Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपर्यटन उधोगश्रमनेपालमा काम गर्छन् १२ हजार दक्ष विदेशी श्रमिक

नेपालमा काम गर्छन् १२ हजार दक्ष विदेशी श्रमिक


नेपालको वैदेशिक मुद्राको प्रमुख स्रोत रेमिट्यान्स हो । विदेशमा श्रम गर्न जानेहरूले पठाउने विदेशी मुद्राबाटै हाम्रो अर्थतन्त्र चलिरहेको छ । देशभित्र रोजगारी नपाएर विदेश श्रम गर्न जाने युवाको संख्या हरेक वर्ष बढ्दै गएको छ । विदेशमा श्रम गर्न जानेमध्ये अधिकांश कुनै सीप नभएका अदक्ष जनशक्ति छन् । सीप नहुँदा देशभित्रै सिर्जना हुने रोजगारीका लागि युवाहरू वैदेशिक जानुपर्ने बाध्यता छ । सरकारले देशभित्रै दक्ष जनशक्ति उत्पादन गर्न ध्यान नदिँदा विदेशबाट ल्याउनुपर्ने बाध्यता छ । नेपालमा विभिन्न उद्योग, सडक पूर्वाधार, जलविद्युत् आयोजनालगायतका परियोजनामा विदेशबाट दक्ष जनशक्ति ल्याउनुपर्ने अवस्था छ । विभिन्न उद्योग तथा व्यवसायमा आवश्यक पर्ने इन्जिनियर, पाइलट, चिकित्सक, प्राविधिकलगायतका दक्ष जनशक्तिहरू स्वदेशमा नहुँदा श्रम स्वीकृति प्रदाान गरी विदेशबाट ल्याउने गरिएको छ । एकातर्फ स्वदेशमा रोजगारी नपाएर अधिकांश युवा विदेशमा काम गर्न गइरहेका छन् भने अर्कोतिर देशभित्रै दक्ष जनशक्ति नहुँदा बाहिरबाट ल्याउनुपर्ने बाध्यात्मक परिस्थिति रहेको श्रम तथा सुरक्षाजन्य विभागले जनाएको छ । विभागको तथ्यांकअनुसार माघ १३ गतेसम्म १२ हजार पाँच सय ४९ जना विदेशी नागरिकले नेपालमा काम गर्न श्रम स्वीकृति लिएका छन् । यसमध्ये ११ हजार ९९ जना पुरुष र एक हजार चार सय ५० जना महिला छन् । यो तथ्यांक २०७३ पुस १७ गतेयताको हो ।यो अवधिमा सात हजार नौ सय ६० जनाले नयाँ श्रम स्वीकृति लिएका छन् भने चार हजार पाँच सय ८९ जनाले श्रम स्वीकृति नवीकरण गरेका छन् । विभागको तथ्यांकअनुसार दक्ष विदेशी श्रमिक एक पटक आएपछि लगातार नेपालमै काम गरिरहेको पाइएको छ । विभागका प्रवक्ता इन्जिनियर मणिनाथ गोपका अनुसार परियोजनासँगको सम्झौताका कारण लामो समय बस्नुपर्ने हुँदा उनीहरू नेपालमा काम गरेर बस्ने गरेका छन् । विदेशी श्रमिकलाई दिने सेवा–सुविधा पनि राम्रो भएका कारण उनीहरू यहाँ आएपछि लामो समय काम गर्न चाहना राख्ने गरेका छन् । जसले गर्दा नयाँ श्रम स्वीकृति लिने र नवीकरण गर्ने गैरनेपाली नागरिकको संख्या बढ्दो क्रममा देखिन्छ ।

यद्यपि उनीहरू आफ्नो मुलुकमा काम नपाएर यहाँ आएका भने होइनन् । अधिकांश श्रमिक युरोप, अमेरिका, भारतलगायतका मुलुकबाट आउने गरेका छन् । धेरै मुलुकबाट विदेशी श्रमिक आउने हुँदा कुन–कुन मुलुकका दक्ष श्रमिक आवश्यक पर्छ भनी यकिन गर्न भने कठिन छ । नेपालसँग सिमाना जोडिएको भारत र चीनदेखि लिएर जापान, कोरिया, कुवेत, मलेसिया, भुटान, बंगलादेशलगायतका मुलुकबाट समेत नेपालमा काम गर्न आउने गरेका छन् । त्यस्तै अमेरिका, बेलायत, जर्मनी, अमेरिका, फ्रान्स, स्पेन, केन्या, चिल्ली, कम्बोडिया, इथियोपियालगायतका मुलुकबाट पनि नेपालमा काम गर्न आउने गरेका छन् । अन्य मुलुकको तुलनामा अफ्रिकन मुलुकबाट कम श्रमिक आउनेगरेका छन् ।नयाँ र पुनः श्रम स्वीकृति लिनेमा सबैभन्दा धेरै चिनियाँ र बेलायती श्रमिक छन् । यो अवधिमा आठ हजार आठ सय ९५ जना चिनियाँ र पाँच सय ५३ जना बेलायती नागरिक नेपाल काम गर्न आएका छन् । त्यस्तै, चार सय चार जना अमेरिकी, दुई सय ५४ जना भारतीय, दुई सय ९४ जना दक्षिण कोरियाली, दुई सय ५५ जना जापानिज, एक सय ३७ जना अष्ट्रेलियन, एक सय ३० जना श्रीलंकन, एक सय १५ जना जर्मन, ८५ जना इटालियन, ९५ जना फ्रान्सेली, ९६ जना फिलिपिनी र ४९ जना स्पेनी दक्ष कामदार अहिले पनि नेपालमा काम गरिरहेका छन् । यस्तै, नाइजेरियन ४९ जना, भियतनामी २९ जना, भनेजुयला सात जना, सर्बियन पाँच जना, यमन चार जना कार्यरत छन् । युद्धरत मुलुक युक्रेनबाट २० जना र पेलेस्टाइनबाट दुई जना व्यक्ति नेपालमा श्रम स्वीकृति लिएर काम गरिरहेका छन् । चिनियाँ सहयोगको परियोजना सञ्चालन भएको हुँदा चिनियाँ नागरिकको संख्या बढी भएको बताइएको छ । बेलायती, अमेरिका, भारतीय नागरिक भने लामो समयदेखि यहाँ कार्यरत हुँदा श्रम स्वीकृति नवीकरण गरी कार्यरत भई बसेको पाइन्छ । विदेशी श्रमिकको संख्या बढ्दा यसको आपूर्तिकर्ता समेत बढ्दै गएको विभागले जनाएको छ । विभागका अनुसार हालसम्म चार सय ३१ वटा आपूर्तिकर्ता संस्था रहेको छ । जसमा एक सय ५५ वटा नयाँ र दुई सय ७६ वटा पुराना संस्थाहरू हुन् । ती संस्थाहरूले विदेशी श्रमिक ल्याउनका लागि सहजीकरणका साथै श्रम स्वीकृति, टिकट व्यवस्थापनलगायतका काम गर्दै आएका छन् । मुलुकको उद्योग, प्रतिष्ठान, व्यापारलगायतका क्षेत्रको उत्पादकत्व अभिवृद्धि गर्न सहयोग पु¥याउने उद्देश्यले विदेशी श्रमिकलाई श्रम स्वीकृति दिँदै आएको पाइन्छ ।

यसैबीच विदेशी श्रमिकहरू अनिवार्य श्रम स्वीकृति तथा श्रम स्वीकृति नवीकरण गरी नेपालमा काम गरेर बस्न पाउने कानुनी व्यवस्था गरिएको छ । अर्कोतर्फ बाध्यकारी व्यवस्थाका कारण दक्ष विदेशी कामदार मात्र नेपाल आएको विभागले जनाएको छ । श्रम ऐन २०४८ (संशोधन २०५४)ले दक्ष गैरनेपाली नागरिकलाई श्रम इजाजत दिने व्यवस्था गरेको छ । श्रम ऐन, २०४८ को दफा ४ (क)मा कुनै दक्ष प्राविधिक पदका लागि नेपाली नागरिक उपलब्ध नभएमा व्यवस्थापकले सो कुराको प्रमाणसहित गैरनेपाली नागरिक नियुक्ति गर्ने स्वीकृतिको लागि श्रम विभागमा निवेदन दिनसक्ने व्यवस्था गरिएको छ । दक्ष प्राविधिक पदको लागि नेपाली नागरिक उपलब्ध नहुने देखिएमा श्रम विभागले श्रम कार्यालयको सिफारिसमा एक पटकमा दुई वर्षमा नबढाई बढीमा पाँच वर्षसम्म र विशिष्ट प्रकारका दक्ष प्राविधिक पदमा बढीमा सात वर्षसम्म गैरनेपाली नागरिकलाई काममा लगाउन स्वीकृति दिन सक्नेछ । गैरनेपाली नागरिकलाई काममा लगाउने व्यस्थापकले नेपाली नागरिकलाई नै दक्ष बनाई क्रमशः प्रतिस्थापन गर्ने व्यवस्था गर्नुपर्दछ । जसले गर्दा उनीहरू दक्ष हुनुको साथै नेपाली नागरिकलाई आफ्नो दक्षता समेत प्रदान गर्नुपर्नेछ । सरकारले दक्ष जनशक्ति उत्पादनमा ध्यान नपु¥याउँदा विदेशबाट दक्ष श्रमिक ल्याउनुपर्ने बाध्यात्मक परिस्थितिमा नेपाल रहेको छ ।


क्याटेगोरी : श्रम
ट्याग : #Page 1


तपाईको प्रतिक्रिया