Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारगण्डकी प्रदेशगण्डकीमा वार्षिक दुई हजार टन माछा उत्पादन, भुरामा छैन आत्मनिर्भर !

गण्डकीमा वार्षिक दुई हजार टन माछा उत्पादन, भुरामा छैन आत्मनिर्भर !


पोखरा । गण्डकी प्रदेशमा प्रत्येक वर्ष दुई हजार टन माछा उत्पादन हुने गरेको पाइएको छ । यहाँ हरेक वर्ष यस परिमाणको माछा उत्पादन हुने गरेको पाइएको हो । नेपालमा विभिन्न दुई सय ५२ जातका माछाका प्रजाति पाइने गरेकोमा दुई सय ३६ जात यहाँकै रैथाने रहेको बताइएको छ ।

मत्स्य विकास केन्द्रका प्रमुख रविन्सन अधिकारीका अनुसार यहाँ नेपालमा मात्र पाइने १६ जातका माछा छन् । गण्डकीमा प्रशस्त प्राकृतिक जलाशय तथा नदीनालाहरू रहेकाले माछापानलको राम्रो सम्भावना रहेको अधिकारी बताउँछन् । उनले वातावरण र जैविक विविधताको संरक्षण गर्दै दिगोरूपमा मत्स्य क्रियाकलापलाई प्राथमिकतामा राखेर केन्द्रले काम गर्दै आएको बताए । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निमित्त महानिर्देशक डा बालकुमार श्रेष्ठले मत्स्य विकासका लागि माछापालक कृषक तथा जलारी समुदायलाई सहयोग गर्दै आएको जानकारी दिए । विशेषगरी फेवातालको माछा संरक्षण र ब्रान्डिङ गर्नसके तालमा आश्रित जलारी समुदायको जीवन आर्थिकरूपमा सवल हुने श्रेष्ठको भनाई छ ।

गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव सहदेवप्रसाद हुमागाईँ गण्डकी प्रदेशमा माछापालनको राम्रो सम्भावना रहेको बताउँछन् । प्राकृतिक जलाशय तथा नदीनालाहरूमा माछापालन गरी राम्रो आयआर्जन गर्न सकिने उनको भनाई छ । गण्डकी प्रदेश बाहिर पनि माछा निर्यात गर्न सकिने र प्रशस्त आयआर्जनको सम्भावना रहे पनि राम्रोसँग काम गर्न नसकेको उनले बताए ।

माछाको भुरामा छैन आत्मनिर्भर
गण्डकी प्रदेश माछाका भुरामा भने आत्मनिर्भर बन्न सकेको छैन । ह्याचरी फार्मका लागि आवश्यक पूर्वाधार नहुँदा गण्डकी माछाका भुरामा आत्मनिर्भर बन्न नसकेको हो । गण्डकीमा मागको ५५ प्रतिशत मात्र माछाका भुरा उत्पादन हुने गरेको मत्स्य अनुसन्धान केन्द्रले जनाएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत बेगनासमा मात्र माछाको ह्याचरी छ । गण्डकीमा अन्यत्र माछाको स्रोत केन्द्र विस्तार हुन नसकेका कारण समस्या भएको केन्द्रका प्रमुख मोहम्मद इकवाल हुसेनले जानकारी दिए । उनका अनुसार निजी क्षेत्रबाट पनि ह्याचरीमा अहिलेसम्म लगानी नभएको र करिब ४५ प्रतिशत माछाका भुरा बाहिरैबाट आउँछ । किसानले चितवन, रुपन्देहीलगायत जिल्लाबाट भुरा ल्याएर माछापालन गर्दै आएका छन् । केन्द्रले वार्षिक जम्मा २५ लाख ‘ह्याचलिङ’ र २५ लाख ‘फ्राइ’ आकारका भुरा उत्पादन गर्दै आएको छ । अन्यत्र ह्याचरी नहुँदा अनुसन्धानको काममा लाग्नुपर्ने सो केन्द्र भुरा उत्पादन र बिक्रीमा पनि खट्नुपरेको हो ।

केन्द्रले सरकारी दररेटमा किसानलाई विभिन्न जातका माछाका भुरा उपलब्ध गराउँदै आएको केन्द्रका सूचना अधिकारी बेचनप्रसाद यादवले जानकारी दिए । गण्डकीमा कमन कार्फ, ग्रास कार्फ, सिल्भर कार्फ, बिग हेडलगायत जातका माछाको भुरा उत्पादन हुँदै आएको छ । किसानलाई सहर, गर्दीलगायत स्थानीय जातका माछाका भुरा पनि केन्द्रले उपलब्ध गराउँदै आएको यादवले बताए । प्रदेशमा एउटा मात्र ह्याचरी हुँदा भुराको माग धान्न नसकिएको उनले बताए । मत्स्य अनुसन्धान केन्द्र संघ सरकार मातहत सञ्चालित छ । प्रदेश सरकारले स्याङ्जाको मिर्मीमा स्थापना गरेको मत्स्य विकास केन्द्र नाम मात्रैको भएको छ ।

‘कार्यालय मात्र खोलेर हुँदैन, पूर्वाधार र जनशक्ति पनि सोहीअनुसार चाहिन्छ’, उनी भन्छन्, ‘पोखराकै स्तरमा थप ह्याचरी सञ्चालन गर्नसके गण्डकी प्रदेशलाई माछाका भुरामा आत्मनिर्भर बनाउन सकिन्छ ।’ प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयका अनुसार मत्स्य विकास केन्द्रको स्वामित्वमा मत्स्य फार्म तथा ह्याचरी सञ्चालनका लागि पहल थालिएको छ ।


क्याटेगोरी : प्रदेश समाचार, गण्डकी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया