकाले सङ्कुचित पार्दै उच्च आयस्रोत भएका देशहरूले कोभिड–१९ का खोपहरू थुपारेर राखेको उनको भनाइ छ । उनका अनुसार औषधि उत्पादक कम्पनीले उच्च आय भएका देशलाई अनावश्यक खोप उपलब्ध गराउनुको सट्टा सबैभन्दा बढी खोप जसलाई चाहिएको थियो तिनलाई दिएको भए सन् २०२२ लाई यस महामारीको अन्तिम वर्ष भएको देख्न सकिन्थ्यो ।

सन् २०२१ मा पिफाइजर, बायोएनटेक र मोडर्नाले ५४ अर्ब अमेरिकी डलर आय प्रक्षेपण गरेका थिए । तर ती कम्पनीहरूले आफूले उत्पादन गरेको खोपको दुई प्रतिशत भन्दा पनि कम मात्र खोप न्यून आय भएका देशहरूमा आपूर्ति गरेका थिए । चिनियाँ कम्पनीहरू सिनोभ्याक र सिनोफार्मले न्यून आय भएका देशहरूलाई आफूले उत्पादन गरेको खोपको क्रमशः ०.४ प्रतिशत र १.५ प्रतिशत मात्र वितरण गरेका थिए । जोन्सन एण्ड जोन्सन र एस्ट्राजेनेकाको वितरणको अभिलेख राम्रो थियो । उनीहरूको स्टकमा रहेको खोपमध्ये ५० प्रतिशत खोप न्यून र न्यून–मध्यम आय भएका देशहरूमा आपूर्ति गरिएको थियो । यीमध्ये धेरै मात्रा खोपहरू बिक्री सम्झौताको रूपमा नभई उच्च आय भएका देशहरूबाट “अनुदान“ को रूपमा प्रदान गरिएको थियो । तथापि यी दुवै कम्पनीहरूले अझै पनि विश्व स्वास्थ्य संगठनले समन्वय गरेको पहलहरूमार्फत आफ्ना प्रविधि तथा बौद्धिक सम्पत्तिलाई साझेदारी गर्न इन्कार गरिरहेको एम्नेष्टीको भनाई छ । खोप उत्पादक कम्पनीहरूले आफ्नो मानवअधिकारको जिम्मेवारीलाई भन्दा लोभ र लालचलाई प्राथमिकता दिइरहेको प्रतिवेदनमा उल्लेख छ ।

खोपको न्यायोचित पहुँचमा व्यवधानहरू खडा गर्दै र बौद्धिक सम्पत्तिसम्बन्धी अधिकारलाई खुकुलो बनाउने अभिमतकाविरुद्ध सक्रियतापूर्वक पैरवी गरेर यी कम्पनीहरूले कसरी आफ्नो बौद्धिक सम्पत्ति, ज्ञान र प्रविधिको साझेदारी गर्दैनन् भन्ने कुरा पनि एम्नेस्टीको प्रतिवेदनले देखाएको छ । ‘न्यायोचित र समतामूलक खोपको लडाई अझै सकिएको छैन’, रजत खोस्लाले भने । खुला र सामान्य इजाजत पत्र जारी गरेर वा खुला र सामान्य इजाजत पत्रको साझेदारीमा सहयोग पुर्याउनका लागि स्थापित कोभिड–१९ टेक्नोलोजी एक्सेस पूल (सी–टीएपी)मा सहभागी भएर बौद्धिक सम्पत्तिको साझेदारी गर्न, सबै नियम र शर्तहरूलाई सार्वजनिक गर्न र कोभिड–१९ खोपको पहुँचको मार्गमा मुनाफाको विषय नउभिने गरी कोभिड–१९ खोपको मूल्य निर्धारण गर्नका लागि पनि एम्नेस्टी इन्टरनेसनलले कम्पनीहरूलाई आह्वान गरिरहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया