Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालमा लगानी गर्न चिली इच्छुक

नेपालमा लगानी गर्न चिली इच्छुक


काठमाडौं । दक्षिण अमेरिकी राष्ट्र चिली नेपालमा लगानीका लागि इच्छुक देखिएको छ । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र नेपालका लागि चिलीका राजदूत जुवान एङ्गुलोबीच काठमाडौंको जमलस्थित चेम्बर भवनमा मंगलबार भएको भेटवार्तामा दुई देशबीच सहकार्य तथा लगानीका विभिन्न विकल्पमा छलफल भएको हो । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले पर्यटन, जलश्रोत, सूचनाप्रविधि तथा जडीबुटीजन्य क्षेत्रमा लगानीको सम्भावनाबारे राजदूत एङ्गुलोलाई अवगत गराए  ।

नेपाल र चिलीबीचको कूटनीतिक सम्बन्ध ६० वर्षभन्दा पुरानो भएको सन्दर्भमा आर्थिक सम्बन्धलाई थप बलियो बनाउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । उनले भने, ‘दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पूरा भएको छ । सरकारी र निजी क्षेत्रबीचको सहकार्यमार्फत आर्थिक सम्बन्धलाई थप बलियो र प्रभावकारी बनाउन चाहन्छौँ ।’

नेपाल चेम्बर र चिली चेम्बर अफ कमर्सबीच वाणिज्य तथा लगानीका क्षेत्रमा सहकार्य गर्न पनि अध्यक्ष मल्लले आग्रह गरे । खासगरी नेपालको जलविद्युत् तथा पर्यटनको क्षेत्रमा लगानी र प्रतिफलको सुरक्षणबारे अध्यक्ष मल्लले राजदूत एङ्गुलोलाई जानकारी गराए ।

उनले भने, ‘वैदेशिक लगानीको सुरक्षणका लागि नेपालले पछिल्लो समय नीतिगत तहमा थुप्रै सुधार गरिसकेको छ । आगामी वर्षको बजेटमा पनि सरकारले ५० वर्षसम्म जग्गा भाडामा उपलब्ध गराउने घोषणा गरेको छ, चिलीको लगानी सुरक्षण गर्न हामी प्रतिबद्धता जनाउ“छौँ ।’

अन्तर्राष्ट्रिय रुपमा बढी माग हुने वस्तुहरुको उत्पादनका लागि नेपाल उपयुक्त गन्तव्य भएको अध्यक्ष मल्लले बताए । नेपालमा जग्गाको मूल्य र श्रमको लागत सस्तो पर्ने भन्दै अध्यक्ष मल्लले चिलीको लगानीमा उद्योग खोलेर भारत, चीनलगायत दक्षिण एसिया, युरोप र अमेरिकी बजारमा बिक्री गर्न सकिने बताए ।

राजदूत एङ्गुलोले पनि नेपालको वर्तमान आर्थिक अवस्था र लगानीको वातावरणबारे जानकारी लिएका थिए । नेपाल हिमालयको देश भन्दै उनले पर्यटनको क्षेत्रमा अथाह सम्भावना आफूले देखेको बताए । नेपालमा लगानीको सम्भावनाबारे आफ्नो देशको निजी क्षेत्र र नागरिकहरुलाई जानकारी गराउने राजदूत एङ्गुलोले प्रतिबद्धता जनाए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया