Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकमा पैसाको अभाव समाधान गर्ने गभर्नरका तीन सूत्र

बैंकमा पैसाको अभाव समाधान गर्ने गभर्नरका तीन सूत्र


काठमाडौं । अहिले चिया/कफीशपदेखि ठूला तारे होटलहरुमा, साना व्यापारीदेखि अन्तर्राष्ट्रिय व्यापार गर्नेसम्मका सबैको मुखबाट निस्किने एउटै कुरा हो, बैंकले लोन नै दिँदैन कसरी काम गर्नु ? उद्योगी, व्यापारीदेखि आम सर्वसाधारण पनि बैंकमा पैसा नभएको कारण ऋण नपाएको र काम नै गर्न नसकेको कारण आफूहरु चौपट भएको बताउँछन् ।

उद्योग खोल्ने र व्यापार गर्ने मात्र होइन गाडी, घरजग्गा र सेयर खरिद गर्नेहरुको पनि गुनासो छ, बैंकले पैसा नै दिँदैन, बैंकमा पैसा छैन कसरी कसरी खरिद गर्नु ? ऋण नपाएर काम नगरेका हुन् वा अरु कारणले काम नभएको हो त्यो त भित्री कुरा हो । तर, बाहिर सबैले भन्ने कुरा एउटै छ, ‘ऋण नपाएर काम गर्न पाइएन ।’ उनीहरुको कुरा सुन्दा लाग्छ पैसा जति सबै बैंकले लुकाए । यस्तो अभावको कुरा २०७२ सालको भूकम्प र कोभिड–१९ को महामारीमा पनि सुन्न परेको थिएन । अहिले त दैनिकजसो जताततै सुनिने एउटै गुनासो हो, ‘बैंकमा पैसा छैन अनि पाइएन ।’

बैंकहरुसँग कुरा गर्दा निक्षेप नै संकलन नभएको कारण लगानीयोग्य रकम (तरलता) केही अभाव छ । कुनै कुनै बैंकरहरु भन्छन्, ‘माथि (राष्ट्र बैंक) बाट आदेश छ, ऋण दिँदै नदिनु । दियो भने कारबाही भोग्नुपर्छ ।’ महंगो भनिएको ठाउँको घरजग्गा धितो राखेर पनि पैसा नपाएपछि गुनासो बढेको छ, पैसा कहाँ गयो ? हुन पनि हो, केही वर्ष अगाडिसम्म भीर र पाखो धितो राखेर पनि प्रशस्त ऋण पाइन्थ्यो बैंकबाट । तर, अहिले नम्बरी जग्गा मात्र होइन सुन राख्दा पनि ऋण पाउन मुश्किल छ । ऋण माग्न नै आउँदै नआउनु भनेर बैंकका कर्मचारीहरुले भन्छन् । जतिसुकै चिनेजानेको मानिसको फोर्स लगाए पनि बैंकले ऋण दिन मानिरहेको छैन । सबै बैंकको एउटै जवाफ छ, ‘ऋण लगानी गर्ने पैसा नै छैन ।’

तरलताको अभाव भएको गुनासो चारैतिर सुनिएको बेला नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शनिबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २४औँ वार्षिक साधारणसभामा भने निराशाका दिन क्रमशः सकिन लागेको बताउँदै सबै क्षेत्रमा सुधारको संकेत देखिएको जिकिर गरे ।

‘केही वस्तुहरुको निर्यात राम्रै हुने हामीले संकेत पाएका छौँ । त्यसले हाम्रो अर्थतन्त्रमा नयाँ आयाम थप्नेछ’, गभर्नर अधिकारीले भने, ‘इनर्जी निर्यात पनि राम्रो हुने देखिएको छ भने पछिल्ला दिनमा बैंकिङ्ग क्षेत्र, घरजग्गाको क्षेत्र, श्रम बजार, रेमिट्यान्स, पर्यटन, कृषिको विकास अत्यन्त उत्साहजनक छ ।’

अर्थतन्त्र सकारात्मक दिशातर्फ गएको कारण वस्तु आयातमा सरकारले विस्तारै प्रतिबन्धहरु खुला गर्दै गएको गभर्नरको दाबी छ । पैसाको अभावको कारण राष्ट्र बैंकले केही वस्तु आयातमा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था पनि गरेको थियो । गभर्नर अधिकारीका अनुसार मार्जिनसँग सम्बन्धित व्यवस्थालाई पनि राष्ट्र बैंकले क्रमशः सुधार गर्दै जानेछ ।

पछिल्लो समयमा बाह्य श्रम बजार पनि खुल्दै गएको छ । यसले रेमिट्यान्स वृद्धि हुने देखिन्छ । असोजमा राम्रै रेमिट्यान्स आउने अपेक्षा राष्ट्र बैंकको छ । पर्यटन क्षेत्रमा पनि सुधारको संकेत देखिएको गभर्नरको दाबी छ । सन् २०२२ को पहिलो छ महिनामा अघिल्लो वर्षको दाँजोमा दोब्बरभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् । यद्यपि युरोप तथा अमेरिकाबाट आउने पर्यटकको तथ्यांक भने सरकारी तथ्यांकसँग मेल खाने देखिँदैन । किनकि यो बेलामा विदेशमै स्थायी बसोबासको सुविधा पाएका नेपालीहरु त्यहाँ आफ्ना सन्तानको स्कुल विदाको मौका पारेर भेटघाटका लागि नेपाल आउने/जाने गरेका छन् । तर, उनीहरु नेपाली भए पनि विदेशी राहदानीवाहक भएको कारण तथ्यांक भने विदेशी पर्यटकको राखिएको छ । उनीहरुको खर्च विदेशी नागरिकको तुलनामा एक प्रतिशत पनि छैन । विदेशकै विमान चढेर आउने भएको कारण उनीहरुको नेपालमा गर्ने खर्च न्यून छ । त्यही भएर पर्यटक बढे पनि आम्दानी बढ्न नसकेको हो ।

गभर्नर अधिकारीले देशको अर्थतन्त्र सकारात्मक दिशातर्फ अगाडि बढेको र धेरै क्षेत्रमा सुधार आएको जिकिर गरे पनि बैंकहरुमा तरलताको चरम अभाव देखाइएको छ । पैसा नेपालभित्रै भएको कारण सबै क्षेत्र इमानदार भएमा तरलताको अभाव चाँडै समाधान हुने गभर्नर अधिकारीको भनाइ छ  ।

गभर्नर अधिकारीका अनुसार तीन कुरामा सुधार आएमा तरलताको अभाव हुनेछैन । उनका अनुसार बीओपी (ब्यालेन्स अफ पेमेन्ट) अर्थात् शोधनान्तरमा सुधार गर्नैपर्छ । त्यसमा सुधार ल्याउन महंगा र विलासी वस्तुको आयातमा अझै केही समय कडाइ गर्नुपर्छ । शोधनान्तर स्थिति अर्थात् नेपालको भुक्तानी सन्तुलन नकारात्मक छ । भुक्तानी सन्तुलन कमजोर हुनु भनेको नेपालको निर्यात कमजोर छ । त्यसको लागि केही वस्तुको निर्यात बढाउनैपर्छ । गभर्नर अधिकारीका अनुसार बिजुलीलगायतका अन्य वस्तुको निर्यात हुने संकेत मिलेको र गाडीलगायतका महंगा वस्तु आयातमा अझै प्रतिबन्ध भएको कारण बीओपीमा सुधार आउने छ । बीओपीमा सुधार आएमा बैंकहरुमा पैसा बढ्न जानेछ ।

त्यस्तै, दोस्रो भनेको सरकारी खर्च बढ्नुपर्छ । सरकारसँग पैसा भए पनि बाहिर निस्किनसकेको छैन । यसले पनि लगानीयोग्य रकमको अभाव हुन गएको हो । खासगरी सरकारले पुँजीगत खर्च बढाउन सकेमा त्यसले पनि बैंकमा पैसा बढाउनेछ । पैसा भएपछि बैंकहरुले ऋण लगानी गर्न सक्नेछन् ।

तेस्रो कारण भनेको ऋण लिनेहरुले भाखाभित्रै बैंकमा चुक्ता गर्नुपर्नेछ । यदि ऋणीहरुले समयमै ऋणको सावाँ तथा ब्याज भुक्तानी गर्ने हो भने तरलताको अभाव नै हुँदैन । तर, अहिले ऋण लिने ठूला ऋणीहरुले बैंकमा पैसा नै तिरेका छैनन् । त्यही कारण सानो रकम ऋण लिएर चलाउन खोज्ने ठूलो वर्ग प्रभावित भएको छ । निश्चित ठूला ऋणीहरुले बदमासी गरेर समयमा ऋणको सावाँ तथा ब्याज चुक्ता नगर्दा थोरै थोरै रकम ऋण लिने ठूलो संख्या प्रभावित बन्नपुगेको हो ।

गभर्नर अधिकारीका अनुसार आवश्यकताभन्दा बढी ऋण लिएर गलत ठाउँमा लगानी गर्ने प्रवृत्तिले पनि बैंकमा पैसाको अभाव देखिएको छ । ऋण लिएपछि एउटै वस्तु पनि धेरै खरिद गरेर स्टक राख्ने गर्नाले ऋणीहरुले समयमै बैंकमा ऋण चुक्ता गर्न नसकेका हुन् । त्यही भएर राष्ट्र बैंकले ऋण लगानीमा पनि बैंकहरुलाई केही कडाइ गरेको हो ।

वस्तु खरिद गर्दै बिक्री सकेर पुनः खरिद गर्दै बिक्री गर्नुपर्नेमा एकैचोटि धेरै ऋण लिएर वस्तु खरिद गरेर थुपार्ने प्रवृत्तिले सबैतिर जाम भएको कारण त्यसमा सचेत रहन उनले व्यापारीहरुलाई आग्रह गरे । ऋण पाइयो भनेर धेरै चामल वा अन्य वस्तु खरिद गरेर कुहाएर राख्ने अनि पछि त्यसलाई फेरि रि–प्रोसेसिङ गरेर नयाँ बिक्री गरेर जनस्वास्थ्यमाथि समेत खेलवाड गर्ने देखिएको कारण ऋण लगानीमा कडाइ गरिएको उनको भनाइ थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया