Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारफागुन ७ गते ऐतिहासिक महत्वको दिन हो : प्रधानमन्त्री

फागुन ७ गते ऐतिहासिक महत्वको दिन हो : प्रधानमन्त्री


काठमाडौं । ७३औँ राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । विक्रम संवत् २००७ फागुन ७ गते १०४ वर्षसम्म चलेको जहानियाँ राणा शासन अन्त्य भई नेपालमा प्रजातन्त्र स्थापना भएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो ।

विसं २००८ पछि सरकारले नै मूल समारोह समिति गठन गरी सैनिक मञ्चमा विशेष समारोह आयोजना गरी प्रजातन्त्र दिवस मनाउन सुरु गरेको हो । यस अवसरमा विभिन्न संघ संस्थाले पनि कार्यक्रम आयोजना गर्दै आएका छन् । सरकारले फागुन ६, ७ र ८ गते तीन दिनसम्म विशेषरूपमा दिवस मनाउन आह्वान थियो । प्रजातन्त्र दिवसलाई विसं २०४६, २०६३ र २०६५ का परिवर्तनको जगका रूपमा सम्झना गरी विभिन्न कार्यक्रम आयोजना गरिन्छ । प्रजातन्त्र दिवसकै जगमा करिब ७० वर्षपछि संविधानसभाबाट संविधान जारी भएकाले पनि यो दिवसको विशेष महत्व रहेको छ । मूल समारोह समितिले आइतबार टुँडिखेलमा आयोजना गरेको विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन ७ गते नेपाल र नेपाली जनताका निम्ति ऐतिहासिक महत्वको दिन भएको बताए । आजभन्दा ७३ वर्ष अगाडि हाम्रा पुर्खाले प्रजातान्त्रिक अधिकारका निम्ति जीवनमरणको सङ्घर्षमार्फत जहानियाँ निरंकुश व्यवस्थामाथि विजय हासिल गरेको उनले उल्लेख गरे ।

‘निरंकुश जहानियाँ राणाशासनको अन्त्य गर्दै प्रजातन्त्रको स्थापना गर्ने नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षदेखि वर्तमानसम्म देशमा निकै ठूला क्रान्ति, आन्दोलन र सङ्घर्ष भएका छन् । ती सबै क्रान्ति, आन्दोलन र सङ्घर्षले लोकतन्त्र, शान्ति, अग्रगमन, सामाजिक न्याय र आर्थिक–सामाजिक रूपान्तरणका निम्ति ऐतिहासिक भूमिका निर्वाह गरेका छन्’, उनले भने । प्रधानमन्त्री दाहालले यस ऐतिहासिक अवसरमा ती सबै आन्दोलनप्रति उच्च सम्मान व्यक्त गर्दै समाजवादोन्मुख राज्यको आधार तयार पार्ने राष्ट्रिय कार्यभारमा एकजुट भएर लाग्न सम्पूर्ण जनसमुदायमा अपिल समेत गरे । लोकतन्त्रका राजनीतिक, आर्थिक र सामाजिक आयामको उच्चतम तथा परिष्कृत अभ्यासबाट मात्र जनस्तरमा लोकतन्त्रप्रतिको गहिरो विश्वास, आत्मीयता एवं व्यवस्थाको रक्षा तथा निरन्तर विकासका निम्ति अपनत्वबोध पैदा हुने उनले बताए ।

प्रधानमन्त्री दाहालले लोकतन्त्रको संस्थागत सुनिश्चितता, सङ्घीयताको गतिशील कार्यान्वयन तथा शासन प्रक्रियामा जनताको सक्रिय र उत्साहजनक सहभागिताबाट मात्र प्रजातन्त्रको निरन्तर सुदृढीकरण एवं समाजवादको आधार तयार पार्न सम्भव हुने उल्लेख गरे । ‘सामाजिक न्याय, समानता र समृद्धिका माध्यमबाट जनतालाई परिवर्तनको वास्तविक अनुभूति दिलाउँदै बदलिएको व्यवस्थाअनुरूप जनताको अवस्था बदल्ने महत्वपूर्ण कार्यभार हाम्रासामु छ । जनताको जागरुकता र अपनत्वले मात्र लोकतन्त्रको निरन्तर विकास तथा दिगोपन सम्भव छ’, उनले भने । लोकतन्त्र र लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ गर्दै दशकौँ देखिको नेपाल र नेपाली जनताको विकास तथा समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्न सकिने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले उपेक्षित, उत्पीडित, सीमान्तकृत एवं विभेदमा पारिएका वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको राज्यमा समानुपातिक प्रतिनिधित्व एवं आर्थिक जीवनमा गुणात्मक रूपान्तरणको माध्यमबाट मात्र सामाजिक न्यायको प्रत्याभूत गर्न, सुशासन र समृद्धिलाई गति दिन सकिने बताए ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ एवं प्रभावकारी कार्यान्वयन गरेर नै मुलुकको लोकतान्त्रिक प्रणाली र संविधानको प्रगतिशील कार्यान्वयन सम्भव रहेकामा जोड दिँदै प्रधानमन्त्री दाहालले संविधानले अवलम्बन गरेको सामाजिक न्याय र समानतामा आधारित समाजवादोन्मुख अर्थतन्त्रको निर्माण गर्ने तथा समावेशी आर्थिक समृद्धि हासिल गर्नका लागि बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता रहेको उल्लेख गरे । देशको राजनीति र अर्थतन्त्रले संकटपूर्ण परिस्थितिको सामना गरिरहेको पृष्ठभूमिमा गठन भएको नयाँ सरकार राष्ट्रिय सहमतिसहित सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकता निर्धारित गर्दै जनताको अवस्था बदल्न, सरल र सहज सेवाप्रवाहमार्फत सुशासनको प्रत्याभूत गर्न अग्रसर रहेको उनको भनाइ छ । अर्थतन्त्रका चुनौती सम्बोधन गर्दै समृद्धि संस्थागत गर्न, संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा मुलुकमा दिगो शान्ति स्थापित गर्न, देशको भूराजनीतिक अवस्थालाई हृदयङ्गम गर्दै स्वतन्त्र र सन्तुलित कूटनीतिक सम्बन्ध स्थापित गर्न सरकार दृढ रहेको प्रधानमन्त्री दाहालले बताए ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सर्वाेच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको उपस्थिति रहेको थियो । यसैगरी उपप्रधानमन्त्री, मन्त्री, सांसद, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख लगायतको पनि सहभागीता थियो । कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टोलीले मार्चपास गर्नुका साथै विभिन्न कालजयी गीत प्रस्तुत गरेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #8, #Page 8

तपाईको प्रतिक्रिया