Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिरास्वपाको वडा अधिवेशन आजदेखि

रास्वपाको वडा अधिवेशन आजदेखि


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को पहिलो वडा अधिवेशन आज(बिहिबार)देखि सुरु भएको छ । पार्टीको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारका अनुसार सातै प्रदेशका एक एक वडाबाट आजदेखि वडा अधिवेशन आरम्भ भएको हो ।

निर्वाचनपछि एक वर्षमा पार्टीको अधिवेशन सुरु गर्ने निर्णय भएकाले औपचारिक रुपमा अधिवेशन आजदेखि सुरु भएको बताउँदै परियारले भने, ‘सात प्रदेशमा सात वडामा वडा अधिवेशन आजै सक्छौँ । हामीले निरन्तररुपमा वडा अधिवेशन, पालिका अधिवेशन र प्रदेश अधिवेशन गरेर क्रमश: राष्ट्रिय महाधिवेशनको बाटो खुलाएका छौँ ।’

पार्टी स्थापनापछि पहिलोपटक वडा अधिवेशन गर्न लागेको रास्वपाले भरतपुर महानगरपालिका–११, जितपुर सिमरा उपमहानगरपालिका–२, पोखरा महानगरपालिका–१०, बुटवल उपमहानगरपालिका–१३, इटहरी उपमहानगरपालिका–२०, भेरीगङ्गा नगरपालिका–६ र टीकापुर नगरपालिका–१ मा आज वडा अधिवेशन गर्दैछ ।

सातै प्रदेशका ती वडामा रास्वपाका केन्द्रीय प्रतिनिधि सहभागी हुँदैछन् । पार्टीका महामन्त्री एवं प्रवक्ता डा.मुकुल ढकाल, सहमहामन्त्री एवं सांसद सुमना श्रेष्ठ, सहमहामन्त्री विपिन आचार्य, कोषाध्यक्ष लिमा अधिकारी, सङ्गठन विभागका सचिव शङ्कर श्रेष्ठ र केन्द्रीय सदस्य विजय जैरु विभिन्न वडामा केन्द्रीय प्रतिनिधि रहेका छन् ।

सङ्गठन विभागका सचिव शङ्कर श्रेष्ठले प्रत्येक वडामा एक सभापतिसहित ११ सदस्यीय वडा समिति गठन गरिने र ती ११ जनामध्ये कम्तीमा चार जना महिला सदस्य अनिवार्य रहने जानकारी गराएका छन् । त्यस्तै, चार जनामध्ये पनि एक जना अनिवार्यरुपमा दलित महिलाको व्यवस्था गरिएको र छ जना ४५ वर्षमुनिका युवा हुने उनले बताए ।


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया