Techie IT
×
गृहपृष्ठविचारविद्यालय शिक्षामा शैक्षिक क्यालेन्डरको महत्व

विद्यालय शिक्षामा शैक्षिक क्यालेन्डरको महत्व


बाबुकाजी कार्की
शिक्षण संस्थाका शैक्षणिक गतिविधिहरु योजनाबद्ध रुपमा सञ्चालनका लागि आवश्यक नीति र कार्यक्रमहरु क्यालेण्डरमा समावेश गरिन्छ । भनाइ पनि छ बालीनाली लगाउन एक वर्ष, फलफूल खेतीका लागि कम्तीमा १० वर्ष र मानिसको शिक्षाका लागि सय वर्षको योजना बनाउनुपर्दछ । कार्यक्रमहरुको गति र प्रगतिको समीक्षा गरी समयमा नै सच्याएर सुधार ल्याउन सचेत पार्ने एक सशक्त सूचक पनि हो शैक्षिक क्यालेन्डर । कार्यक्रममा पारदर्शिता, विकेन्द्रित जिम्मेवारी एवं जवाफदेहिता, कार्यदक्षताको निष्पक्ष र वस्तुनिष्ठ मूल्यांकन, सहभागितामूलक निर्णय प्रक्रियाजस्ता सुशासनका आधारभूत मान्यतालाई आत्मसात् गर्दै अधिकतम शैक्षिक उपलब्धि हासिल गर्न क्यालेण्डरले अहम् भूमिका खेल्छ ।

विद्यालयले विगतको शैक्षणिक गतिविधिको समीक्षा गरेर आगामी शैक्षिकसत्रलाई अझ प्रभावकारी बनाउन सरोकारवाला खास गरी अभिभावक, विद्यार्थी, शिक्षकलगायतका शुभचिन्तकको सल्लाह, सुझाव र सहकार्य तथा अनुभवका आधारमा योजना तर्जुमा गर्नुपर्दछ । विद्यालयले योजना विद्यार्थीको पठनपाठनलाई केन्द्रविन्दुमा राखेर बनाउनुपर्दछ । शिक्षण सिकाइलगायतका शैक्षणिक कार्यक्रमलाई व्यवस्थित एवं चुस्त सञ्चालन गर्न योजनाबद्ध शैक्षिक क्यालेन्डरको आवश्यक पर्दछ ।

शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी बनाउने एकाइ योजना, पाठयोजनाहरुको पनि योजना तथा वार्षिक योजनाको विकल्पको रुपमा समेत शैक्षिक क्यालेन्डरलाई प्रयोग गर्न सकिन्छ । कक्षाकोठाभित्र र बाहिरका क्रियाकलाप विद्यार्थीको रूचि क्षमताअनुसार तोकिएको समयमा सम्पन्न गर्न सचेत पार्न, योजनाबद्ध रूपमा शैक्षिक गतिविधि सञ्चालन गर्ने बानीको विकास गर्न, शिक्षक र शिक्षाकर्मीहरूलाई स्वमूल्याङ्कन गरेर परिमार्जित एवम् परिष्कृत पेशागत प्रतिष्ठा बढाउन लगायत शैक्षिक अनुगमन निरीक्षणलाई नियमित गरी पाठ्यक्रमले लक्षित गरेको उद्देश्यलाई यथार्थमा हासिल गर्नको लागि शैक्षिक क्यालेन्डर कोसेढुङ्गा हो । शैक्षिक क्यालेण्डरलाई शिक्षक, प्रधानाध्यापक, व्यवस्थापन समिति तथा विद्यार्थीलगायतका शिक्षाकर्मीको लागि आफ्नो जिम्मेवारी समयमा सम्पन्न गर्न सहयोग पु-याउने मार्गचित्रको रूपमा पनि लिन सकिन्छ । शैक्षिक क्यालेन्डरका मुख्य प्रयोगकर्ता शिक्षक हो । यसले शिक्षकको पेशागत दक्षता, मर्यादा एवं कार्यक्षतामा अभिवृद्धि गरी एक सफल शिक्षकको रुपमा समाजमा सम्मानित जीवनयापन गर्न प्रोत्साहित गर्दछ ।

शैक्षिक क्यालेन्डर सामान्यतया शैक्षिक सत्रको प्रारम्भ वैशाखदेखि नै लागू हुने गरी अघिल्लो चैत महिनाभित्र बनाउनुपर्दछ । क्यालेण्डर बनाउनको लागि विषय शिक्षक, विद्यार्थी, व्यवस्थापन समिति, आवश्यकताअनुसार अभिभावकलगायतका क्यालेन्डरमा समावेश गरिने विषयवस्तुसँग सरोकार राख्ने व्यक्तिहरूको सहकार्यमा बनाउनुपर्दछ । क्यालेण्डरमा शैक्षिक सत्रभर पढाइने विषयका पाठहरूको विभाजन यथाशक्य विस्तृत एवम् आकर्षक रूपमा प्रस्तुत गरिनुपर्दछ । वर्षभर विद्यालय खोलिने दिन, सार्वजनिक विदा, विभिन्न परीक्षा समय, अतिरिक्त क्रियाकलाप, सूचना तथा सन्देशमूलक भनाइहरू एवं शिक्षक विद्यार्थीले पालना गर्नुपर्ने आचारसंहितालगायतका विषयवस्तुलाई समावेश गर्न सकिन्छ । स्थानीय सामाजिक मूल्यमान्यता, संस्कार, संस्कृति र परम्पराको संवेदनशीलतालाई समेत हेक्का राखेर मात्र क्यालेन्डर बनाउनुपर्दछ ।

सार्वजनिक विदा सबैभन्दा धेरै हुने देशहरुमध्ये विश्वमा नै अग्रपंक्तिमा पर्ने नेपालका विद्यालयमा पढाइ हुने दिन कम हुनु अस्वाभाविक होइन । तथापि विद्यमान संशोधित शिक्षा ऐन नियमअनुसार वर्षमा न्यूनतम २२० दिन विद्यालयमा पढाइ हुनुपर्ने तथा सामुदायिक विद्यालयका शिक्षकले हप्तामा कम्तीमा २४ पिरियड पढाउनुपर्ने व्यवस्था गरेको छ । त्यस्तै सार्वजनिक विदाको अतिरिक्त हिउँदे वा वर्षे विदा ४५ दिन तथा व्यवस्थापन समितिले एक शैक्षिक सत्रमा थप ५ दिन स्थानीय विदा दिने र सोभन्दा बढी विद्यालय बन्द गरेमा प्रधानाध्यापकलाई विभागीय कारबाही गरिनेछ भन्ने कानुनी प्रावधानलाई समेत ध्यान दिएर शैक्षिक क्यालेण्डरका विषयवस्तु र क्रियाकलाप तथा विद्यालय खोल्ने र पढाइ हुने समय तालिकालाई समायोजन गरिनुपर्दछ ।

सामान्य क्यालेन्डरमा जस्तै यसमा पनि तिथिमितिहरू उल्लेख हुन्छन् । तर यसमा यति फरक हुन्छ कि सबै कक्षाका सम्पूर्ण विषयका पाठ्यक्रम र पाठ्यांशहरू समावेश गरिएको हुन्छ । शिक्षकले कुन पाठ के, कति दिन लगाएर अध्यापन गर्नुपर्नेछ, तोकिएका सिकाइ उपलब्धि हासिल भए/नभएको एकीन गर्न के कस्ता मूल्यांकन विधि अपनाउनुपर्छ ? कस्ता कस्ता शैक्षिक सामग्री र शिक्षणविधि उपयुक्त हुन्छ आदि प्रश्नहरुको उत्तर हो शैक्षिक क्यालेन्डर ।

