Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारदाइजोको लागि दुई महिलाको हत्या

दाइजोको लागि दुई महिलाको हत्या


सर्लाही । छुट्टाछुट्टै घटनामा दाइजोको कुरालाई लिएर यहाँका महिलाहरुको हत्या भएको छ । सर्लाही हरिपुर नगरपालिका वडा नं. ३ स्थित फरहदवा र वडा नं. ६ स्थित लक्ष्मीपुरमा दुई महिलाको हत्या भएको हो ।

वडा नं. ३ स्थित फरहदवाका अब्दुल साह फकिरले अन्दाजी २३ वर्षीया श्रीमती ईदा खातुनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

अब्दुलले श्रीमतीलाई माइतबाट रु. एक लाख नल्याएको भन्दै पटक(पटक मानसिक तथा शारीरिक यातना दिने गरेको प्रहरी उपरिक्षक सुवेदीले बताए । यातनापछि ईदा माइत गएको तर छलफलपछि केही समय अगाडि उनी घर फर्केको स्थानीय इन्दी मन्सुरले बताए ।

अब्दुल र उनका परिवारले ईदालाई पटक(पटक शारीरिक र मानसिक यातना दिने गरेको ईदाका बुबा मन्सुर साह फकिरले आरोप लगाए । “इदाका पाँच वर्षे छोरा कमलेनले भनेपछि मात्रै हत्या भएको थाहा भयो, शव हेर्न जाँदा ईदाको शरीरभरि माटो लागेको र मुखमा कपडा कोचिएको थियो”, बुबा साहले भने । कुटपिटपछि मृत्यु भएकी ईदालाई झुण्ड्याइएको थियो ।

ईदाको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल सर्लाहीमा राखिएको प्रहरीले जनाएको छ । घटनामा सङ्लग्न भएको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

साथै लक्ष्मीपुर वडा नं ६ मा जल्दै गरेको अवस्थामा एकजना महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ । अन्दाजी ४५ वर्षिय इन्द्रकलादेवी साहलाई श्रीमान राजाराम साहले कुटपिट गरी घाइते बनाएपछि मृत्यु भएको प्रहरीको भनाइ छ । दाइजोको विषयमा विवाद हुँदा श्रीमानको कुटपिटबाट घाइते भएकी इन्द्रकलालाई उपचार नगरी घरमै राखिएको र केही समयपछि मृत्यु भएको थियो ।

सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपेन्द्र पञ्जियारका अनुसार “लालबन्दी र हरिवनको सिमानामा रहेको लखन्देही नदीमा जल्दै गरेको चिताबाट शवलाई नियन्त्रणमा लिई आधा जलेको शरीर बरामद गरी पोस्टमोर्टमका लागि प्रादेशिक अस्पताल सर्लाही पठाइएको छ”, पञ्जियारले भने ।

घटना भएकै दिनदेखि इन्द्रकलादेवीका श्रीमान राजाराम फरार छन् । शवलाई कानुनी प्रक्रिया पूरा नगरी जलाउन सहयोग गर्ने छ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


क्याटेगोरी : प्रदेश समाचार, मधेश प्रदेश

तपाईको प्रतिक्रिया