Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारइन्फोडेभलपर्स आईसीटी अवार्ड २०२२ सम्पन्न, १४ विधामा अवार्ड वितरण

इन्फोडेभलपर्स आईसीटी अवार्ड २०२२ सम्पन्न, १४ विधामा अवार्ड वितरण


काठमाडौं । लिभिङ विथ आईसीटीले हरेक वर्ष आयोजना गर्दै आएको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आईसीटी अवार्डको ग्रान्ड फिनाले सम्पन्न भएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको ग्रान्ड फिनाले कार्यक्रममा १४ विधामा अवार्ड प्रदान गरिएको थियो ।

सातौँ संस्करणको इन्फोडेभलपर्स आईसीटी अवार्ड वितरण कार्यक्रममा मुख्यसचिव शंकरदास बैरागीले आईसीटीको क्षेत्रमा केही फड्को मारेको भए पनि नेपालले गर्नुपर्ने कामका धेरै क्षेत्र रहेको बताए । ‘आईसीटी जीवन जिउने एउटा तरिका भइसकेको छ’, उनले भने, ‘हरेक क्षेत्रमा आईसीटीले नेतृत्वदायी भूमिका निर्वाह गरेको छ । आईसीटीबाट देशको विकासलाई तीव्रत्तर गतिमा अगाडि बढाउनुपर्छ ।’

त्यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले आईसीटी क्षेत्रको विकासका लागि आवश्यक सहयोग तथा सहकार्य गर्न मन्त्रालय तयार रहेको बताए । यसवर्ष अवार्डका लागि पाँच सय ५० बढीको अनलाइन आवेदन प्राप्त भएको अवार्डका संयोजक राजन लम्सालले जानकारी दिए । त्यसका लागि झन्डै पाँच महिनासम्म छनोट प्रक्रिया सञ्चालन गरिएको थियो । यस वर्ष १४ विधामा आईसीटी अवार्ड प्रदान गरिएको छ भने सातै प्रदेशका उत्कृष्ट सात स्टार्टअपलाई समेत सम्मान र प्रमाणपत्र गरिएको छ ।

यसवर्षको हुवावे स्टार्टअप आईसीटी अवार्ड मोनाल टेकलाई प्रदान गरिएको छ । त्यस्तै प्रडक्ट आईसीटी अवार्ड गल्ली म्याप्सलाई र राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड कारोबार एपलाई प्रदान गरिएको छ । स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार विधामा विभिन्न चरणको छनोटपश्चात् पब्लिक भोटिङसमेत गरिएको थियो । त्यस्तै व्यक्तिलाई प्रदान गरिने इन्टरप्रेनर आईसीटी अवार्ड मंगेशलाल श्रेष्ठ, नेपाली डायस्पोरा आईसीटी अवार्ड डा. वेद काफ्ले, नेपाल टेलिकम पायोनियर आईसटी अवार्ड विजयकृष्ण श्रेष्ठ र एनसेल वुमन आइकन आईसीटी अवार्ड शिला कंसाकार कार्कीलाई प्रदान गरिएको छ ।

संस्थाहरूलाई प्रदान गरिने डिजिटल एजुकेसन आईसीटी अवार्ड (पब्लिक सेक्टर) बाफलको ज्ञानोदय मावि, डिजिटल एजुकेसन आईसीटी अवार्ड (निजी क्षेत्र) खोकनाको ज्ञानोदय बालवाटिका स्कुल, डिजिटल सर्भिसेस आईसीटी अवार्ड फोन–पे र डिजिटल गभर्नेन्स आईसीटी अवार्ड वैदेशिक रोजगार विभागलाई दिइएको छ ।

यस्तै सबैभन्दा बढी पब्लिक भोट ल्याउने ‘टिग’लाई पब्लिक च्वाइस आईसीटी अवार्ड प्रदान गरिएको छ भने साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड चिंगारीलाई प्रदान गरिएको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रका ५० बढी स्टार्टअपको प्रतिस्पर्धाबाट चिंगारीले अवार्ड हात पारेको हो । यसवर्ष स्टार्टअप आईसीटी अवार्ड, प्रडक्ट आईसीटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड २०२२ का विजेताले माइक्रोसफ्ट र ह्वावेबाट क्लाउड सेवाको लागि लाखौँ रुपैयाँबराबरको क्रेडिट पाएका छन् ।

नेपाल टेलिकमले सबै विजेतालाई एक वर्षको लागि हाई स्पिड इन्टरनेट सेवा दिएको छ भने एनसेलले वुमन आइकन आईसीटी अवार्ड विजेतालाई तीन लाख रुपैयाँ नगद दिएको छ । यसैगरी सिल्भर लाइनिङले डिजिटल सर्भिसेस विधामा विशेष सपोर्ट प्याकेज दिएको छ । अन्य स्पोन्सर तथा सहयोगी संस्थाहरूले विभिन्न किसिमले सेवाहरू निःशुल्क प्रदान गरेका छन् । स्टार्टअप तथा प्रडक्टहरूको लागि लगानीको वातावरण बनाउन विभिन्न किसिमका नेटवर्किङ र मिटिङहरू सञ्चालन हुनेछन् ।

अवार्डको सिलसिलामा यसवर्ष स्टार्टअप एन्ड आइडिया फेस्ट, मेन्टरिङ सेसन, स्टोरी सेयरिङ सेसन, फिल्ड भिजिट, प्रिजेन्टेशन तथा स्पिड डेटिङहरू सञ्चालन भएका थिए । कार्यक्रमको महत्वका बारेमा जानकारी दिँदै आईसीटी अवार्ड संयोजक लम्सालले नेपालमा डिजिटल इकोसिस्टम विकास गर्न विगत सात वर्षदेखि अवार्ड आयोजना गरिरहेका बताए । ‘छ महिनादेखिको अथक मिहिनेत र परिश्रमपश्चात् आईसीटी अवार्ड सफलतापूर्वक सम्पन्न गरेका छौँ,’ उनले भने, ‘नयाँ–नयाँ स्टार्टअप, आइडिया र इन्नोभेसनलाई प्रोत्साहन तथा अग्रजलाई सम्मान गर्ने हाम्रो अभियान निरन्तर जारी रहनेछ ।’ कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले स्थानीय तह पनि अब डिजिटलरूपमा अगाडि बढ्नुपर्नेमा जोड दिइन् ।

सातै प्रदेशका सात उत्कृष्ट स्टार्टअप
यस्तै गत चैतदेखि जेठसम्म लिभिङ विथ आईसीटीले सातै प्रदेशममा स्टार्टअप एन्ड आइडिया फेस्ट आयोजना गरेको थियो । देशैभरका स्टार्टअप तथा आइडियालाई प्रवद्र्धन र प्रोत्साहन गर्न आयोजना भएको उक्त कार्यक्रममा सातै प्रदेशका उत्कृष्ट स्टार्टअप छनोट गरिएको आयोजकले जनाएको छ ।

छनोट भएका स्टार्टअप तथा आइडियालाई काठमाडौं ल्याएर तीनदिने विशेष कार्यक्रम सञ्चालन गरिएको थियो भने नेपालका केही ठूला आईटी कम्पनीको भ्रमण पनि गराइएको थियो । सातै प्रदेशबाट छनोट भएका ३५ बढी स्टार्टअप र आइडियामध्येबाट प्रत्येक प्रदेशका सर्वोत्कृष्ट छनोट गरिएको छ । यसअनुसार प्रदेश १ बाट क्युरा हेल्थ, मधेस प्रदेशबाट इजिइट्स, बागमती प्रदेशबाट नलेज एक्सचेन्ज, गण्डकी प्रदेशबाट स्वस्तिक ग्रुप (स्वस्तिक न्युट्री फुड), लुम्बिनी प्रदेशबाट फरिद डटकम, कर्णाली प्रदेशबाट सुर्खेत सफ्ट र सुदूरपश्चिम प्रदेशबाट पाथीभरा सेन्सर सोलुसन उद्योगलाई प्रदेशका उत्कृष्ट स्टार्टअपका रूपमा सम्मान गरिएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया