Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएआईजी विश्वराजको विदा अस्वीकृत

एआईजी विश्वराजको विदा अस्वीकृत


काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले थप १० दिनका लागि मागेको विदा प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहले अस्वीकृत गरिदिएका छन् । सरकारले आफूभन्दा कनिष्ठ धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेको भन्दै असन्तुष्टि जनाएर उनी १८ वैशाखदेखि एक महिनाका लागि विदा बसेका थिए ।

तर पोखरेलले फेरि आफूलाई थप १० दिन विदा चाहिएको भन्दै प्रहरी प्रधान कार्यालय, नक्सालमा पत्र पठाएका छन् । आफ्ना एक जना सहयोगीमार्फत पोखरेलले विदाका लागि मंगलबार निवेदन दिएका हुन् । यता आईजीपी सिंहले विदा अस्वीकृत गर्दै तत्काल हाजिर हुन लिखित निर्देशन दिएका छन् ।
आईजीपी सिंहले विदा दिन अस्वीकार गरिदिएपछि अब पोखरेलका लागि हाजिर वा विभागीय कारबाहीको लागि तयार हुनुपर्छ । अर्को विकल्पको रुपमा भने राजीनामा दिएर बस्नु रहेको छ ।

सरकारले आफूभन्दा कनिष्ठ सिंहलाई आईजीपी बनाएसँगै असन्तुष्ट पोखरेल वैशाख १९ गतेदेखि प्रहरी प्रधान कार्यालयमा हाजिर भएका छैनन् । उनले वैशाख १९ देखि लिएको एक महिने विदा सकिएको छ। ३० दिनको विदा र सार्वजनिक विदा समेत गरी उनी ३६ दिनदेखि कार्यालयमा हाजिर भएका छैनन् ।

पोखरेल विदा बस्नुअघि मानव स्रोत तथा प्रशासन विभागका प्रमुख थिए । उनलाई सरकारले मंगलबार सरुवा गरेर प्रदेश समन्वय विभागमा पठाएको छ । यता हालै एआईजी बढुवा भएकी पुजा सिंहलाई मानवस्रोत विभागको प्रमुखको जिम्मेवारी दिएको छ ।

पोखरेलले आईजीपी बढुवाविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन्, तर उनको पक्षमा अन्तरिम आदेश आएको छैन । अदालतले उनको पक्षमा आदेश नदिए पोखरेलले २० साउनदेखि अवकाश पाउनेछन् ।

आईजीपी सिंहको बढुवाविरुद्ध पोखरेलले हालेको रिटको अन्तिम सुनुवाइ यही जेठ ३० गते सर्वोच्चमा हुँदै छ। सर्वोच्चले जेठ ३० गते नै उक्त मुद्दाको छिनोफानो गर्ने गरी अन्तिम पेशीका लागि समय निर्धारण गरेको हो ।

यदि जेठ ३० मा सर्वोच्चबाट मुद्दा जितेमा पोखरेल नयाँ आईजीपीका रुपमा प्रहरी प्रधान कार्यालय फर्किन सक्नेछन् । सिंहविरुद्ध हालेको मुद्दामा पराजित भएमा सरकारको निर्णयमा असन्तुष्ट पोखरेलले घर फर्किने विकल्प बाँकी रहनेछ । अर्का एआईजी सहकुलबहादुर थापाले पनि १० दिनका लागि विदा लिएका थिए । तर तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणसँग भेट गरेर उनी काममा फर्किएका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया