Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशसोलुुमा लम्पी स्किनका कारण २४ पशु मरे

सोलुुमा लम्पी स्किनका कारण २४ पशु मरे


सोलुखुम्बु । लम्पी स्किनका कारण सोलुखुम्बुमा घरपालुवा पशुचौपाया मर्न थालेका छन् । जिल्लाको विभिन्न स्थानीय तहको पशुचौपायामा फैलिएको लम्पी स्किन महामारीले २४ वटा गाईगोरू मरेको सम्बन्धित स्थानीय तहको पशु शाखाले जनाएको छ ।

यसरी मर्नेमध्ये सबैभन्दा बढी थुलुङ दुधकोशी गाउँपालिकामा १२ वटा रहेको छ । त्यस्तै, नेचासल्यान गाउँपालिकामा छवटा, लिखुपिके गाउँपालिकामा पाँचवटा र महाकुलुङ गाउँपालिकामा एउटा गाईगोरू मरेको पशु सेवा शाखाले जानकारी दिएको छ । जिल्लाभर नौ सय ८४ पशु लम्पी स्किनबाट संक्रमित भएको तथ्यांकले देखाएको छ । थुलुङ दुधकोशी गाउँपालिका चार सय ३०, नेचासल्यान गाउँपालिकामा तीन सय पाँचवटा पशु संक्रमित भएका छन् ।

यस्तै, लिखुपिके गाउँपालिकामा एक सय छवटा, सोलुदुधकुण्ड नगरपालिकामा कम्तीमा १५ वटा, महाकुलुङ गाउँपालिकामा ४८ वटा, सोताङ गाउँपालिकामा ५० वटा र माप्यदुधकोशी गाउँपालिकामा ३० वटा पशु संक्रमित भएको पशु शाखाहरूबाट प्राप्त तथ्याङ्कमा उल्लेख छ । केही पशुहरू संक्रमणमुक्त भए पनि धेरजसो पशुहरू बिरामी परेको पशु प्राविधिकहरूले बताएका छन् । नियमन्त्रणको यकिन औषधि नभए पनि भ्याक्सिन तथा एन्टिबायोटिक प्रयोग गरिरहेको प्राविधिकहरूको भनाइ छ ।

पशु प्राविधिकका अनुसार यस्ता रोगको संक्रमण लागेका पशुहरूलाई उच्च ज्वरो आउने, नलिका ग्रन्थ सुनिने, शरीरमा गिर्खा र डल्लाहरू आउने हुन्छ । यस्तो खटिराहरू नाक मुख, शरीर, घाँटी र थुनमा धेरै आउँछ । घाउहरू बिस्तारै दुख्दै जाने, घाउ पाक्ने, अल्सर हुने हुन्छ । संक्रमणका कारण दुध उत्पादन घट्ने र संक्रमित पशुको मृत्यु नै हुने विभागले जनाएको छ । यो रोग रगत चुस्ने किरा प्रजातिबाट एक पशुबाट अर्को पशुमा सर्ने गरेको विज्ञको भनाइ छ । लामखुट्टे, भुसुना, किर्ना, रगत चुस्ने झिंगाबाट अहिलेसम्म यो रोग फैलिएको पाइएको छ ।


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश, बिबिध
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया