काठमाडौं,न्युजिल्यान्डलाई ५–१ गोलअन्तरले पराजित गर्दै बेल्जियम फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा शुक्रबार सम्पन्न खेलमा बेल्जियमले प्रभावशाली प्रदर्शन गर्दै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको हो। यसअघि लगातार दुई खेल बराबरी खेलेको बेल्जियमले पहिलो जितसँगै पाँच अंक जोड्दै समूह ‘जी’ को विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको हो।
बेल्जियमको जितमा लिएन्ड्रो ट्रोसार्डले दुई गोल गरे भने केभिन डे ब्रुएना, रोमेलु लुकाकु र एलेक्सिस सेलेमेकर्सले समान एक–एक गोल थपे।ट्रोसार्डले खेलको २८औँ मिनेटमा गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए। उनले ५०औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। त्यसपछि केभिन डे ब्रुएनाले ६६औँ मिनेटमा गोल गरे भने रोमेलु लुकाकुले ८६औँ मिनेटमा चौथो गोल थपे। दोस्रो हाफको अतिरिक्त समयमा एलेक्सिस सेलेमेकर्सले गोल गर्दै बेल्जियमको जितलाई ५–१ मा पुर्याए।
न्युजिल्यान्डका लागि एलिजा जस्टले ८४औँ मिनेटमा सान्त्वना गोल फर्काएका थिए।आजै भएको समूह ‘जी’ को अर्को खेलमा इजिप्ट र इरानले १–१ गोलको बराबरी खेलेका छन्।यस नतिजासँगै बेल्जियम पाँच अंकसहित समूह विजेता बनेको छ। समान पाँच अंक जोडेको इजिप्ट गोलअन्तरका आधारमा उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ। इरान तीन अंकसहित तेस्रो स्थानमा रहँदा एक अंक मात्र जोड्न सफल न्युजिल्यान्ड भने समूह चरणबाटै बाहिरिएको छ।