Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिभोलिको आन्दोलन दबाउन धेरै लगानी गरेको दुर्गा प्रसाईंको आरोप

भोलिको आन्दोलन दबाउन धेरै लगानी गरेको दुर्गा प्रसाईंको आरोप


काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा एमालेको युवा संघ नेपालले एकैदिन भोलि बिहिबार(मंसिर ७ गते) काठमाडौंमा वृहत आन्दोलनको घोषणा गरेका छन् । उनीहरु दुबैले घोषणा गरेको काठमाडौं केन्द्रित आ–आफ्नो आन्दोलन अर्थात विरोध प्रदर्शन वृहत हुने ठोकुवा गर्दै आएका छन् ।

कार्यक्रममा भाग लिन काठमाडौं आएका प्रसाईँले भक्तपुरमा पत्रकार सम्मेलन गर्दै आन्दोलन सफल नभएसम्म घर नफर्किने बताएका छन् । ‘हाम्रो अभियान दबाउन धेरै लगानी गरेका छन् । हामीसँग पैसा नभए पनि हामीसँग धेरै मानिस छन् । कि जेल जान्छु कि मर्छु भनेर काठमाडौँ आएको हुँ’, उनले कार्यक्रममा भने, ‘आन्दोलन सफल नभएसम्म रोकिँदैन ।’ गणतन्त्रमा बोल्ने अधिकार सबैको भएको भन्दै एक्लो दुर्गा प्रसाईँसँग राज्य हल्लिएको समेत भन्दै पृथ्वीनारायण शाहले बनाएको जग भत्काएकाले गणतन्त्र हल्लिएको उनले बताए । विपक्ष समूहले आन्दोलन दबाउन जत्तिनै लगानी गरे पनि आफ्नो आन्दोलन सफल भएरै छाड्ने उनको भनाई छ ।

ओलीको कम्युनिस्ट सिद्धान्त असफल भएको भन्दै उनले भने, ‘ओलीको कम्युनिस्ट सिद्धान्त गएको छ । अब कसरी मुख देखाउनुहुन्छ ? हजुरबुवा झापा जाँदा कसरी मुख देखाउनु हुन्छ ? अब ओलीले झापा र महेश बस्नेतले भक्तपुर प्रवेश गर्न दुर्गा प्रसाईँसँग अनुमति लिनुपर्छ ।’ सो कार्यक्रममा प्रसाईंले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई झापा र एमालेका नेता बस्नेतलाई भक्तपुर प्रवेश गर्दा आफ्नो अनुमति लिनुपर्ने चेतावनी दिएका छन् ।

त्यस्तै, युवासंघका कार्यकर्ताले महिला बसेको ठाउँमा हातपात गर्न खोजेको उनले आरोप लगाए । उनले महिलामाथि अत्याचार गर्दासमेत महिला अधिकारकर्मी र राज्यप्रसाशन मौन भएकोमा आपत्ति जनाए । ओली र बस्नेतलाई चेतावनी दिँदै मित्रवत् व्यवहार गर्दा राम्रो हुने तर दुस्मनी गर्दा ठुलो मूल्य चुकाउने चेतावनी दिए ।

मंसिर ७ मा राजधानी काठमाडौंमा हुन गइरहेको आन्दोलन युवा संघले ‘सरकार र अराजकतावादीविरूद्ध युवा–विद्यार्थीको शक्ति प्रदर्शन’ भनेको छ भने प्रसाईं समूहले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान’ भनेको छ । प्रसाईंका अनुसार व्यवस्था परिवर्तन अर्थात हिन्दु राज्य कायम गर्न, संघीयता खारेज गर्न, बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजको अन्त्यलगायतको एजेन्डासहित भोलिको वृहत आन्दोलन हुन लागेको हो ।


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया