Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारधार्मिक पर्यटन प्रवर्द्धन गर्दै ‘महाआरती’

धार्मिक पर्यटन प्रवर्द्धन गर्दै ‘महाआरती’


राँझा । नेपालगञ्जस्थित बागेश्वरी मन्दिरमा सुरु भएको साप्ताहिक ‘महाआरती’ ले धार्मिक पर्यटन प्रवर्द्धन गरेको छ । प्रत्येक सोमबार हुने महाआरतीमा सहभागी हुन भक्तजनको घुइँचो लाग्ने गरेको छ । महाआरतीमा नेपालगञ्ज नगरवासीलगायत टाढा–टाढाबाट स्वःस्फुर्तरूपमा भक्तजन सहभागी हुने गरेका छन् ।

बागेश्वरी मन्दिरमा चौथो महाआरतीमा सोमबार अहिलेसम्मकै सबैभन्दा धेरै भक्तजनको घुइँचो लागेको बागेश्वरी गुठी व्यवस्थापन समितिले जनाएको छ । पण्डित वा बटुकद्वारा बैद्धिकमन्त्र उच्चारण गरी सङ्कल्पसहित पूजाअर्चना गरेर धार्मिक विधिअनुसार महाआरती गरिने बागेश्वरी मन्दिरका मूल महन्थ चन्दननाथ योगी बताउँछन । उनका अनुसार महाआरतीमा तीन जना पण्डितले चारै दिशातर्फ फर्किएर आरतीका विधि पूरा गर्ने र सन्ध्या आरतीपछि भजनकीर्तन पनि गर्ने गरिएको छ । महाआरतीमा सहभागी हुँदा पितृमोक्षका साथै मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ ।

‘वेष्टर्न ट्राभल मार्ट’को अवसरमा गत माघ १५ गतेदेखि साप्ताहिकरूपमा बागेश्वरी मन्दिरमा महाआरती सुरु गरिएको थियो । ट्राभल एजेन्ट्स एशोसिएशन अफ नेपाल (नाट्टा) बाँके च्याप्टरको पहलमा बागेश्वरी गुठी व्यवस्थापन समिति र नेपालगञ्ज उपमहानगरपालिकासँगको सहकार्यमा प्रत्येक सोमबार अपराह्न ५ बजेपछि महाआरती हुने गरेको छ । महाआरतीको अवसरमा बागेश्वरी मन्दिर परिसरमा भक्तजनले स्वःस्फुर्तरूपमा भजनकीर्तन र नाचगान गर्ने गरेका छन् । बागेश्वरी मन्दिरमा प्रत्येक सोमबार हुने महाआरतीले धार्मिक पर्यटक प्रवद्र्धनमा सघाउ पुगेको नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले राससलाई जानकारी दिए ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले बागेश्वरी मन्दिरमा महाआरती सञ्चालन गर्न नेपालगञ्ज उपमहानगरपालिकाले सक्दो सहयोग गर्ने जानकारी दिए । महाआरतीले धार्मिक पर्यटन प्रवद्र्धनका साथै नगरवासीमा धार्मिक आस्थाप्रति रुचि बढ्ने उनको भनाइ छ ।


क्याटेगोरी : प्रदेश समाचार, लुम्न्बिनी प्रदेश, समाचार

तपाईको प्रतिक्रिया