Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविराटनगर भन्सारको आईसीपी गोदाम ठेक्का विवादमा

विराटनगर भन्सारको आईसीपी गोदाम ठेक्का विवादमा


शंकर लुइँटेल
विराटनगर, फागुन २९
विराटनगर भन्सारको आईसीपी गोदाम ठेक्का विवादमा परेको छ । नेपाल सरकारले भन्सार विभाग मार्फत आईसीपीको ठेक्का आव्हान नगररिकन कुनै निजी कम्पनीलाई आईसीपीको गोदाममा सामान राखे वापत भाडा असुली गर्न दिएपछि विवाद बढेको हो । विराटनगर भन्सारले विनाप्रतिस्पर्धा ट्रान्स नेपाल नामक कम्पनीलाई रकम संकलन गर्ने जिम्मा दिएको छ । भारत सरकारको पूर्ण अनुदान सहयोगमा आईसीपी निर्माण भएको थियो । विराटनगर भन्सारको आईसीपी सञ्चालनमा आएको छोटो समयमा नै विवादित बन्नु भन्सार कर्मचारीको गैरजिम्मेवारीको उपज भएको स्थानीय उद्योगी तथा व्यापारीले बताएका छन् ।

भारत र नेपालका प्रधानमन्त्रीबाट संयुक्तरूपमा उद्घाटन गरी सञ्चालनमा ल्याए पनि नेपाल सरकारले भन्सार विभागमार्फत आईसीपीको ठेक्का आह्वान नगरिकन आईसीपीको गोदाममा सामान राखेबापत भाडा असुली गर्न ट्रान्स नेपाललाई जिम्मा दिएको छ । तर, भन्सारका कर्मचारीले भने ट्रान्स नेपालको एक महिना अवधि बाँकी रहेकोले जिम्मा दिएको बताएको छ । विराटनगरका उद्योगी मुकेश राठीको ट्रान्स नेपाल नामक निजि कम्पनीले लामो समयदेखि विराटनगर भन्सारमा रहेको गोदामको ठेक्का पाउँदै आएको थियो । तर, पछिल्लो समय विराटनगर भन्सारको नयाँ आईसीपी भवनबाट भन्सारसम्बन्धी काम सबै सञ्चालन हुन थालेसँगै ट्रान्स नेपालले नयाँ सम्झौता नै नगरिकन आईसीपी कब्जा गरेको व्यवसायीको दाबी छ ।

ट्रान्स नेपालले आईसीपीको गोदाममा सामान राखेबापत उद्योगी, व्यापारी तथा भन्सार एजेन्टहरूसँग निश्चित रकम असुली गर्नुपर्नेमा उक्त काम आफूखुसी गर्न थालेपछि विराटनगर भन्सारको आईसीपी प्रकरणमा भन्सार प्रमुख शिव भण्डारीसमेत विवादमा तानिएका छन् । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको आईसीपीमा ट्रान्स नेपाल नामक निजी कम्पनीबाट मनलागी भाडा असुली गर्दासमेत भन्सार प्रमुख मौन बसेपछि अहिले ट्रान्स नेपालसँगै विराटनगर भन्सारसमेत विवादमा पर्न पुगेको हो । यसरी असुल गरिएको रकम कमिसनबापत सञ्चालक मुकेश राठीले भन्सार प्रमुखदेखि जिम्मेवार कर्मचारीसमेतलाई दिने गरेको रहस्य पनि समाचार स्रोतले खोलेको हो । ट्रान्स नेपालका नाममा सञ्चालक राठीबाट चलखेल हुँदासमेत भन्सार विभागदेखि अर्थ मन्त्रालयसम्म सरकारी राजस्व असुली गर्नेतर्फ अहिलेसम्म किन उदासीन छ भन्दै उद्योगी तथा व्यापारीहरूले प्रतिप्रश्न गर्न थालेपछि भन्सार प्रमुख र आईसीपीका ठेकेदारबीचको सामिप्यता खुल्न पुगेको हो ।

भन्सार स्रोतले दिएको जानकारीअनुसार उद्योगी मुकेश राठीको ट्रान्स नेपाल नामक कम्पनीले विराटनगर भन्सार कार्यालयको पुरानो भन्सार गोदामको मात्र ठेक्का पाएको हो । अहिले उसको ठेक्काको अवधि पनि सकिन लागेको कुरा थाहा भएको छ । उक्त ठेक्का ट्रान्स नेपालले अर्थ मन्त्रालयमार्फत पुरानो गोदामको लागि मात्र पाएको कुरा बताइन्छ । भर्खरै सञ्चालनमा आएको आईसीपीमा भन्सार क्लियरिङ गर्ने भन्सार एजेन्टसमेतलाई दैनिक काम गर्ने व्यवस्था सरकारले मिलाउन नसकेको अवस्थामा पुरानो भन्सारबाटै भन्सार क्लियरिङको काम भइरहँदा पुरानो भन्सार गोदामका ठेकेदार राठीले पुरानो सम्झौता भन्दै नयाँ आईसीपीबाट दैनिक लाखौँ रूपैयाँ असुल गर्नु मनासिव देखिँदैन भन्ने तर्क व्यवसायीले गरेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया