काठमाडौं । नेपालमा डाटा, एनालिटिक्स र कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी अन्तर्राष्ट्रियस्तरको शिक्षा तथा प्रमाणीकरण कार्यक्रम विस्तार गर्न डिजि स्कुलले बेलायतस्थित इन्स्टिच्युट अफ एनालिटिक्स (आईओए)सँग व्यावसायिक साझेदारी गरेको छ ।
काठमाडौंमा आयोजित विशेष समारोहमा डिजि ग्रुपका प्रमुख कार्यकारी अधिकृत राजु बानियाँ तथा आईओएका ग्लोबल कमर्सियल डाइरेक्टर ओल्गा साराले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतासँगै नेपालमा पहिलो पटक आधिकारिक रूपमा ‘आईओए नेपाल च्याप्टर’ स्थापना हुने भएको छ । यसले नेपाली विद्यार्थी, शिक्षक तथा डाटा र एआई क्षेत्रमा कार्यरत पेसेवरहरूलाई अन्तर्राष्ट्रिय व्यावसायिक सञ्जालसँग जोड्ने अपेक्षा गरिएको छ । सम्झौताअनुसार नेपाली विद्यार्थीहरूले आईओएअन्तर्गत उपलब्ध ६०० भन्दा बढी अन्तर्राष्ट्रियस्तरका पाठ्यक्रम अध्ययन गर्न सक्नेछन् । उनीहरूले विश्वव्यापी रूपमा मान्यता प्राप्त प्रमाणपत्र प्राप्त गर्नुका साथै उद्योगले माग गर्ने व्यावहारिक सीपसमेत हासिल गर्ने अवसर पाउने जनाइएको छ । डिजि स्कुलका अनुसार कार्यक्रमअन्तर्गत सेल्फ–स्टडी प्रणालीमार्फत अध्ययन, अन्तर्राष्ट्रिय विज्ञहरूसँग नेटवर्किङ, व्यावसायिक समुदायमा सहभागिता तथा करियर विकासका अवसर उपलब्ध हुनेछन् ।
डिजि स्कुलले यसअघि विद्यालय तहमा एनसीसी एजुकेसन युकेसँगको सहकार्यमा सूचना प्रविधिसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको थियो । नयाँ सम्झौतामार्फत संस्थाले उच्च शिक्षा तहमा डाटा, एनालिटिक्स र एआई शिक्षाका अन्तर्राष्ट्रिय अवसर विस्तार गर्ने जनाएको छ ।