डेम्बेलेको ह्याट्रिकमा फ्रान्सको शानदार जित, समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश
काठमाडौँ । उसमान डेम्बेलेको उत्कृष्ट ह्याट्रिकको मद्दतमा फ्रान्सले नर्वेलाई ४–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ।
अमेरिकाको बोस्टन स...
आ
आर्थिक दैनिक२०८३ असार १३, ४:२० बिहान
काठमाडौँ । उसमान डेम्बेलेको उत्कृष्ट ह्याट्रिकको मद्दतमा फ्रान्सले नर्वेलाई ४–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ।
अमेरिकाको बोस्टन स्टेडियममा सम्पन्न समूह चरणको अन्तिम खेलमा फ्रान्सले नर्वेमाथि प्रभावशाली जित दर्ता गर्दै लगातार तेस्रो जित हासिल गरेको हो। यसअघि फ्रान्सले सेनेगललाई ३–१ र इराकलाई ३–० ले पराजित गरेको थियो।
खेलमा फ्रान्सका लागि उसमान डेम्बेले नायक बने। उनले खेलको ३२औँ मिनेटभित्रै ह्याट्रिक पूरा गर्दै नर्वेमाथि दबाब सिर्जना गरेका थिए। डेम्बेलेले सातौँ मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए भने २०औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए।
त्यसको एक मिनेटपछि नर्वेका थेलो आसगार्डले गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे। तर ३२औँ मिनेटमा डेम्बेलेले पुनः गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे र फ्रान्सलाई ३–१ को बलियो अग्रता दिलाए।
दोस्रो हाफमा नर्वेले पेनाल्टीमार्फत फर्कने अवसर पाए पनि योर्गन स्ट्रान्ड लार्सनले त्यसलाई सदुपयोग गर्न सकेनन्। खेलको इन्जुरी समयमा फ्रान्सका डिजायर डोएले थप एक गोल गरेपछि फ्रान्सले ४–१ को सहज जित निकाल्यो।
समूह ‘आई’ को अर्को खेलमा सेनेगलले इराकलाई ५–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गर्यो। यस नतिजासँगै फ्रान्सले नौ अंकसहित समूह विजेताका रूपमा नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। नर्वे छ अंकसहित उपविजेता बन्दै अन्तिम १६ मा पुगेको छ। सेनेगलले तीन अंक जोड्दै तेस्रो स्थानमा रह्यो भने इराक अंकविहीन रहँदै विश्वकपबाट बाहिरिएको छ।