काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अर्को सूचना नआएसम्मका लागि निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १४ बमोजिम एन्फामाथि निलम्बनको निर्णय गरेको हो। निलम्बनसँगै एन्फाले फिफा विधानको धारा १३ अन्तर्गत प्राप्त सबै सदस्यता अधिकार गुमाएको फिफाले जनाएको छ।
फिफाको निर्णयपछि नेपालको राष्ट्रिय फुटबल टोलीदेखि क्लब टोलीसम्मले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन्। साथै एन्फासँग आबद्ध प्रतिनिधि, पदाधिकारी तथा सदस्यहरू फिफा र एसियाली फुटबल महासंघ (एएफसी) द्वारा सञ्चालन हुने विकास कार्यक्रम, तालिम तथा प्रशिक्षणमा समेत सहभागी हुन नपाउने भएका छन्।
निलम्बनका कारण एन्फाले फिफा र एएफसीबाट प्राप्त गर्दै आएको आर्थिक सहयोग (फन्डिङ) समेत रोकिएको छ। यसले नेपाली फुटबलको विकास, प्रशिक्षण तथा अन्तर्राष्ट्रिय गतिविधिमा प्रत्यक्ष असर पर्ने देखिएको छ।
फिफाले जारी गरेको पत्रमा अर्को फिफा कंग्रेस बस्नुअघि फिफा काउन्सिल ब्युरो वा फिफा काउन्सिलले आवश्यक ठानेमा जुनसुकै बेला निलम्बन फुकुवा गर्न सक्ने उल्लेख गरिएको छ।
फिफाको यो निर्णयले नेपाली फुटबलमा ठूलो चुनौती थपिएको छ। निलम्बन कहिलेसम्म रहने भन्ने विषय अब एन्फाले आवश्यक शर्तहरू पूरा गर्ने प्रक्रियामा निर्भर रहनेछ।