नेपालभित्र शीतयुद्ध ! ‘कान्छो भाइ’ बन्न लाज किन ?
फरक मत : लिम्पियाधुरा, कालापानी, लिपुलेकसम्बन्धी सीमा विवादबारे भारत र नेपालका मिडियामा विभिन्न तर्कवितर्कका आलेख र समाचारहरु आइरहेका छन् । तिनलाई नियालेर विश्लेषण गर्दा बराबर उठ्ने गरेको एक विषय भनेको भारतको सबै छिमेकी राष्ट्रहरुसँग भएको खराब सम्बन्ध हो ।
अहिलेको यो अवस्थामा भारतले नेपालसँग सम्बन्ध बिगार्न खोज्दैन, त्यसैले नेपालले त्यत्तिको चिन्ता गर्न जरुरी छैन र सीमा विवादले उल्टो भारत नै अप्ठ्यारोमा पर्छ भन्ने पनि सुनिएका छन् । तर चुरो कुरा, सबै छिमेकीहरुसँग सम्बन्ध खराब भएको भारतभित्र एक एजेण्डा हुने भए पनि भारतको यो ‘कमजोरी’ले नेपालसँगको मामिलामा कुन हदसम्म नेपालको लागि लाभ हुन्छ भन्ने कुरा बढी महत्वपूर्ण छ । दिल्लीमा कांग्रेस आईको सरकार हुँदा एकताका नेपाल भ्रमणमा आएका एक विदेशमन्त्रीलाई एक नेपाली पत्रकारले भारतले किन ठुल्दाइको व्यवहार गरिरहेको भनी प्रश्न गर्दा उनले ‘मैले भूगोल परिवर्तन गर्न सक्तैन’ भनी जवाफ फर्काएका थिए ।
कुनै मुलुक खास गरी तेस्रो विश्वका नेता, पत्रकार, स्तम्भकार, बुद्धिजीवीहरुले सल्लाह दिँदैमा वा आलोचना गर्दैमा अमेरिका, चीन, रुसजस्ता सरकारले आफ्नो परराष्ट्र नीति रातारात परिवर्तन गर्ला भनी सोच्नु मूर्खता नै मान्नुपर्ने हुन्छ । भारतले पनि आफूलाई दक्षिण एसियाको सबैभन्दा शक्तिशाली राष्ट्र भनी आफ्नो प्रभुत्व जमाउन खोजिरहेको एक वास्तविकता हो ।
यस परिप्रेक्ष्यमा दिल्लीको साउथ ब्लकको पदाधिकारीहरुले आजको दिनसम्म कायमै राखेको ठुल्दाइको प्रवृत्ति नेपाल र भारतका केही राजनीतिज्ञ, बुद्धिजीवी, स्तम्भकार र पत्रकारहरुले हंगामा मच्चाउँदैमा परिवर्तन होला भनी सोच्नु मूर्खता नै हुन्छ । तसर्थ, निकट भविष्यमा गत ७५ वर्षदेखि कायम राखेको भारतको परराष्ट्र नीतिमा केही पनि परिवर्तन हुँदैन भनी अनुमान गरी मुलुक चलाउने जिम्मा लिएका हाम्रा ठूलाबडाहरुले यो सीमा विवाद समाधान गर्न गृहकार्य सुरु गर्नु उचित हुन्छ ।
चीनसँगको सम्बन्धको कुरा गर्दा पनि संसारकै दोस्रो शक्तिशाली मुलुक र नेपाल दुवै समान बराबर छन् भनी हामी कराएर हिँडनुको कुनै तुक छैन । चीनको समग्र परराष्ट्र नीतिको कुरा गर्दा सम्वेदनशील विषयहरुमध्ये तिब्बत पनि एक हो । तिब्बतको निर्वासित सरकार भारतमा अहिलेसम्म बसिरहेकै छ भने नेपालमा थुप्रै तिब्बती शरणार्थीहरु छन् । तसर्थ, चीनले नेपालसँग सधैँ असल सम्बन्ध राख्न खोजिरहेको एक प्रमुख कारण तिब्बत नै हो ।
विश्वभर अलि बढी सामरिक प्रभुत्व जमाएर जाने नीति चीन सरकारले लिएको ४÷५ वर्ष मात्र भयो । यो नीति अंगीकार गरी भारतले मात्र नेपालमा एकलौटी प्रभुत्व कायम राख्न नदिन चीनले पनि नेपालको राजनीतिमा केही मात्रामा चलखेल गरिरहेको सबैले थाहा पाएको एक ‘खुला रहस्य’ हो । भारतको चलखेललाई पनि धेरै बुद्धिजीवीहरुले ‘खुला रहस्य’ नै भन्ने गरे पनि चीनको तुलनामा भारतको चलखेलको मात्रा निकै बढी मात्र होइन खुला नै मान्नुपर्छ । यसबारे नेपाल–भारत सम्बन्धबारे गत ७५ वर्षको इतिहासबाट अनगिन्ती उदाहरणहरु दिन सकिन्छ ।
नेपालमा चलखेल गर्ने अर्को राष्ट्रमा विश्वकै सबैभन्दा शक्तिशाली राष्ट्र अमेरिका हो । अमेरिकाले नेपाललाई आर्थिक तथा सामाजिक क्षेत्रमा ठूलो सहयोग गरिरहेको त तथ्यांकले नै देखाउँछ । तर, तिब्बतको मामिलामा अमेरिकाले ४५/४६ वर्ष पहिलेदेखि नै चासो राख्ने गरेको पनि एक वास्तविकता हो । वि.सं. २०३१/०३२ सालतिर उत्तरमा चीनको सीमानजिक क्षेत्रमा चीनविरुद्ध गरिएको खम्पा विद्रोहमा अमेरिकाको जासुसी संस्था सीआईएले सहयोग गरेको पनि एक ‘खुला रहस्य’ नै मान्न सकिन्छ । अहिले पनि एमसीसी विवादमा एक पक्षले अमेरिकाले राजनीतिक रुपमा मात्र होइन सैनिक मनोवृत्तिले समेत प्रेरित भएर ‘ठुल्दाइ’को भूमिका खेल्न खोजेको दोषारोपण गरिरहेकै छ ।
यसरी वर्तमान समयमा आ–आफ्नै स्वार्थमा भारत, चीन र अमेरिका तीनैवटा मुलुकले नेपालको राजनीतिमा ‘मसल फ्लेक्स’ गर्न थालेको सबैले महशुस गरेकै तथ्य हो । एकातिर लिम्पियाधुरा, कालापानी, लिपुलेकको सीमा विवाद र एमसीसीले सडकदेखि सदनसम्म तातिरहेको छ भने सत्ता सम्हालेको पार्टीको आन्तरिक मामिलामा चीनले हस्तक्षेप गरेको शंकाबारे गरिएको हंगामा जारी नै छ ।
अहिले नेपालको यो अवस्था सन् १९९० भन्दा पहिलेको चार दशकसम्म विश्वभर चलेको ‘रोमाञ्चकारी शीतयुद्ध’सँग मिल्दोजुल्दो छ । त्यस चार दशकमा अमेरिका र सोभियत रुस दुई मुलुकको मात्र प्रमुख भूमिका रहेको थियो भने अहिले नेपालमा तीन राष्ट्रको घम्साघम्सी चलिरहेको छ । यसरी तीन ठुल्दाइहरुबीच चलिरहेको शीतयुद्धमा हामी चतुर कान्छो भाइ भएर तीन करोड जनताको भलाइमा तिकडम खेल्न लाज मान्नुपर्ने कुनै कारण छैन । सयौं वर्ष पहिलेदेखि दक्षिणको अंग्रेज र उत्तरको सम्राट्हरुले खलबल्याउन नसकेको नेपालको सार्वभौमसत्ता अहिलेको ग्लोबलाइजेसन, इन्टरनेट र सामाजिक सञ्जालको जमानामा ‘हाम्रो सार्वभौमसत्ता खतरामा छ’ भनी काल्पनिक कुरा गरेर जनतालाई तर्साउने काम बन्द गर्नुप-यो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया