Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएक अर्ब ५३ करोड १५ लाख संस्थागत निक्षेप लगानी गर्न राष्ट्र बैंकको आह्वान

एक अर्ब ५३ करोड १५ लाख संस्थागत निक्षेप लगानी गर्न राष्ट्र बैंकको आह्वान


काठमाडौं । नेपाल राष्ट्र बैंकले एक अर्ब ५३ करोड १५ लाख रुपैयाँबराबरको संस्थागत निक्षेप लगानीको प्रस्ताव आह्वान गरेको छ । राष्ट्र बैंकका अनुसार विभिन्न कोषमा रहेको रकम सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीहरु समेतले लगानी गर्नसक्ने गरी उक्त प्रस्ताव आह्वान गरिएको हो ।

रकम लगानीको लागि सम्बन्धित बैंक तथा फाइनान्स कम्पनीहरुले यही मंसिर १८ गते अर्थात् आगामी आइतबारसम्म आफ्नो संस्थाले संस्थागत निक्षेपको रुपमा राख्न चाहेको रकम र दिन चाहेको ब्याज समेत तोकेर प्रस्ताव पेस गर्नुपर्नेछ । राष्ट्र बैंकका अनुसार यसरी राखिने रकमको अवधि तीन सय ६६ दिन अर्थात् २०७९ पुस १ देखि २०८० मंसिर ३० गतेसम्मको लागि हुनेछ ।

लगानीको लागि छुट्याइएको कुल रकममध्ये वाणिज्य बैंकहरुको लागि एक अर्ब २२ करोड ५३ लाख, विकास बैंकहरुको लागि २२ करोड ९७ लाख र फाइनान्स कम्पनीहरुको लागि सात करोड ६५ लाख रुपैयाँ छुट्याइएको छ । रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको हुनुपर्नेछ । यीबाहेक तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा (एनपीए) कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने प्रावधानहरु तोकिएका छन् ।

यसैगरी कर्जा तथा स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात यस बैंकले निर्धारण गरेको सीमाभित्र रहेको, सर्वसाधारणको लागि छुट्याइएको सेयर जारी गरिसकेको, निकटतम अघिल्लो आवमा सञ्चालन मुनाफा (व्यवस्थापछि)मा रहेको, लगानी गरिने बैंकको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई राष्ट्र बैंकले जरिवाना गरेको अवस्थामा त्यस्तो जरिवाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक बैंकमा नरहेको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए, फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको, लगानी गरिने बैंक नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिमको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको तथा समस्याग्रस्त घोषणा भएकोमा सो फुकुवा भएको छ महिना अवधि पूरा भएको एवं रियलस्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको हुनुपर्ने प्रावधानहरु तोकिएका छन् ।

२० अर्ब रुपैयाँको रिपो आज
नेपाल राष्ट्र बैंकले मंसिर १५ गते अर्थात् आज बिहीबार २० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । राष्ट्र बैंकको अनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको सहभागिता सुनिश्चित गर्दै बोलकबोलको माध्यमद्वारा उक्त परिमाणमा रिपो जारी गर्न लागिएको हो ।

रिपोको परिपक्व हुने अवधि १४ दिन अर्थात् यही मंसिर २९ गते तोकिएको छ । रिपो खरिदको लागि बिहीबार अपराह्न २ बजेसम्म बोलकबोल पेस गर्नुपर्ने राष्ट्र बैैंकको भनाइ छ । वित्तीय प्रणालीमा तरलता अभावको समस्या देखिँदा राष्ट्र बैंकले आवश्यकताअनुसार रिपो जारी गरेर बजारमा लगानीयोग्य रकम पठाउँदै आएको छ । यसपटक भने अल्पकालीन अवधिको २० अर्ब रुपैयाँ रिपो जारी गरेर बजारमा लगानीयोग्य रकम पठाउन लागिएको राष्ट्र बैंकको भनाइ छ ।

शाखारहित बैंकिङ सेवामा सजगता अपनाउन आग्रह
नेपाल राष्ट्र बैंकले शाखारहित बैंकिङ सेवामार्फत कारोबार गर्दा सजगता अपनाउन प्रयोगकर्ता ग्राहकहरुलाई आग्रह गरेको छ । बुधबार सेवाग्राहीको नाउँमा सूचना जारी गर्दै राष्ट्र बैंकले शाखारहित बैंकिङ सेवामार्फत कारोबार गर्दा सजगता अपनाउन आग्रह गरेको हो ।

राष्ट्र बैंकले भनेको छ, ‘अनुमतिपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले महानगरपालिका तथा उपमहानगरपालिकाबाहेकका बैंक तथा वित्तीय संस्थाको उपस्थिति नभएका स्थानमा आधिकारिक प्रतिनिधि नियुक्त गरी शाखारहित बैंकिङ सेवा उपलब्ध गराउनसक्ने व्यवस्था गरेको छ । बैंकिङ पहुँच अभिवृद्धि गर्ने अभिप्रायले गरिएको यो व्यवस्थाबमोजिम सेवा उपभोग गर्दा विशेष ध्यान दिनुहोस् ।’

सूचनामार्फत राष्ट्र बैंकले सेवा प्रयोगको लागि पाँचवटा सुझावहरु दिएको छ । ग्राहकहरुले बैंक तथा वित्तीय संस्थाको आधिकारिक प्रतिनिधि र सहायक प्रतिनिधिमार्फत मात्र तोकिएको सेवा केन्द्रमा गई कारोबार गर्नुपर्ने, सेवाग्राहीले कुनै पनि कारोबार गर्दा विद्युतीय उपकरणमार्फत गर्नुपर्ने, कुनै पनि कारोबार गरिसकेपछि विद्युतीय उपकरणबाट प्राप्त हुने प्रिन्टेड स्लिप अनिवार्यरुपमा लिई आफूले गरेको कारोबारबमोजिम भए/नभएको एकीन गर्नुका साथै विद्युतीय उपकरणबाट सुनिने आवाज ध्वनिमार्फत आफूले गरेको कारोबारको एकीन गर्न गर्नुपर्ने राष्ट्र बैंकको सुझाव रहेको छ ।

यसैगरी शाखारहित बैंकिङमार्फत रकम जम्मा गर्दा, ऋणको किस्ता तिर्दा अथवा रकम झिक्दा आफूले कारोबार गरेबमोजिमको भए/नभएको बेला–बेलामा खातामार्फत समेत एकीन गर्न, व्यक्तिगत सम्बन्धका आधारमा कसैलाई बैंकमा रकम जम्मा गर्न दिएको भए त्यस्तो रकम सम्बन्धित खातामा जम्मा भए नभएको तुरुन्त एकीन गर्न र सेवा सञ्चालनको सम्बन्धमा केही गुनासा तथा सुझाव दिन पनि राष्ट्र बैंकले आग्रह गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया