Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपर्यटन उधोगपोखरालाई सुविधासम्पन्न महानगर बनाउछौं: मेयर आचार्य

पोखरालाई सुविधासम्पन्न महानगर बनाउछौं: मेयर आचार्य


पोखरा । पोखरा महानगरका मेयर धनराज आचार्यले पोखरालाई सुविधा सम्पन्न महानगर बनाउने बताएका छन् । विभिन्न दातृ निकायहरुले पोखराको भौतिक निर्माणको लागि ठुलो रकम सहयोग गरेको भन्दै उनले यसबाट सुविधासम्पन्न महानगर बन्ने दाबी गरेका हुन् ।

तालचोक–बेगनास, दोबिल्ला–पुँडीटार, शिशुवा–सिसाघाटलगायत सडक निर्माणपछि पोखरा समृद्धि बन्ने उनको दाबी छ । पृथ्वी राजमार्गको स्तरोन्नति ढिला भएको स्वीकार गर्दै उनले चिनिया निर्माण कम्पनीसँग महानगरले पटक–पटक ताकेता गरेसँगै कामले गति लिएको पनि बताए । उनले विकास–निर्माणका कामहरु समयमै सम्पन्न गर्नका लागि महानगर दत्तचित्त रहेको बताए ।

कास्की हेभी इक्विपमेन्ट व्यवसायी संघको आठौं साधारणसभा उद्घाटन गर्दै उनले ठेक्का लाग्ने तर समयमा काम सम्पन्न नहुनुमा निर्माण कम्पनीहरुको पनि दोष रहेको आरोप लगाए । उनले पोखराले महानगरले समयमै कामको भुक्तानी गर्ने प्रतिवद्धतासमेत जनाए ।

मेयर आचार्य निर्माण व्यवसायीहरुले समयमा भुक्तानी नपाउँदा, प्रक्रिया झन्झटिलो हुँदा तथा कतिपय अवस्थामा कर्मचारीहरु रिझाउनै पर्ने अवस्था रहेको भन्ने व्यवसायीहरुले उठाएको गुनासो रहँदै अएको भन्दै त्यसतर्फ पनि आफ्नो ध्यान गएको बताए । हेभी इक्विपमेन्ट व्यवसायीहरुले गरेको ठूलो लगानीको संरक्षण हुनुपर्ने बताउँदै उनले व्यवसायीहरुलाई पनि अस्वस्थ प्रतिस्पर्धा नगर्न आग्रह गरे ।

ठुला मेसिनहरु चलाउने चालकको अभावबारे आफू जानकार रहेको बताउँदै मेयर आचार्यले दक्ष जनशक्ति उत्पादन तथा थप तालिमको लागि महानगरले सघाउने प्रतिवद्धता जनाए । कास्की हेभी इक्विपमेन्ट व्यवसायी संघका अध्यक्ष बालकृष्ण कोइरालाले राज्यले लिएको गलत नीति, हेभी इक्विपमेन्ट व्यवसायीलाई हेर्ने गलत दृष्टिकोण कारण व्यवसायीहरुमा निराशा छाएको बताए । उनले विकास बजेट खर्च नहुँदा मेसिनहरु थन्किएर बसेको जिकिर गरे ।

अध्यक्ष कोइरालाले तीनवटै तहका सरकारसँग विकासको गति बढाउन, स्वदेशी निर्माण व्यवसायीहरुको संरक्षणको लागि विशेष अभियान संचालन गर्न, राष्ट्र निर्माणमा सघाउने हेभी इक्विपमेण्ट तथा अपरेटरको जीवन बीमामा सहुलियत प्रदान गर्न, कामको सहज अनि छिटो भुक्तानीको प्रत्याभूति गर्न, लाइसेन्स प्रक्रिया सहज बनाउन एवं दक्ष जनशक्ति उत्पादनको लागि विशेष योजनासहित अगाडि बढ्न माग पनि गरे ।

नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष उमाकान्त शर्माले पनि विकास निर्माणको काम सुस्त हुँदा र भुक्तानी समयमा नहुँदा देशभर रहेका हेभी इक्विपमेण्ट व्यवसायीहरु पीडित भएको बताए । कास्की हेभी इक्विपमेन्ट व्यवसायी संघका सचिव भीम केसीले बुझ्दै नबुझी हेभी इक्विपमेन्ट खरिद गरी व्यवसाय थाल्ने तथा आफू नजिकालाई व्यवसायी बनाउन खोज्ने जनप्रतिनिधिहरुको गतिविधिले सच्चा व्यवसायी नजन्मने उद्घोष गरे । उनले व्यवसायीहरुबीचको अस्वस्थ प्रतिस्पर्धा र भुक्तानीमा देखिँदै आएको समस्या हामी आफैंले सल्टाउनुपर्नेमा पनि जोड दिए ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की र लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, नेपाल इन्स्योरेन्स कम्पनीका गण्डकी प्रमुख कल्याण अधिकारी, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक भानु शर्मा, हेभी इक्विपमेण्ट मेकानिकल संघका अध्यक्ष नेत्रबहादुर अधिकारी, हेभी इक्विपमेण्ट महासंघका संस्थापक अध्यक्ष ताराबहादुर कुँवर, केन्द्रीय सदस्यहरु प्रभुराम श्रेष्ठ र खिन्तबहादुर भण्डारी, कास्की हेभी इक्विपमेण्ट व्यवसायी संघका संस्थापक अध्यक्ष लीलामोहन कुइँकेल, हेभी इक्विपमेण्ट व्यवसायी महासंघका महासचिव सुरेश खत्री, निवर्तमान अध्यक्ष तथा गण्डकी प्रदेश संयोजक निश्चल पोखरेल, संस्थाका कोषाध्यक्ष सुमन तिमिल्सिना, सचिव भीम केसीलगायतले बोलेका थिए ।


क्याटेगोरी : पर्यटन उधोग

तपाईको प्रतिक्रिया