शैक्षिक क्यालेन्डर कतिपय सम्पन्न र जाँगरिला विद्यालयले आफूसँग भएको साधन र स्रोतको परिचालन वा सहयोग जुटाएर बनाउने गर्छन् । तर विकट गाउँठाउँका सीमित साधनस्रोत भएका विद्यालयको लागि क्यालेन्डर बनाउन कठिन नहोला भन्न सकिन्न । त्यसकारण जिल्ला शिक्षा कार्यालय वा शिक्षकका जिल्ला एवम् केन्द्रीयस्तरका पेसागत संघ÷संस्थाले विज्ञापनलगायतका सहयोग जुटाएर क्यालेन्डर बनाई वितरण गर्नसके अझ सहज र सार्थक हुन्छ ।

विभिन्न कारणले सबै विद्यार्थीको हातमा समयमा पाठ्यपुस्तक पु¥याउन नसकेको अवस्थामा, कतिपय विद्यालयमा पाठ्यक्रम नै नभएका र भए पनि त्यसको प्रचुर प्रयोग हुन नसकेको अवस्थामा, पर्याप्त ज्ञान र सूचनाको अभावमा शैक्षणिक कार्यक्रम सञ्चालनमा एकरूपता समेत नहुने हुँदा विस्तृत योजना भएको शैक्षिक क्यालेन्डर पाठ्यक्रम विकास केन्द्र वा शिक्षा विभागले केन्द्रबाटै प्रकाशित गरेर वितरण गर्ने व्यवस्था भएमा शैक्षिक सुव्यवस्थाको लागि उदाहरणीय काम हुनसक्छ । अतः जिल्ला शिक्षा कार्यालयहरूलाई शैक्षिक क्यालेन्डर निर्माणका लागि रकम विनियोजन गरेर शैक्षणिक गतिविधिलाई योजनाबद्ध रुपमा नियमित र नियन्त्रित गर्न सकेमा विद्यमान शैक्षिक क्षति, विकृति र विसंगतिलाई धेरै हदसम्म न्यूनीकरण गर्न अहम् भूमिका खेल्नेछ ।

शिक्षण संस्थालाई शिक्षा आर्जन गर्ने उत्कृष्ट मर्यादित थलोको रुपमा पहिचान कायम गर्न विविध पक्षहरुको आवश्यकता पर्छ । भविष्यदर्शी शैक्षिक योजना, समसामयिक पाठ्यक्रम, पेशाप्रति समर्पित जवाफदेही योग्य शिक्षक, कुशल शैक्षिक नेतृत्व भएको प्रधानाध्यापक, उत्साही निष्पक्ष व्यवस्थापन समिति, अनुशासित विद्यार्थी, सचेत अभिभावक, जागरुक समुदाय, पर्याप्त स्रोतसाधन, अभिभावकीय भूमिका निर्वाह गर्ने सहयोगी सरकारी निकाय गुणस्तरीय शिक्षाका लागि वरदान हुन् । पारदर्शिता, सहभागितामूलक निर्णय प्रक्रिया, सदाचार र शिष्टता, इमानदारिताले शिक्षण संस्थाको पवित्रता र गरिमालाई उच्च बनाउन योगदान पु-याउँछ ।

बालबालिकाको समग्र विकासको निम्ति विद्यालयको वातावरण शान्त, सुरक्षित र रमाइलो हुनु अपरिहार्य हुन्छ । विभिन्न खाले आन्दोलन र हडतालका कारण निमुखा बालबालिका अध्ययन गर्ने विद्यालय शान्ति क्षेत्रको नीति जोखिममा परेको छ । विद्यालयलाई बालबालिकाको चौतर्फी विकासको पहुँच स्थानको रुपमा विकास र विस्तार गर्ने हो भने यसको व्यवस्थित, बालसुलभ, सुरक्षित र बाल संरक्षित रुपमा गर्दै लैजानुपर्दछ । विद्यालय बालबालिकाको शारीरिक, मानसिक, संज्ञानात्मक, बौद्धिक, नैतिक विकास गर्ने पवित्र साझा थलो बन्नुपर्दछ ।


क्याटेगोरी : विचार

तपाईको प्रतिक्रिया