Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारजाडोभर बिजुली आपूर्तिमा समस्या

जाडोभर बिजुली आपूर्तिमा समस्या

अमेरिका हो र तत्काल बत्ती आउने बनाउन ? पाँच घण्टासम्म अवरोध हुनसक्छ : प्राधिकरणका प्रवक्ता भट्टराई


काठमाडौं । सुख्खायाम सुरु भएसँगै नेपाल विद्युत् प्राधिकरणले नेपालमा उत्पादित बिजुली भारत निर्यात बन्द मात्र गरेको छैन नेपालमा नपुगेर भारतबाट दैनिक बिजुली आयात गरिरहेको छ । मागअनुसार उत्पादन नभएपछि भारतबाट बिजुली ल्याउनु प्राधिकरणको बाध्यता विगतदेखिकै हो । तर, स्वदेशमा उत्पादित र भारतबाट आयातित बिजुली पनि उसले राम्रोसँग वितरण गर्न नसकेर आफ्नो अक्षमता राम्रैसँग देखाइरहेको छ ।

बिजुली व्यवस्थापनमा कुशल भनेर लेप लाइएका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उनको टिमको बिजुली व्यवस्थापनको योग्यतामाथि यो जाडोयाममा राम्रैसँग परीक्षण भइरहेको छ । अहिले दैनिकजसो बिहान र साँझको बेला झ्याप्पझ्याप्प बत्ती जाने मात्र होइन घण्टौँसम्म राजधानी सहरका कयौँ भाग अन्धकार हुने गरेको छ । विना सूचना बत्ती काटिने समस्या राजधानीको मात्र होइन देशका अधिकांश भागको नियति नै बनेको छ । अर्थात् पटक–पटक विना सूचना बिजुली काटिने समस्या अहिले दैनिकजसो देशैभर छ । प्राधिकरणका अधिकारीहरु विभिन्न बहाना बनाएर यसलाई लोडसेडिङ भन्न रुचाउँदैनन् ।

बेला न कुबेला बत्ती जाने समस्याको कारण घरायसी काममा बाधा मात्र परेको छैन साना र ठूला दुवै किसिमका उद्योग/व्यवसायमा समेत समस्या परेको छ । खासगरी साना कुखुरापालक किसानहरु ठूलो मर्कामा छन्, बिजुली आपूर्तिमा देखिएको समस्याको कारण । ‘बिजुली कतिखेर जान्छ भन्न सकिने अवस्था छैन’, एक कुखुरापालक किसानले आर्थिक दैनिकसित भने, ‘लोडसेडिङको तालिका सार्वजनिक गरेको भए त्यहीअनुसार व्यवस्थापन गरिन्थ्यो तर अहिले झ्याप्पझ्याप्प बिजुली जाने मात्र होइन घण्टौँसम्म आउँदैन । लामो समय बत्ती नआउँदा साना चल्लालाई बचाउन सकिँदैन । त्यही भएर जाडोमा खोर खाली राखिएको हो ।’ ती किसानका अनुसार जाडोयाममा सबै किसिमका कुखुरा व्यवसायलाई तातो चाहिन्छ । यही बेला बिजुलीको भरपर्दो आपूर्ति नहुने भएका कारण खोर खाली राख्नुपर्ने बाध्यता बढेको हो ।

विगतमा उद्योग, कलकारखानामा साँझ र बिहानको समयमा बिजुली कटौती गरेर आमसर्वसाधारणको घरायसी प्रयोजनका लागि मात्र बिजुली दिएर लोडसेडिङ हटायो भनेर वाहवाही कमाएका प्राधिकरणका एमडी घिसिङ अहिले भने उद्योगमा पनि लोडसेडिङ गरिहाल्नसक्ने अवस्थामा छैनन् । त्यही भएर कहिले तार त कहिले ट्रान्सफरमरको समस्या देखाएर घिसिङ र उनको टिम उम्किने प्रयास गरिरहेको छ ।  प्राधिकरणले अहिले आफ्नो वेबसाइटमा प्राधिकरणका विभिन्न आयोजनाबाट उत्पादित बिजुली, निजी क्षेत्रबाट उत्पादित र भारतबाट आयातित बिजुली र पिक आवरमा नेपालमा हुने मागलाई बराबर देखाएर सामान्य समस्यामा पनि बिजुली जान सक्छ भन्ने सन्देश दिएको छ ।

प्राधिकरणका अनुसार अहिले स्वदेशमा पिक आवरमा एक हजार पाँच सय २३ मेगावाट बिजुली उत्पादन भइरहेको छ भने भारतबाट एक सय ३० मेगावाट ल्याइएको छ । पिक आवर अर्थात् साँझ ५ः५० बजेटको समयमा माग पनि एक हजार पाँच सय २३ मेगावाट नै छ । यो पुस १३ गते बुधबारको तथ्यांक हो । तर, १३ गतेभन्दा अगाडि र त्यसपछिका पनि प्रत्येक दिन बिहान पनि बिजुली आपूर्तिमा पटक–पटक रोकावट आएको छ । सार्वजनिक विदाको दिन शनिबार बिहान पनि सहरका सामाखुसी, गोंगबु, महाराजगञ्ज, बालाजुलगायतका अन्य क्षेत्रमा पनि पटक–पटक बिजुली आपूर्ति रोकिएको थियो । कतिपय ठाउँमा त यस्तो अवरोध घण्टौँसम्म भएको थियो । आपूर्ति व्यवस्थापनमा सुधार गर्नेभन्दा पनि भाषण गर्दैमा समय खेर फाल्ने प्राधिकरणको नेतृत्वको कारण अहिले अघोषित लोडसेडिङ हुने गरेको हो ।

बिजुलीको आपूर्तिमा समस्या आएपछि आम उपभोक्ताले प्राधिकरणको नेतृत्वप्रति प्रश्न उठाए पनि माग धेरै, तार र ट्रान्सफरमर जल्ने, ट्राफिक जाम, कर्मचारीको अभावजस्ता समस्या देखाएर प्राधिकरणको नेतृत्व भन्नासाथ बिजुली दिन नसकिने भनेर तर्कने गरेको छ । अझ प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराई त यो अमेरिका हो र भन्नासाथ बिजुली दिने भनेर उनी एक÷दुई घण्टा होइन पाँच घण्टासम्म अन्धकार हुन सक्ने गैरजिम्मेवार तर्क गर्छन् ।  ‘जाडोयाम सुरु भएर अहिले विद्युत्को माग धेरै भएको छ । ओभरलोडको कारण क्षमताले नधानेर कतिपय ठाउँमा केबल जल्ने त कतै ट्रान्सफरमर नै जल्ने समस्या छ, त्यसले गर्दा बिजुलीको आपूर्तिमा अवरोध आएको हो’, प्रवक्ता भट्टराईले शनिबार आर्थिक दैनिकसित भने, ‘यो अमेरिका होइन तत्काल समस्या समाधान गरेर बिजुली आपूर्ति सुचारु गर्न । समस्याअनुसार एक, दुई, तीन वा पाँच घण्टासम्म पनि बिजुली जान सक्छ ।’

प्रवक्ता भट्टराईका अनुसार तार वा ट्रान्सफरमर जलेपछि प्राधिकरणको स्टोरबाट ल्याउन प्रक्रिया पूरा गर्नुपर्छ भने कुनै बेला गाडी चलाउने ड्राइभर हुँदैन, कुनै बेला स्टोरमा कर्मचारी हुँदैनन् भने कुनै बेला सामान र मानिस भए पनि लामो ट्राफिक जामका कारण समयमा सामान ल्याइपु-याउन सकिँदैन । त्यही भएर घण्टौँसम्म लाइन जाने गरेको हो । ‘बिजुली नपुगेर होइन, जलेको सामान स्टोरबाट ल्याउन र फेर्न समय लागेको कारण लामो समय बिजुली जाने गरेको हो’, प्रवक्ता भट्टराईले भने, ‘अहिले जाडोमा अमेरिकाको कतिपय ठाउँमा त कयौँ दिनसम्म बिजुली गएको छ । हाम्रोजस्तो देशमा जानु स्वाभाविक हो । हामीसँग तत्काल बिजुली आपूर्ति गर्ने जादुको छडी त छैन नि!’, प्रवक्ता भट्टराईले आर्थिक दैनिकसित भने ।

प्राधिकरणका आधिकारिक व्यक्तिहरुको यस्ता गैरजिम्मेवार भनाइले बिजुली आपूर्तिको व्यवस्थापनमा प्राधिकरणको नेतृत्व खासै संवेदनशील छैन भन्ने यसले देखाउँछ । भट्टराईले अहिले प्राधिकरणले भारतबाट दैनिक सरदर पाँच हजार मेगावाट आवर बिजुली आयात गरिरहेको र यो दर कहिले बढ्ने र कहिले घट्ने बताए । उनका अनुसार भारतबाट आगामी वैशाख अन्त्य वा जेठको पहिलो सातासम्म बिजुली आयात गरिरहनुपर्नेछ । बिजुली आयात गरे पनि प्राधिकरणले माग धान्ने क्षमताको तार र ट्रान्सफरमरको व्यवस्था गर्न नसकेको कारण चाँडो चाँडो जल्ने गरेको हो । जलेको सामान फेर्न समय लगाइदिँदा अर्को ठाउँमा बिजुली आपूर्ति सहज हुने गरेको छ ।

यसैलाई आम सर्वसाधारणले अघोषित लोडसेडिङ भनेका हुन् । सबै ठाउँमा माग धान्ने क्षमताको केबल र ट्रान्सफरमर भयो भने बिजुली नपुग हुनसक्छ । त्यही भएर प्राधिकरणले कतिपय ठाउँमा जानाजान कमजोर प्रणाली जडान गरेको आमउपभोक्ताको बुझाइ छ । प्राधिकरणका प्रवक्ताको भनाइअनुसार जाडो याममा कहिले कुन ठाउँमा त कहिले कुन ठाउँमा माग बढी हुन्छ भन्ने एकीन गर्न नसकिने कारण बिजुली आपूर्तिमा समस्या कायमै रहन सक्तछ । ‘जाडोमा जहाँ माग बढी हुन्छ त्यहाँको केबल र ट्रान्सफरमरको क्षमताले नधान्नु स्वाभाविक हो । यस्ता समस्या जाडोभर भइरहन्छ’, प्रवक्ता भट्टराईले भने ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया